close

राष्ट्रिय परिचयपत्रको डेटा ह्याक हुँदैन: गृहमन्त्री लेखक

टेकपाना टेकपाना

माघ ५, २०८१ १७:२८

राष्ट्रिय परिचयपत्रको डेटा ह्याक हुँदैन: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्रको डेटा ह्याक नहुने दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित विषयमा आयोजना गरेको छलफलमा गृहमन्त्री लेखकले सरकार नागरिकको डेटाको सुरक्षामा गम्भीर रहेको भन्दै डेटा दुरुपयोग हुन नदिने स्पष्ट पारे ।

गृहमन्त्री लेखकले भने, “राष्ट्रिय परिचयपत्रको डेटाको सुरक्षा एउटा गम्भीर विषय हो । डेटा ह्याक हुने वा दुरुपयोग हुने विषयमा उठेका आशङ्कालाई सरकारले गम्भीरतापूर्वक लिएको छ । सुरक्षाका लागि भरपर्दो व्यवस्था गरिनेछ ।”

उनले राज्यलाई नागरिकको डेटा राख्ने अधिकार रहेको उल्लेख गर्दै भने, “राज्यले नागरिकको नाम, ठेगाना, पारिवारिक जानकारी, व्यवसाय, आम्दानी, खर्चजस्ता विषयहरूको विवरण राख्नुपर्छ । तर, यी विवरणहरूको दुरुपयोग हुन नदिन सरकार प्रतिबद्ध छ ।”

गृहमन्त्री लेखकले डेटा दुरुपयोग रोक्न सरकार जिम्मेवार रहेको दोहोर्याए । उनले थपे, “कुनै व्यक्तिको गोपनीयता विरुद्ध यी डेटा प्रयोग हुँदैनन् । सरकार यस विषयमा अत्यन्त ध्यान दिन तयार छ ।”

परिचयपत्रको महत्त्वबारे चर्चा गर्दै उनले यो परिचयपत्रले नागरिकलाई सरकारी सेवा प्राप्तिमा सहजता प्रदान गर्ने, अपराध नियन्त्रण गर्ने र सामाजिक सुरक्षाका कार्यक्रमलाई व्यवस्थित बनाउने बताए ।

साथै, उनले यो परिचयपत्र सम्पत्ति शुद्धीकरण नियन्त्रणमा पनि उपयोगी हुने उल्लेख गरे । परिचयपत्र अनिवार्य बनाउने वा नबनाउने निर्णय गम्भीरतापूर्वक लिइने उनको भनाइ छ ।

गृहमन्त्री लेखकले भने, “यदि यसलाई अनिवार्य नगरिए यसको वितरण प्रभावकारी हुँदैन । तर अनिवार्य गर्दा कतिपय नागरिकलाई असुविधा हुनसक्छ । त्यसैले सरकारले यस विषयमा सन्तुलित निर्णय लिनेछ ।”

पछिल्लो अध्यावधिक: माघ ५, २०८१ १९:२१