काठमाडौं । बिलिङ सफ्टवेयर निर्माता कम्पनी आईएमएस सफ्टवेयर र हिमालयन बैंकबिच अत्याधुनिक स्वचालित भुक्तानी प्रविधि कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा दुई संस्थाबिच स्वचालित प्रविधि अपनाउने विषयमा सम्झौता भएको हो ।
सम्झौता पत्रमा आईएमएस सफ्टवेयर प्रालिका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मीले हस्ताक्षर गरे । योसँगै अब आईएमएस सफ्टवेयरले हिमालयन बैंकको प्वाइन्ट अफ सेल (पीओएस) डिभाइसमा स्वचालित भुक्तानी प्रविधि (Automated Payment Technology) प्रयोगमा ल्याउनेछ ।
यस प्रविधिले कार्ड र क्यूआरमा आधारित भुक्तानीलाई छिटो र सुरक्षित बनाउने बताइएको छ । त्यस्तै हिमालयन बैंकका पीओएस डिभाइस आईएमएस सफ्टवेयरको बिलिङ सफ्टवेयरसँग इन्टिग्रेट हुनेछन् ।
यस सहकार्यले साना तथा मझौला व्यवसायीलाई महँगो हार्डवेयरमा लगानी नगरी सफ्टवेयरको प्रयोग गर्न सक्षम बनाउने आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक ताम्राकारले बताए । उनका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको व्यवस्थापनमा पनि यस प्रविधिले सहयोग पुर्याउने छ ।