काठमाडौं । एआई कोर्स पूरा गर्ने पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीलाई सामसङले प्रमाणपत्र वितरण गरेको छ । बुधबार क्याम्पसमा आयोजित एक कार्यक्रममा सामसङले ग्लोबल सीएसआर पहल अन्तर्गत प्रमाणपत्र वितरण गरेको हो ।
यस कार्यक्रममार्फत एआई कोर्स पूरा गरेका ३० विद्यार्थीले प्रमाणपत्र प्राप्त गरेका छन् । सोही अवसरमा कम्पनीले ६० विद्यार्थीको नयाँ ब्याचलाई कोडिङ र प्रोग्रामिङ कोर्सका लागि स्वागत गरेको छ ।
सामसङले नेपालमा २०२२ देखि सामसङ इनोभेसन क्याम्प सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत पाँच महिनाको एआई कोर्स उपलब्ध गराइएको हो । विशेषगरी अत्याधुनिक एआई अवधारणा र व्यवहारिक सीपमा आधारित पाठ्यक्रममा पहुँच दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
सामसङ नेपालका प्रमुख लिन सु किमले प्रमाणपत्र वितरण समारोहमा भने, “सामसङको दृष्टिकोण ‘सँगै भविष्यका लागि ! मानिसलाई सक्षम बनाउँदै’ले हामीलाई युवाहरूलाई नवीनता र शिक्षा मार्फत सशक्त बनाउन प्रेरित गरेको छ । विद्यार्थीहरूको समर्पण र उनीहरूको उपलब्धिको उत्सव मनाउँदा हामी गौरवान्वित छौं । हामी भविष्यमा विद्यार्थीले ल्याउने सकारात्मक प्रभाव हेर्न उत्साहित छौं ।”
यस कोर्सले एआई, आईओटी, बिग डेटा र कोडिङ जस्ता प्राविधिक सीपसँगै समस्या समाधान र रचनात्मकता जस्ता सीपको पनि विकास गरेको जनाइएको छ । व्यवहारिक सीपमा केन्द्रित पाठ्यक्रमले विद्यार्थीलाई उनीहरूले सिकेका सीप र प्रविधिको प्रयोग गरेर समस्या समाधान गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।
नयाँ ब्याचमा भर्ना भएका विद्यार्थीले कोडिङ र प्रोग्रामिङ अन्तर्गत एल्गोरिदम, डेटा स्ट्रक्चर र रियल-वर्ल्ड प्रोग्रामिङका आधारभूत र अत्याधुनिक ज्ञान पाउने कम्पनीले जनाएको छ ।