close

‘डिजिटल अरेस्ट’ स्क्याममा परी सफ्टवेयर इन्जिनियरले यसरी गुमाए १८ करोड बढी रकम

टेकपाना टेकपाना

पुस ९, २०८१ २२:३३

‘डिजिटल अरेस्ट’ स्क्याममा परी सफ्टवेयर इन्जिनियरले यसरी गुमाए १८ करोड बढी रकम

काठमाडौं । भारतका एक सफ्टवेयर इन्जिनियर अनलाइन ठगीको शिकारमा परेका छन् । डिजिटल अरेस्ट (भर्चुअल कैद) को ठगीमा पर्दा बैङ्लोरमा बस्दै आएका ३९ वर्षीय इन्जिनियर ठगीको शिकार भएका हुन् । 

भारतीय सञ्चार माध्यम टाइम्स नाउका अनुसार उनलाई ठगहरूले सम्पत्ति शुद्धीकरण मामिलामा संलग्न भएको विश्वास दिलाएर ठगेका थिए । प्रहरी अफिसरको नक्कल गर्ने ठगहरूले ती इन्जिनियरलाई उनको आधार कार्डको विवरण अवैध गतिविधिमा प्रयोग गरिएको भन्ने झुटो आरोप लगाएका थिए । २५ नोभेम्बरदेखि १२ डिसेम्बरसम्म उनीबाट ठगहरूले ११ करोड ८० लाख भारू (करिब १८ करोड रुपैयाँ) ठगी गरेका हुन् । 

यस घटनाले प्रविधिमा निपुण व्यक्तिहरू पनि कसरी सजिलै ठगिन सक्छन् भन्ने देखाएको छ । ठगीको सुरुवात ११ नोभेम्बरबाट भएको थियो । उनलाई सबैभन्दा पहिले भारतको दूरसञ्चार नियामक निकायको कर्मचारी भएको दाबीसहित एक व्यक्तिले कल गरे । फोन गर्नेले उनको आधारसँग जोडिएको सिमकार्ड अवैध गतिविधिमा प्रयोग भएको बताए । त्यसको केही समयपछि अर्को फोन आयो, जसमा आफूलाई प्रहरी अधिकारीको रुपमा चिनाउने ठगले आधार प्रयोग गरी बैंक खाता खोलिएको र ती खाताहरू सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ)का लागि दुरुपयोग भएको दाबी गरे । ती ठगले पीडितलाई फोनमा उनले सहयोग नगरे पक्राउ पर्ने धम्की दिए र एउटा भर्चुअल अनुसन्धानमा साथ दिन आग्रह गरे ।

त्यसपछि पीडितलाई स्काइप डाउनलोड गर्न निर्देशन दिइयो । जहाँ ठगहरूले प्रहरीको पोशाकमा आफूलाई प्रस्तुत गरेका थिए । त्यहाँको माहोल देख्दा ती सफ्टवेयर इन्जिनियर विश्वास गर्न बाध्य भए । एक व्यापारीले ती सफ्टवेयर इन्जिनियरको विवरण प्रयोग गरी छ करोड रुपैयाँको खाता खोलेको भनियो । त्यसपछि ठगहरूले आफ्नो माग पूरा नगरे उनको परिवारलाई पक्राउ गर्ने धम्की दिए ।

२५ नोभेम्बरसम्ममा पीडितले ‘भेरिफिकेसन’ र कानूनी झमेलाबाट बच्न ठूलो रकम ट्रान्सफर गरिसकेका थिए । जब ठगहरूले अझै थप रकम माग्न थाले तब मात्र उनले यो ठगी भएको थाहा पाए र प्रहरीमा रिपोर्ट गरे ।

पछिल्लो समय भारतमा डिजिटल अरेस्टका घटना तीब्र सङ्ख्यामा बढिरहेका छन् । सामान्यदेखि पढेलेखेका र कुनै व्यवसायमा आवद्ध भएका व्यक्तिहरू यस्ता ठगीका घटनामा बढि पर्ने गरेका छन् । 

नेपालमा यस्तै घटना नदेखिए पनि यही स्वरूपमा घटना भने देखिन थालेका छन् । खासगरी नेपाल प्रहरीको नामबाट नक्कली व्यक्तिले ईमेल पठाई अवैध कन्टेन्ट हेरेको भन्दै झुक्याएर नक्कली लिङ्कमा क्लिक गर्न लगाइएको पाइएको छ । 

कसरी जोगिने ?

  • स्रोत प्रमाणित गर्ने 

यदि तपाईंले अनपेक्षित र अपरिचित नम्बरबाट कल पाउनु भयो भने बेवास्ता गर्नुहोस् । सकभर जुन संस्थाको भनेर दाबी गरिएको छ त्यही स्रोसम्म पुग्ने प्रयास गर्नुहोस् । 

  • व्यक्तिगत जानकारी कहिल्यै नबाँड्नुहोस्

आफ्नो सिम, बैंक अकाउन्ट, राष्ट्रिय परिचय पत्र वा नागरिकताका विवरण कहिल्यै कसैलाई नदिनुहोस् ।

  • भुक्तानी गर्दा सचेत हुनुहोस् 

कसैलाई भुक्तानी गर्दै हुनुहुन्छ भने कसलाई कुन प्रयोजनका लागि भुक्तानी गर्न लागिएको हो विचार गरेर मात्र भुक्तानी गर्नुहोस् ।

  • अनलाइनबाट पक्राउ गर्ने भन्ने हुँदैन, नझुक्किनुहोस्

नेपाल वा भारतमा अनलाइनबाट प्रहरीले पक्राउ गर्ने भन्ने हुँदैन । अनि तपाईंले गर्दै नगरेको गल्तीका कारण कसैले पक्राउ गर्दैन । प्रहरी वा अन्य निकायले पनि फोन गरेर पक्राउ गर्दैछौं भन्दैनन् । त्यसैले अनलाइनमा कसैले भनेकै भरमा तपाईं पक्राउ पर्नुहुन्न । यस्तोमा नफस्नुहोस् ।

पछिल्लो अध्यावधिक: पुस ९, २०८१ २२:४६