काठमाडौं । पेपालका सहसंस्थापक पिटर थाइलले सिलिकन भ्यालीले किन ‘घरबाटै काम गर्ने प्रवृत्ति’ अन्त्य गरिरहेको छ भन्ने खुलासा गरेका छन् । हालै एक टेलिभिजनलाई अन्तर्वार्ता दिंदै थाइलले ‘रिमोट वर्क’ प्रभावकारी नभएको तर्क गरेका छन् ।
“जब मानिसहरू कार्यालयमा आउँदैनन्, उनीहरू काम गरिरहेका हुँदैनन्,” उनले भने ।
थाइलका अनुसार, सिलिकन भ्यालीका प्रविधि कम्पनीहरूले धेरैजसो ‘रिमोट कामदार’ अनुत्पादक भएको महसुस गरेपछि उनीहरूलाई कार्यालयमा बोलाउने निर्णय गरेका छन् । कोभिड महामारीको समयमा ‘रिमोट काम’को सुरुवाती दिनको सम्झना गर्दै थाइलले भने, “कर्मचारीले समयको आवश्यकता अनुसार फ्लेक्जिबल कामको माग गरेका थिए । तर, कामदारले त्यस समयमा प्रभावकारी तरिकाले काम गर्न सकेनन् ।”
कम्पनीहरूले स्थितिलाई पुनः मूल्याङ्कन गर्न थालेपछि धेरै आईटी कम्पनीहरूले रिमोट संरचनाले केही कर्मचारीहरूको उत्पादकत्वको अभाव उजागर गरेको पत्ता लगाए । “दुई वर्षपछि कम्पनीहरूले धेरैजसो ‘रिमोट कामदार’लाई निकाल्न थाले, किनकि उनीहरूलाई लाग्यो कि ती कर्मचारीहरू काम गरिरहेका छैनन् । उनीहरूलाई निकाल्दा खासै फरक पर्दैन र सजिलै हटाउन सकिन्छ,” थाइलले थपे ।
सन् २०२२ को अन्त्य र २०२३ को सुरुवाततिर कोभिड-१९ महामारीको प्रभाव कम हुन थाल्यो । त्यसपछि गुगल, मेटा, अमेजन जस्ता प्रविधि कम्पनीहरूले कर्मचारी कटौतीको ठूलो लहर सामना गरे । थाइलले कर्मचारी कटौतीको विषयलाई ‘रिमोट काम’को गिरावट र कम उत्पादकत्वको धारणासँग जोडेर हेरे। उनका अनुसार, सुरुवातमा धेरैजसो आईटी कम्पनीहरूले केही टाढाबाट गरिने कामको आवश्यकता महसुस गरे । तर कालान्तरमा ती कामहरूले व्यवसायमा खासै प्रभाव नपर्ने देखेपछि त्यस्ता पदहरू हटाउन थाले ।
अमेजनले सन् २०२५ सम्म केही सीमित कामलाई ‘रिमोट वर्क’का रूपमा राख्ने र बाँकी सबैलाई कार्यालयमै उपस्थित गराउने घोषणा गरेको छ । त्यस्तै मेटा र गुगलले पनि कर्मचारीलाई कार्यालयमै उपस्थित गराउन सुरु गरेका छन् ।
कोभिड महामारी अब गम्भीर मुद्दा नरहेको अवस्थामा यस्ता ठूला आईटी कम्पनीको यस्ता कदमले ‘रिमोट काम’बाट टाढा जाने ठूलो प्रवृत्तिलाई संकेत गरेको छ ।
थाइल विश्व परिवेशमा प्रविधि क्षेत्रलाई कायापलट गर्ने समूह ‘पेपाल माफिया’मा पर्छन् । विशेषगरी थाइल र टेस्लाका सीईओ एलन मस्कबीच घनिष्ठ मित्रता रहेको छ । उनीहरू दुई जनासहित अन्य चार जनाले पेपाल स्थापना गरेका थिए ।