काठमाडौं । फिडमा सिफारिस भएका सबै कन्टेन्ट हटाउन मिल्ने गरी इन्स्टाग्रामले नयाँ फिचर ल्याउने भएको छ । एपमा स्वतः आउने कन्टेन्टहरू रिफ्रेस गर्न कम्पनीले 'रिकमेन्डेसन रिसेट' नामको फिचर ल्याउन लागेको हो ।
हाल परीक्षणकै चरणमा रहेको यो फिचर केही समयभित्र सबैका लागि उपलब्ध हुने मेटाले जनाएको छ । विशेषत: प्रयोगकर्ताले एपमा गर्ने अनुभव सुधार गर्ने घोषणा गरेको केही समयपछि नै मेटाले यस्तो फिचर ल्याउन लागेको हो ।
यस फिचरले फिड, एक्स्प्लोर र रिल सुझाउने एपको एल्गोरिदम रिसेट गर्ने छ । जसले प्रयोगकर्तालाई एकै प्रकारका कन्टेन्टहरू बारम्बार देखिने समस्याबाट छुटकारा दिलाउनेछ ।
अहिले जुन विषयका कन्टेन्ट फलो गरिएको छ, त्यस्तै खालका कन्टेन्टहरू फिडमा बढी मात्रामा देखिन्छन् । नयाँ फिचर आएपछि भने सिफारिस गरिएका कन्टेन्ट रिसेट गर्न सकिन्छ ।
मेटाका अनुसार यो काम केही क्लिकमा नै गर्न सकिन्छ । तर निश्चित समयपछि भने एपमा देखिने कन्टेन्टहरू प्रयोगकर्ताको रुचि अनुसार नै देखिन थाल्नेछन् ।