close

आजदेखि ब्रुनाईमा एपिक्टा अवार्ड्स हुँदै, नेपालका ४ आईटी कम्पनी सहभागी

टेकपाना टेकपाना

मंसिर १९, २०८१ १२:१८

आजदेखि ब्रुनाईमा एपिक्टा अवार्ड्स हुँदै, नेपालका ४ आईटी कम्पनी सहभागी

काठमाडौं । ब्रुनाईमा आजदेखि हुने एपिक्टा अवार्ड्स २०२४ मा नेपालका चार आईसीटी कम्पनी सहभागी हुँदैछन् । डिसेम्बर ७ सम्म हुने यस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा न्यास-आईटी अवार्ड्स २०२४ बाट छनोट भएका कम्पनीहरूले नेपालको प्रतिनिधित्व गर्दैछन् ।

प्रतिस्पर्धामा सहभागी हुने कम्पनीहरूमा आईएमएस सफ्टवेयर प्रालि, त्रिलोक्य टेक्नोलोजी प्रालि, ईकागजपत्र प्रलि र अलपास टेक्नोलोजी प्रालि रहेका छन् । यी कम्पनीले क्रमशः फाइनान्स, सेक्युरिटी, प्रफेसनल सर्भिसेज र डिजिटल गभर्मेन्ट विधामा प्रतिस्पर्धा गर्नेछन् ।

यस अवार्ड्समा नेपालका तर्फबाट अनिल कुमार दत्त, रिचन श्रेष्ठ र दिपेन चापागाईं निर्णायकको भूमिकामा रहनेछन् । उनीहरूले अन्तर्राष्ट्रिय निर्णायक प्यानलमा आफ्नो विशेषज्ञता प्रदान गर्नेछन् । त्यस्तै, एपिक्टा कार्यकारी समितिका सदस्य नारायण कोईराला र अर्थव्यवस्था समन्वयक अनिष श्रेष्ठ पनि कार्यक्रममा सहभागी हुनेछन् ।

एपिक्टा अवार्ड्स, एसिया–प्यासिफिक क्षेत्रका प्राविधिक उत्कृष्टता र नवाचारलाई सम्मान गर्ने विश्वव्यापी मान्यता प्राप्त मञ्च हो । यस वर्ष नेपालसहित १७ देशका कम्पनीहरूले एपिक्टामा प्रतिस्पर्धा गर्नेछन् ।

मङ्गलबार न्यास-आईटीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहभागी कम्पनी र निर्णायकहरूलाई बिदाइ गरेको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८१ १२:४२