close

अमेरिकी अर्थ मन्त्रालयमा साइबर आक्रमण, चीनको संलग्नता भएको अमेरिकाको दाबी

टेकपाना टेकपाना

पुस १६, २०८१ १३:२६

तस्वीरः फक्स न्युज तस्वीरः फक्स न्युज

 

काठमाडौं । चिनियाँ ह्याकरहरूको समूहले अमेरिकी अर्थ मन्त्रालयको कम्प्युटर प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी संवेदनशील कागजात चोरेको आरोप लागेको छ । सोमबार मन्त्रालयका अधिकारीहरूले संसदलाई पठाएको पत्रमा यस्तो दाबी गरिएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ह्याकरले अमेरिकी अर्थ मन्त्रालयका लागि साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने कम्पनी ‘बियोन्ड ट्रस्ट’को सिस्टम कब्जा गरी पहुँच बनाएका थिए । सिस्टम कब्जा गरेपछि तत्कालै त्यसलाई अफलाइन गरिएको थियो भने त्यसपछि थप आक्रमण भएको कुनै प्रमाण नभेटिएको जनाइएको छ । 

संसदलाई पठाइएको पत्र अनुसार चीन सरकार संरक्षित ह्याकरले बियोन्ड ट्रस्टको एउटा प्रमुख सेक्युरिटी की (key) मा पहुँच पाएका थिए । जुन विक्रेताले क्लाउडमा आधारित सेवाको सुरक्षाका लागि प्रयोग गर्ने गरेको थियो । यो सेवा मन्त्रालयको ‘कोष विभाग’ (Treasury Department) कार्यालयका प्रयोगकर्तालाई प्राविधिक सहयोग दिने उद्देश्यले प्रयोग हुन्थ्यो । उक्त की चोरेर ह्याकरले सो सेवाको सुरक्षा प्रबन्धलाई छलेर कोष विभागका प्रयोगकर्ताको कम्प्युटरमा पहुँच पाएको जनाइएको छ । 

यस मार्फत ती ह्याकरहरूले कार्यालयका प्रयोगकर्ताले राखेका केही संवेदनशील कागजात चोरी गरेको आरोप लगाइएको छ । विभागलाई यसअघि नै ८ डिसेम्बरमा बियोन्ड ट्रस्टले आक्रमणबारे जानकारी दिएको थियो । 

चिनियाँ ह्याकरले यसै महिना अमेरिकाका तीन ठुला टेलिकम कम्पनीको सिस्टम ह्याक गरेको घटनापछि यो अर्को हमला भएको हो । ‘साल्ट टाइफुन’ भनिने उक्त घटनामा ह्याकरहरूले सांसदहरूको टेलिफोन कुराकानी र टेक्स्ट मेसेजमा पहुँच पाएको दाबी गरिएको छ । सांसदले यस ह्याकिङ घटनाको चर्को आलोचना गरेका छन् ।

बियोन्ड ट्रस्टले दिएको जानकारीपछि ‘कोष विभाग’ले साइबर सुरक्षा तथा पूर्वाधार सुरक्षा एजेन्सी (सीआईसीए), सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) र तेस्रो पक्षका फरेन्सिक अनुसन्धानकर्तासँग सम्पर्क गरेर घटनाको प्रभाव पत्ता लगाउने काम थालेको द गार्डियनले उल्लेख गरेको छ । 

प्रारम्भिक चरणमा यस आक्रमणले कति असर पारेको छ भन्ने विषयको जानकारी आइसकेको छैन । कोष विभागले थप विवरण ३० दिनभित्र एक पूरक प्रतिवेदनमार्फत उपलब्ध गराइसक्नु पर्ने बताइएको छ । “हाम्रा प्रणाली र यसले राख्ने डेटा विरुद्धका सबै खाले खतरालाई कोष विभागले गम्भीरताका साथ लिएको छ,” कोष विभागका प्रवक्ताले भनेका छन्, “पछिल्लो चार वर्षमा कोष विभागले आफ्नो साइबर सुरक्षामा उल्लेखनीय सुधार गरेको छ । र हामी निजी तथा सार्वजनिक क्षेत्रका साझेदारहरूसँग मिलेर हाम्रो वित्तीय प्रणालीलाई खतराबाट जोगाउन निरन्तर काम गरिरहनेछौँ ।”

बियोन्ड ट्रस्टले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार हालैको सुरक्षा घटनामा यसको रिमोट सपोर्ट सफ्टवेयरका सीमित ग्राहकहरू प्रभावित भएका थिए । वाशिङटन स्थित चिनियाँ दूतावासका प्रवक्ताले यस ह्याकिङको घटनामा चीनको कुनै संलग्नता नभएको दाबी गर्दै जिम्मेवारी लिन अस्वीकार गरेका छन् । रोयटर्सलाई जवाफ दिँदै उनले भनेका छन्, “बेइजिङले तथ्यगत आधार बिना चीनलाई दोष लगाउने अमेरिकी दुष्प्रचारको कडा विरोध गर्दछ ।”

पछिल्लो अध्यावधिक: पुस १६, २०८१ १३:२६