close

डेटिङ एपमा ‘मङ्की म्यान’ प्रति किन आकर्षित हुँदैछन् चिनियाँ युवती ?

टेकपाना टेकपाना

पुस २८, २०८१ १९:१३

डेटिङ एपमा ‘मङ्की म्यान’ प्रति किन आकर्षित हुँदैछन् चिनियाँ युवती ?

काठमाडौं । चीनमा हरेक वर्ष विवाह गर्ने जोडीहरूको संख्या घटिरहेको छ । सन् २०२४ को पहिलो तीन त्रैमासमा ४७ लाख विवाहको रेकर्ड गरिएको छ, जुन २०२३ को सोही अवधिको तुलनामा १६.६ प्रतिशतले कम हो ।

विवाहमा चिनियाँ युवाहरूको चासो कम हुँदै गएपनि डेटिङमा भने सक्रियता नघटेको चिनियाँ डेटिङ वेबसाइट जियायुआन दाबी गर्छ । उक्त वेबसाइटका अनुसार चिनियाँ युवतीहरूमा ‘मङ्की-लुकिङ म्यान’ निकै चर्चित छन् ।

चर्चित फिल्म लेजेन्ड अफ सन वुकोङ, मङ्की किङको प्रमुख बाँदर पात्रजस्तो चलाख र हास्यरसले भरिएका पुरुषहरूलाई युवतीहरूले बढी रुचाउने गरेका छन् ।

सोसल मिडियामा पुष्ट शरीर र ठूला आँखा भएका सेलिब्रेटीहरू बढी आकर्षक हुने गरेको भन्दै चर्चा हुने गरेको छ । सफल चिनियाँ अभिनेता वु लेई, अभिनेता एवम् गायक वाङ्ग हेडी, टक शो कलाकार फु ह्याङ जस्ता शरीरको बनावट भएका पुरुषलाई ‘मङ्की-लुकिङ म्यान’ भएको भन्दै चर्चा हुने गरेको छ ।

“मङ्की म्यानहरू हँसिलो हुने भएकाले त्यति गम्भीर नदेखिन सक्छन् । तर, चाहिएको बेला उनीहरू भरपर्दो साथी हुन्छन्,” चीनको चर्चित सोसल मिडिया प्लेटफर्म वेबोमा एक युवती लेख्छिन् । यस्ता पुरुषहरू उज्याला र उर्जावान देखिने गरेका छन् । साथै, उनीहरू सबैसँग घुलमिल हुने, कोमल मन भएका र बौद्धिक हुन्छन् ।

“उनीहरू जीवनमा सिरियस नहुने होइन । तर, उनीहरू सकारात्मक सोच राख्छन् । यस्ता पुरुषहरूसँग रहँदा म पनि बढी खुसी हुने गर्छु,” अर्की एक युवती लेख्छिन् ।

सांघाईकी २४ वर्षीय एक युवतीले चिनियाँ मिडियासँग आफ्नो प्रेमी मङ्की-म्यान भएको दाबी गर्छिन् । उनका प्रेमीले अक्सर उनलाई हँसाउँछन् भने आवश्यक परेको बेलामा गम्भीर पनि हुन्छन् । पछिल्लो समय नयाँ फ्ल्याटमा सर्दा सम्पूर्ण काम प्रेमीले सम्हालेको सुनाउँदै उनले आफ्नो प्रेमी मङ्की-म्यान भएको बताइन् ।

बेइजिङकी एक महिलाले आफू धेरै ब्लाइन्ड डेटमा जाँदा एउटा पनि पुरुष मन नपरेको, तर आफूलाई हँसाउन सक्ने पुरुष भेटेपछि उसैलाई डेट गरेको अनुभव साझा गर्छिन् ।

मङ्की-म्यानको पारिवारिक पृष्ठभूमि राम्रो हुने कतिपयले टिप्पणीसमेत गरेका छन् । कतिपयले पछिल्लो समयमा पैसा र वर्गभन्दा पनि मानिसहरू भावनात्मक र गुणस्तरीय जीवन बाँच्न चाहेकाले मङ्की-म्यान चर्चित भएको टिप्पणी गर्छन् ।

तर, सामाजिक सञ्जालमा युवकहरूको भने अनुभव फरक छ । एक युवकले भने, “स्वस्थ र आकर्षक व्यक्तिलाई सबैले मन पराउने भएकाले मङ्की म्यान चर्चित हुनु नौलो होइन ।’ अर्का एक पुरुष भन्छन्, ‘हामी केटाहरू कुनै पनि लेभल भिर्न तयार छैनौँ ।”

चिनियाँ अभिनेता वु लेई

पछिल्लो अध्यावधिक: पुस २८, २०८१ १९:२०