काठमाडाै । गुगलले नयाँ एआई टुल ‘डीप रिसर्च’ सार्वजनिक गरेको छ । यस टुलले प्रयोगकर्तालाई वेब सर्च गर्न र प्राप्त तथ्यहरूमा आधारित रही विस्तृत प्रतिवेदन लेख्न सक्षम बनाउने कम्पनीले जनाएको छ ।
हाल अंग्रेजी भाषामा उपलब्ध यो टुल जेमिनाई एडभान्स्ड मेम्बरहरूले प्रयोग गर्न सक्छन् । यो सुविधा प्रयोग गरी जेमिनाइलाई कुनै विशेष विषयको अनुसन्धानका लागि प्रश्नहरू सोध्न सकिन्छ । यसपछि च्याटबटले विभिन्न चरणको अनुसन्धान योजना तयार पार्छ, जसलाई तपाईंले थप सम्पादन गर्न वा स्वीकृत गर्न सक्नुहुन्छ ।
गुगलका अनुसार जेमिनाईले वेबमा रोचक जानकारी खोज्नबाट अनुसन्धान सुरु गरी निरन्तर विषय सम्बन्धित खोजीहरू गर्नेछ । अनुसन्धान पूरा भएपछि जेमिनाईले पत्ता लगाएका मुख्य निष्कर्षका आधारमा प्रतिवेदन तयार पारिदिन्छ । साथै कुन वेबसाइटमा ती जानकारी भेटिएका थिए भन्ने लिङ्क समेत दिन्छ ।
प्रतिवेदनलाई थप विस्तार गर्न तथा परिवर्तन गर्न पनि जेमिनाईकै सहयोग लिन सकिन्छ । यसरी एआईले तयार पारेको अनुसन्धानलाई गुगल डक्समा एक्स्पोर्ट गरी प्रयोगमा ल्याउन सकिने बताइएको छ । जेमिनाई २.० को हिस्साको रूपमा रहेको यो फिचरलाई गुगलले डीप रिर्सचको क्षेत्रमा नयाँ कदमका रूपमा लिएको छ ।