काठमाडौं । साओमीले नेपाली बजारमा रेड्मी नोट १४ सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आउँदो साता नेपाली बजारमा यो सिरिज उपलब्ध गराउने तयारी गरेको हो ।
यसअघि सेप्टेम्बरमा चीनमा र डिसेम्बरमा भारतमा रेड्मी नोट १४ सिरिज सार्वजनिक भइसकेको छ । कम्पनीले आउँदो शुक्रबार अर्थात् जनवरी १० मा ग्लबल लन्च कार्यक्रम राखेकाले नेपालमा पनि सोही दिनदेखि उपलब्ध हुने अनुमान छ ।
साओमी नेपालले पनि सामाजिक सञ्जालमा रेड्मी नोट १४ सिरिज चाँडै सार्वजनिक हुने जनाउ दिइसकेको छ । सो अवसरमा नेपाली बजारमा रेड्मी नोट १४, नोट १४ प्रो र नोट १४ प्रो प्लसं गरी कम्तीमा तीन मोडेल सार्वजनिक हुने अनुमान छ ।
सामान्यतया साओमीका इभेन्टहरूमा स्मार्टफोनसँगै विभिन्न स्मार्ट एक्सेसोरी पनि सार्वजनिक गरिन्छ । यसपटक रेड्मी नोट १४ सिरिजसँगै रेड्मी बड्स ६ प्रो र रेड्मी वाच ५ जस्ता वेयरेबल्स पनि प्रस्तुत हुने अपेक्षा छ ।
नेपाली बजारमा रेड्मी नोट १४ सिरिजको मूल्य र कलर भेरियन्टबारे जानकारी आउन बाँकी नै छ । भारतमा रेड्मी नोट १४ सिरिजको सुरुवाती मूल्य १७ हजार भारु छ भने अधिकतम मूल्य करिब ४० हजार भारु निर्धारण गरिएको छ ।