close

भीम रावललाई एमालेबाट निष्कासन गर्ने निर्णयको प्रतिरक्षामा महासचिव पोखरेलले लिए एआईको साथ

टेकपाना टेकपाना

पुस ११, २०८१ ९:१३

भीम रावललाई एमालेबाट निष्कासन गर्ने निर्णयको प्रतिरक्षामा महासचिव पोखरेलले लिए एआईको साथ

काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई निष्कासन गरेपछि पार्टीभित्र र बाहिर अहिले व्यापक चासो बढेको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीको संगठित सदस्य समेतबाट हटाउने तथा स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई छ महिनाका लागि जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको थियो ।

यसपछि पार्टीमा आलोचना र प्रश्न गर्नेमाथि कारबाही भएको भन्दै एमाले नेतृत्वको आलोचना भइरहेको छ । यसैबिच पार्टी निर्णयको बचाउ गर्न एमाले महासचिव शंकर पोखरेलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को साथ लिएका छन् ।

बुधबार साँझ उनले ‘पार्टी अनुशासनबारे एआईको धारणा’ भन्दै फेसबुकमा एक पोस्ट गरेका छन् । उक्त पोस्टमार्फत उनले अनुशासनहीन काम गरेकाले रावलसहितका नेतालाई कारबाही गरिएको प्रस्टीकरण दिन खोजेका छन् ।

“पार्टीमा अनुशासनको महत्त्व अत्यन्तै उच्च छ, किनभने कुनै पनि संगठनको सफलता र स्थिरता अनुशासनमा आधारित हुन् । अनुशासनले पार्टीका सदस्यहरूलाई पार्टीका नियम, आदर्श र लक्ष्यअनुसार सञ्चालन गर्न प्रेरित गर्छ,” एआईको धारणा भन्दै पोखरेलले राखेको पोस्टमा भनिएको छ । उनले पार्टी अनुशासनबारे एआईले तयार पारेका ६ महत्त्व उल्लेख गरेका छन् ।

नेता रावलले पछिल्लो समय केन्द्रीय कार्यालय निर्माणमा व्यापारी मीनबहादुर गुरुङको संलग्नतामाथि प्रश्न उठाउँदै आलोचना गरेका थिए । तीन वर्षयता एमालेको सक्रिय राजनीतिमा नरहेका रावलले पार्टी नेतृत्व कडा टीप्पणी गर्दै आएका छन् । सचिवालयले उनीमाथि पार्टीका नियमविपरीत गतिविधि गरेको आरोप लगाउँदै संगठित सदस्यबाट हटाउने निर्णय गरेको हो ।

पछिल्लो अध्यावधिक: पुस ११, २०८१ ९:३०