काठमाडौं । भारतीय वैज्ञानिकले आदित्य एल वन अन्तरिक्ष यानबाट प्राप्त महत्त्वपूर्ण नतिजाहरू सार्वजनिक गरेका छन् । भारतका लागि अन्तरिक्ष क्षेत्रको पहिलो सौर्य मिसनका रूपमा रहेको यस यान 'कोरोनल मास इजेक्सन' (सीएमई) को वास्तविक समय आँकलन गर्न सक्षम भएको बताइएको छ ।
यस मिसनबाट प्राप्त जानकारीले पावर ग्रिड र कम्युनिकेसन स्याटलाइटलाई क्षति हुनबाट जोगाउन सहयोग गर्ने बताइएको छ । भविष्यमा सूर्यमा कुनै ठूलो घटना भए अन्तरिक्ष र पृथ्वीका पूर्वाधार जोखिममा पर्न सक्छ । तर, यस मिसनबाट प्राप्त ज्ञानले त्यस्ता जोखिमबाट जोगाउने वैज्ञानिकको दाबी छ ।
१६ जुलाईमा आदित्य एल वनका सात उपकरणमध्ये सबैभन्दा महत्त्वपूर्ण भीईएलसी अर्थात् भिजिबल एमिसन लाइन कोरोनोग्राफले केही तथ्याङ्क सङ्कलन गरेको छ । यी तथ्याङ्कको सहयोगले वैज्ञानिकहरूले सीएमई अर्थात् कोरोनल मास इजेक्सन(सीएमई) को सुरुवात भएको वास्तविक समयको अनुमान लगाउन सकेका छन् ।
सीएमई सूर्यको सबैभन्दा बाहिरको तह कोरोनाबाट निस्किने आगोका ठूलठूला गोला हो । सीएमआई अध्ययन भारतको पहिलो सोलार मिसनका मुख्य उद्देश्यमध्ये एक हो ।
भारतीय खगोल भौतिक संस्थानका प्रोफेसर आर रमेशले बीबीसीलाई भने अनुसार यी आगोका गोला ऊर्जा कणहरूबाट बनेका हुन्छन् । तिनीहरूको तौल १० खर्ब किलोग्रामसम्म हुन सक्छ । र, यसको गति तीन हजार किलोमिटर प्रति सेकेन्डसम्म हुन सक्छ । यो कुनै पनि दिशामा जान सक्छन् । यसको अर्थ तिनीहरू पृथ्वीतर्फ पनि आउन सक्छन् ।
यद्यपि सौर तुफान त्यसबाट निस्कने ज्वाला र कोरोनल मास इजेक्सनले नियमित रूपमा पृथ्वीको मौसमलाई प्रभाव पार्छ । यसको असर अन्तरिक्षको मौसममानि पर्छ प। त्यहाँ पृथ्वीका करिब ७८०० स्याटलाइट्स छन् । त्यसमध्ये ५० भन्दा बढी स्याटलाइट भारतका हुन् । स्पेस डटकमका अनुसार यसको कारणले मानव जीवनलाई खतरा हुने सम्भावना अत्यन्तै कम छ । तर, यी पृथ्वीको चुम्बकीय क्षेत्रसँग ठोक्किदा पृथ्वीमा हलचल बढ्न भने सक्छ ।
यसको सबैभन्दा सुन्दर प्रभाव भनेको उत्तर र दक्षिण ध्रुवमा अरोरा लाइट्स देखिनु हो । तर, यदि बलियो कोरोनल मास इजेक्सन (सीएमआई) भयो भने यसको प्रभाव आकाशमा झन् चम्किलो प्रकाशका रूपमा देखिन्छ । यद्यपि यस्ता घटनाको प्रभाव अन्तरिक्षमा अत्यन्त गम्भीर हुन्छ । कोरोनल मास इजेक्सनका क्रममा निस्कने चार्ज कणले अन्तरिक्षमा रहेका सबै उपकरण र स्याटलाइट बिगार्न सक्छन् ।
प्रोफेसर आर रमेशका अनुसार हाम्रो जीवन आज पूर्ण रूपमा सञ्चार सेटेलाइटहरूमा निर्भर छ । सीएमआईका कारण इन्टरनेट, फोन लाइन र रेडियो कम्युनिकेसन ठप्प हुन सक्छ । र, यसले अत्यधिक अव्यवस्था सिर्जना गर्न सक्छ ।
इतिहासमा अभिलेख गरिएको सबैभन्दा शक्तिशाली सौर्य आँधी सन् १८५९ मा आएको थियो । यसलाई क्यारिङ्टन इभेन्ट भनिन्छ। त्यस समयमा आकाशमा ठूलो 'अरोरा लाइट्स' देखिएको थियो । यसले गर्दा विश्वभर टेलिग्राफ लाइनहरू बन्द भएका थिए ।
वैज्ञानिकहरूका अनुसार यदि हामी सूर्यमा के भइरहेको छ भन्ने हेर्न र सौर्य आँधी वा कोरोनल मास इजेक्सनसँग सम्बन्धित जानकारी समयमै पाउन सक्यौं भने यसबारे पूर्वसूचना जारी गर्न सकिन्छ । यसले पावर ग्रिडहरू बन्द गरेर तिनलाई हुन सक्ने क्षतिबाट जोगाउन सकिन्छ ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासा, युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए), जापान र चीनले दशकौंसम्म अन्तरिक्षमा आफ्ना सौर्य मिसनको माध्यमबाट सूर्यलाई अध्ययन गर्दै आएका छन् । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले पनि एक वर्षअघि आफ्नो पहिलो सौर मिसन आदित्य एल-वन प्रक्षेपण गरेको थियो ।
आदित्य एल-वन यस्तो स्थानमा रहेको छ, जहाँबाट यसले निरन्तर सूर्यलाई अवलोकन गर्न सक्छ । ग्रहण वा अन्य जटिल अवस्थाहरूमा पनि यसले वैज्ञानिक अध्ययनलाई निरन्तरता दिन सक्षम छ ।
प्रोफेसर आर रमेशका अनुसार भारतको कोरोनाग्राफ नासा र ईएसएसँगको संयुक्त सौर्य तथा हेलियोस्फेरिक वेधशालामा रहेको कोरोनाग्राफभन्दा केही सुधारिएको मानिन्छ ।