close

मानिसको नैतिक निर्णयको अध्ययनका लागि ओपनएआईको ठूलो अनुदान, सफल हुने सम्भावना कति ?

टेकपाना टेकपाना

मंसिर ८, २०८१ १७:५२

मानिसको नैतिक निर्णयको अध्ययनका लागि ओपनएआईको ठूलो अनुदान, सफल हुने सम्भावना कति ?

काठमाडौं । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ । शिक्षा, स्वास्थ्य, व्यवसाय, कानुनजस्ता महत्त्वपूर्ण क्षेत्रमा एआईका सुझावलाई स्वीकार गर्ने परिपाटीले व्यापकता पाइरहेको छ । यस्तै, एआईको नवीनतम विकास र यसको लोकप्रियताले भविष्यमा यसले मानव मस्तिष्कलाई नै प्रतिस्थापन गर्न सक्ने अनुमानसमेत गरिएको छ ।

यद्यपि, मानिस र एआईबीचको भिन्नतालाई कायम राख्न ‘नैतिक निर्णय’ एउटा महत्त्वपूर्ण कारकका रूपमा रहने देखिएको छ । नैतिकता जस्तो जटिल अवधारणा एआईले प्रभावकारी रूपमा समेट्न सक्दैन भन्ने धारणा पनि व्यापक छ । तर, हालै ओपनएआईले मानिसका नैतिक निर्णयहरूको अध्ययन र पूर्वानुमानका लागि १३ करोड रुपैयाँ बराबरको अनुदान प्रदान गरेको छ ।

यो अनुदान ओपनएआईको गैरनाफामुखी संस्था ओपनएआई इन्कले ड्युक विश्वविद्यालयका अनुसन्धानकर्ताहरूलाई प्रदान गरेको हो । सन् २०२३ मा सुरु भएको यो अनुसन्धान सन् २०२५ सम्म सञ्चालन हुने जनाइएको छ ।​

ड्युक विश्वविद्यालयले जारी गरेको वक्तव्यअनुसार यो अध्ययनको उद्देश्य चिकित्सा, कानुन, व्यवसायजस्ता क्षेत्रमा देखिने नैतिक द्वन्द्वहरूमा मानिसका निर्णयहरूको पूर्वानुमान गर्न एल्गोरिदम विकास गर्नु हो । 'रिसर्च एआई मोरालिटी' शीर्षकमा भइरहेको अध्ययनका प्रमुख अनुसन्धानकर्ता वल्टर सिनोट-आर्मस्ट्रङ र सह-अनुसन्धानकर्ता जाना बर्ग हुन् । यी अनुसन्धानकर्ताहरू नैतिक रूपमा जिम्मेवार एआई विकासमा लामो समयदेखि सक्रिय छन् ।

यस प्रयासले सफलता प्राप्त गर्छ कि गर्दैन भन्ने विषय अहिले नै निश्चित गर्न सकिँदैन । विगतमा पनि यस्ता पहलहरू भएका थिए । उदाहरणका लागि, सन् २०२१ मा एलेन इन्स्टिच्युट फर एआईले “आस्क डेल्फी” नामक प्लेटफर्म सार्वजनिक गरेको थियो, जसले साधारण नैतिक समस्याहरू हल गर्ने प्रयास गर्यो । तर, केही परिस्थितिमा यसले नैतिक रूपमा अस्वीकार्य सुझाव दिएको पाइयो ।

एआईले वेबका थुप्रै उदाहरणहरूको आधारमा प्रशिक्षण प्राप्त गर्छ । त्यसैले यसले नैतिक अवधारणाको मूल्याङ्कन गर्न, तर्क र भावनालाई समेट्न असफल भएको देखिन्छ । तर, पछिल्लो समयमा छोटो अवधिमा एआईले हासिल गरेका प्रगतिहरूलाई हेर्दा यो कार्य असम्भव भने छैन ।

ओपनएआई र अनुसन्धानकर्ताहरूको यो प्रयासले एआईलाई मानिसका नैतिक निर्णयहरूको नजिक लैजान सक्छ भन्ने विश्वास गर्न सकिन्छ । यसको सफलताले नैतिक रूपमा जिम्मेवार एआईको विकासमा एउटा कोशेढुंगा थप्न सक्छ ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०८१ १९:२६