close

ट्रम्पको होटेलबाहिर एलन मस्कको साइबरट्रक विस्फोट, आतङ्कवादी हमलाको आशंका

टेकपाना टेकपाना

पुस १८, २०८१ १०:४०

ट्रम्पको होटेलबाहिर एलन मस्कको साइबरट्रक विस्फोट, आतङ्कवादी हमलाको आशंका

काठमाडौं । विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको साइबरट्रक विस्फोट हुँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । बुधबार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको लस भेगासस्थित होटल बाहिर टेस्लाको साइबर ट्रक विस्फोट भएको हो । 

सीएनएनले घटनाबारे अनुसन्धान गरिरहेका एक अधिकृतलाई उद्धृत गर्दै विस्फोट भएको साइबरट्रकमा आतिशबाजी, ग्यास ट्यांक र क्याम्पिङ फ्युलहरू प्रयोग गरिएको उल्लेख गरेको छ । यो चालकद्वारा नियन्त्रण गरिने विस्फोट प्रणालीसँग जोडिएको हुनसक्ने अनुमान गरिएको छ । 

लस भेगास एफबीआई कार्यालयका कार्यवाहक विशेष एजेन्ट जिम्मी श्वार्ट्जले बुधबार बताए अनुसार एफबीआई यो घटना आतङ्कवादी कार्य हो वा कि होइन भन्ने पत्ता लगाउन प्रयासरत छ । प्रारम्भिक अनुसन्धानले यो एक एकल घटना भएको र सर्वसाधारणलाई थप खतरा नरहेको संकेत गरेको उनले उल्लेख गरे ।

बिहान ८:४० बजे होटलमा सवारी आगलागीको सूचना प्राप्त भएको र दमकलका टोली पुग्दा साइबरट्रक पूर्ण रूपमा आगोले जलेको अवस्थामा रहेको शेरिफ केभिन म्याकमहिलले बताए ।

साइबरट्रकभित्र एक व्यक्तिको शव भेटिएको छ । सीएनएनका अनुसार सो शव अनुसन्धानका लागि त्यहीँ राखिएको छ । विस्फोटका कारण सात जना घाइते भएका छन् । उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ ।

अनुसन्धान अनुसार ट्रक कोलोराडोबाट भाडामा लिइएको थियो र लस भेगास बिहान ७:३० मा आइपुगेको थियो । करिब एक घण्टा लस भेगास बुलेभार्डमा गाडी गुडाएपछि ट्रक ट्रम्प होटल अगाडि रोकिन पुग्यो र त्यसपछि केही सेकेन्डमै विस्फोट भयो ।

सिसिटिभी फुटेजमा ट्रकले विस्फोटभन्दा करिब एक घण्टा अगाडि होटलको वरिपरि गुडेको देखिएको छ । सोही समयमा ट्रक फर्किएर होटल अगाडि रोकिन्छ र केही सेकेन्डपछि विस्फोट हुन्छ ।

सामाजिक सञ्जालमा शेयर गरिएको भिडिओमा ट्रक धुवाँले ढाकिएको र दमकल टोलीले पानीले निभाएको दृश्य देखिन्छ । प्रहरीले पत्रकार सम्मेलनमा देखाएको फुटेजमा ट्रकको बेडमा जलेको ग्यासोलिन कन्टेनर र आतिशबाजीका मोर्टारहरू देखिएका छन् ।

प्रहरीले ट्रक भाडामा कसले लिएको भन्ने थाहा पाएको भए पनि गाडीभित्रको व्यक्ति पहिचान नभएसम्म नाम सार्वजनिक नगर्ने बताएका छन् ।

शेरिफ म्याकमहिलले भने, “यो साइबरट्रक भएकोले विस्फोटको अधिकांश पावर माथि उड्यो र पार्किङ क्षेत्रमा धेरै क्षति हुन पाएन ।” 

उनले एलन मस्कलाई विशेष धन्यवाद दिंदै भने, “मस्कले हाम्रो अनुसन्धानमा सहयोग गर्न प्रत्यक्ष रूपमा टेस्लाका चार्जिङ स्टेसनहरूको भिडियो उपलब्ध गराएका छन् ।”

प्रहरीका अनुसार ट्रक टुरो (Turo) नामक कार रेन्टल कम्पनीमार्फत भाडामा लिइएको थियो । म्याकमहिलले यो संयोगवश भएको र यस्तै ट्रकले न्यू अर्लिन्समा भिडमा गाडी ठोक्काएको घटना पनि टुरोमार्फत भाडामा लिइएको ट्रक भएको बताए ।

नेभाडाका गभर्नर जो लोम्बार्डोले आफ्नो कार्यालयले अनुसन्धानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउने उल्लेख गरेका छन् ।

टेस्लाका मालिक एलन मस्कले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “विस्फोट साइबरट्रकको कारण होइन बरु ट्रकको बेडमा राखिएका ठूलो आतिशबाजी वा बमका कारण भएको हो भन्ने अनुसन्धानले पुष्टि गरिसकेको छ ।”

उनले साइबर ट्रक आन्तरिक समस्याले नभई आतङ्कवादी गतिविधिका कारण विस्फोट भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल एक्समा साइबर ट्रक विस्फोट भएको घटना शेयर गर्दै मस्कले सञ्चार माध्यमले साइबर ट्रकलाई लिएर भ्रामक समाचार राखिरहेको दाबी गरेका छन् ।

अमेरिका नवनिर्वाचित राष्ट्रपति ट्रमको होटेल बाहिरको घटना, त्यसैमा ट्रम्पलाई जिताउन महत्त्वपूर्ण भूमिका खेल्ने मस्कको कम्पनीको कार भएकाले यो घटना विश्वव्यापी रूपमा चासोको विषय बनेको छ ।

-सीएनएनको सहयोगमा

पछिल्लो अध्यावधिक: पुस १८, २०८१ १०:४०