काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव जितेपछि एलन मस्कको साथ पाएको क्रिप्टोकरेन्सी डजक्वाइनले राम्रो फाइदा उठाइरहेको छ । पछिल्लो पाँच दिनमा मात्रै यसको मूल्य करिब ५० प्रतिशतले वृद्धिले बढेको छ, जुन वृद्धिदर इथेरियम र बिटक्वाइनको भन्दा पनि उच्च भएको ब्लुमबर्गले जनाएको हो ।
ट्रम्पको जितपछि डजक्वाइनको मूल्य अहिलेसम्म १४५ प्रतिशतले बढ्दा पनि यसले आफ्नो अहिलेसम्मकै उच्च कटाउन भने सकेको छैन । डजक्वाइनले सन् २०२१ मा अहिलेसम्मकै उच्च मूल्य ०.७३७६ अमेरिकी डलरमा कारोबार गरेको थियो ।
बजारमा रहेको सकारात्मक भावना र एलन मस्कजस्ता प्रभावशाली व्यक्तिहरूको बलियो समर्थनलाई यसको वृद्धिको कारण मानिएको छ । डजक्वाइनलाई मस्कले सार्वजनिक तवरमा साथ दिँदै त्यसैको पक्षमा ट्वीट समेत गरिरहेका हुन्छन् । यसका साथै लगानीकर्ताको चासो र मागला२ अगाडि बढाउन ट्रम्पले खेलेको महत्त्वपूर्ण भूमिकाले समेत त्यसलाई बल पुगेको छ ।
मड्रेक्सका सीईओ ईदुल पटेलले मस्कको हालैको ट्वीटले डजक्वाइनमा ‘गोल्डन क्रस’ अर्थात् ‘बुलिस ट्रेन्ड’ बनाएको बताएका छन्, जसले आगामी दिनमा अझै वृद्धि हुने संकेत गर्छ । पटेलका अनुसार, हाल डजक्वाइनको मूल्य ०.४६३३७० डलरमा प्रतिरोध विन्दुको सामना गरिरहेको छ भने सपोर्ट विन्दु ०.२४०३५० डलर छ ।
यसैबिच ट्रम्पले एलन मस्कलाई 'डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी'-डज (DOGE) को प्रमुखमा नियुक्त गरेका छन् । रोचक कुरा त के भने मस्कले समर्थन गर्ने क्रिप्टोकरेन्सीको नाम र उनलाई नियुक्ति दिन गठन गरिएको निकायको संक्षिप्त नाम एउटै छ ।
क्रिप्टो उद्योगका विज्ञहरूका अनुसार यसले बजारमा थप वृद्धिको सम्भावना देखिएको छ । ट्रम्पको क्रिप्टो प्रतिको पक्षधरता र थप सकारात्मक नियामकीय वातावरणको आशामा डजक्वाइन लगायतका क्रिप्टोकरेन्सीमा लगानीकर्ताहरूको आशा बढाएको छ ।
डजक्वाइनसँगै क्रोनोसले १८५ प्रतिशत, नेइरोले ११८ प्रतिशत, कार्डानोले ८० प्रतिशत र पेपेले ७५ प्रतिशत वृद्धि हासिल गरेका छन् । डिजिटल एसेट एक्सचेन्ज बीटीसी मार्केट्स पीटीवाईकी सीईओ क्यारोलिन बोलरले बिटक्वाइनको वृद्धिले अन्य क्रिप्टोहरूमा पनि छिटो प्रभाव पारेको बताएकी छिन् । "ट्रम्पको प्रशासनबाट यो क्षेत्रले दीर्घकालीन रूपमा फाइदा लिने अपेक्षा गरिएको छ," उनले भनेकी छिन् ।