काठमाडौं । विश्वकै चर्चित ब्राउजर ‘क्रोम’ बेच्न बाध्य पारिए उपभोक्ता र व्यवसायलाई क्षति पुग्ने गुगलले दाबी गरेको छ । अमेरिकाको न्याय विभागले न्यायाधीशलाई यो कदम प्रस्ताव गर्न निर्देशन दिने योजना बनाएसँगै गुगलले आक्रोश व्यक्त गरेको हो ।
गत अगस्टमा न्यायाधीश अमित मेहताले गुगलले अनलाइन सर्च क्षेत्रमा एकाधिकार सञ्चालन गरेको ठहर गरेका थिए । यसका लागि आवश्यक समाधान वा सजाय निर्धारण गर्नेबारे न्यायाधीशले विचार गरिरहेका छन् ।
विभागले यस विषयमा कुनै टिप्पणी नगरे पनि गुगलले स्पष्ट रूपमा यस प्रस्तावको विरोध गरेको छ । “विभागले यस मुद्दाका कानुनी सवाल भन्दा टाढा जाने कट्टर एजेन्डा अगाडि बढाइरहेको छ,” गुगलकी कार्यकारी ली-एन मुलहल्याण्डले एक विज्ञप्तिमा भनिन् ।
एआई, एन्ड्रोइड अपरेटिङ सिस्टम र डेटाको प्रयोगबारे नयाँ उपाय खोज्न पनि गुगललाई निर्देशन आउन सक्ने बताइएको छ । “अहिले यो आवश्यक भइरहेको अवस्थामा सरकारले यसरी हस्तक्षेप गर्दा उपभोक्ता, डेभलपर र अमेरिकी प्रविधि नेतृत्वलाई क्षति पुग्नेछ,” मुलहल्याण्डले थपिन् ।
क्रोम विश्वव्यापी रूपमा सबैभन्दा बढी प्रयोग हुने ब्राउजर हो । वेब ट्राफिक ट्र्याक गर्ने सिमिलर वेबका अनुसार अक्टोबरमा यसको विश्वव्यापी बजार हिस्सा ६४.६१ प्रतिशत थियो । त्यसैगरी गुगलको सर्च इन्जिनले अक्टोबरसम्म विश्वव्यापी सर्च इन्जिन बजारको झण्डै ९० प्रतिशत हिस्सा ओगटेको छ । अधिकांश स्मार्टफोन ब्राउजर र क्रोममा गुगल सर्च डिफल्ट इन्जिनको रूपमा सेट गरिएको छ ।
न्यायाधीश मेहताले अगस्टमा गरेको निर्णयमा डिफल्ट सर्च इन्जिनलाई गुगलको ‘अत्यन्तै मूल्यवान सम्पत्ति’ भएको उल्लेख गरिएको थियो । “डिफल्ट पोजिसनका लागि नयाँ प्रतिस्पर्धी गुणस्तरका हिसाबले योग्य भए पनि उनीहरूले अर्बौं डलरको राजस्व साझेदारी गर्न तयार भए मात्र प्रतिस्पर्धा गर्न सक्नेछन्,” उनले भनेका थिए ।
बीबीसीका अनुसार विभागले अदालतमा आफ्ना अन्तिम प्रस्तावित उपायहरू बुधबार पेश गर्ने अपेक्षा गरिएको छ । अक्टोबरमा पेश गरिएको मुद्दामा विभागले गुगललाई विभाजित गर्ने उपायसमेत विचार गरिरहेको उल्लेख थियो ।
अनलाइन सर्च क्षेत्रमा एकाधिकार सञ्चालन गरेको आरोप गुगलले बारम्बार अस्वीकार गर्दै आएको छ । अक्टोबरमा परेको मुद्दाको प्रतिक्रिया दिंदै गुगलले ‘क्रोम वा एन्ड्रोइड जस्ता आफ्ना व्यवसायका भाग विभाजन गर्दा’ व्यवसाय नै चौपट हुने गुनासो गरेको थियो । यसले गर्दा एन्ड्रोइड डिभाइसको मूल्य बढ्ने र एन्ड्रोइड तथा गुगल प्लेलाई एप्पलको आईफोन र एप स्टोरसँगको प्रतिस्पर्धामा कमजोर बनाउने कम्पनीको दाबी थियो ।
यसरी अलग्याउँदा क्रोमलाई सुरक्षित राख्न झनै कठिन बनाउने गुगलले जनाएको थियो । हालैको त्रैमासिक प्रतिवेदन अनुसार गुगलले सर्च र विज्ञापन व्यवसायबाट गर्ने आम्दानी १० प्रतिशतले बढेर ६६ अर्ब डलर पुगेको छ ।
कम्पनीका सीईओ सुन्दर पिचाइले कम्पनीका एआई सर्च टुल लाखौं प्रयोगकर्ताले प्रयोग गरिरहेको बताएका छन् । न्याय विभागको प्रस्तावित उपायहरू सम्बन्धी रिपोर्ट बाहिर आएपछि गुगलको शेयर घट्न थालेको विश्लेषण गरिएको छ ।