close

कस्तो छ सामसङ एस २५ अल्ट्रा ? खरिद गर्नुअघि थाहा पाउनुहोस् यी कुरा

टेकपाना टेकपाना

माघ १०, २०८१ ११:६

कस्तो छ सामसङ एस २५ अल्ट्रा ? खरिद गर्नुअघि थाहा पाउनुहोस् यी कुरा

काठमाडौं । सामसङले बुधबार राति ग्यालेक्सी अनप्याक्ड इभेन्टमा बहुप्रतिक्षित एस २५ सिरिज सार्वजनिक गरेको छ । एप्पलको आईफोन १६ लाई टक्कर दिनेगरी सामसङले नयाँ सिरिजमा के नयाँ परिवर्तन ल्याउँछ भन्ने विषयलाई धेरै चासोका साथ हरिएको थियो । जसरी आईफोन १६ मा एप्पलले क्यामेरा क्याप्चर बटन थपेर हार्डवेयर परिवर्तन ल्यायो, त्यस्तै ठूलो हार्डवेयर परिवर्तन एस २५ सिरिजमा आउने अपेक्षा गरिएको थियो ।

तर, सामसङ यस वर्ष हार्डवेयरभन्दा सफ्टवेयरमा केन्द्रित भएको देखिन्छ । यसमा देखिने परिवर्तन भएको यसको कुना हो । अघिल्ला फ्ल्यागशिप सिरिजमा कुना तिखो थिए । तर, त्यसले फोन हातमा लिएर एउटा हातले चलाउँदा हात दुखाउने समस्या निम्त्याएको थियो । त्यसैलाई समाधान गर्न कम्पनीले एस २५ सिरिजको कुनालाई गोलाकार बनाएको छ । 

यहाँ एस २५ अल्ट्राका बारेमा  विशेष चर्चा गरिएको छ:

सबैभन्दा पहिले डिजाइनबाट सुरु गरौँ । यो यस सिरिजको एकदमै ठूलो सुधार हो । एस २५ अल्ट्रा एस २४ अल्ट्रा भन्दा १५ ग्राम हल्का छ । यो ०.४ एमएम पातलो छ जसले यसलाई सामसङले बनाएको सबैभन्दा पातलो अल्ट्रा फोन बनाएको छ । यसमा नयाँ कम्प्याक्टेड आणविक संरचनाको कारणले बलियो टाइटेनियमको बडी छ र अगाडि २९ प्रतिशत बलियो गोरिल्ला ग्लास आर्मर टु रहेको छ । सामसङले गत वर्ष गोरिल्ला ग्लास आर्मर पहिलो पटक ल्याएको थियो । त्यसैका कारण मर्मतका लागि आउने नयाँ फोनको स्क्रिनमा औसतमा ६० प्रतिशत कम क्षति देखिएको कम्पनीले जनाएको छ । त्यसैले यस आर्मरमा थप २९ प्रतिशत सुधार हुनु राम्रो पक्ष हो ।

सामसङले यसको कलर भेरियन्ट रोचक बनाउने प्रयास गरेको देखिन्छ । जस्तै मुख्य कलर भेरियन्टलाई टाइटेनियम सिल्भर ब्लु र टाइटेनियम ह्वाइट सिल्भर नाम दिइएको छ । तर वास्तविकतामा यो खैरो रङ हो । साथै कम्पनीले पछाडिको भागमा मात्र कलर लगाएको छ, छेउमा लगाएको छैन । यसले गर्दा यो फोन हेर्दा रङ नमिल्ने गाडीको ढोका जस्तो देखिन्छ । कलरलाई छोडेर यसको डिजाइनको कुरा गर्ने हो भने यो बढी आकर्षक छ । सामसङले पाँच वर्षपछि बल्ल फोनको कुना गोलो बनाएको छ । यो एकदमै आवश्यक समाधान थियो र यसले फोनलाई मानिसहरूका लागि अझ उपयुक्त बनाएको छ ।

यस मोडेलमा बेजल अझै सानो बनाइएको छ । कम्पनीका अनुसार एस २५ अल्ट्रामा एस २४ अल्ट्राको भन्दा १५ प्रतिशत सानो बेजल्स छ । यो सानो सुधार भए पनि फोनका लागि खास अर्थ बोकेको छ । यसकै कारण प्रयोगकर्ता पातलो, हल्का र कम दुख्ने फोनमा अलि ठूलो स्क्रिन पाउँदैछन् । यसअघिको अल्ट्रा मोडेलमा ६.८ इन्चको स्क्रिन थियो भने नयाँ अल्ट्रा मोडेलमा स्क्रिन साइज बढाएर ६.९ बनाएको छ ।

अब सफ्टवेयरको चर्चा गरौं: गत वर्ष एस २४ अल्ट्राको सबैभन्दा प्रभावशाली विशेषता त्यसको हार्डवेयर नभएर सामसङले आफ्नो वन यूआई एन्ड्रोइड स्किनलाई अपग्रेड गरेको थियो । यो एकदमै आधुनिक देखिएको थियो । र यस वर्ष पनि कम्पनीले त्यस्तै ठूलो सुधार गरेको छ । एस २५ सामसङको पछिल्लो वनयूआई सेभेनसँग आउँछ । 

सफ्टवेयर भएसँगै अब एस २५ अल्ट्रामा आफ्नो विजेटहरूसँग जे पनि गर्न सक्नुहुन्छ । तपाईँको क्विक सेटिङ अब व्यवस्थित देखिन्छन् र यसलाई आफूखुसी मिलाउन पनि सकिन्छ । यसमा ७ वर्षसम्मको एन्ड्रोइड अपडेटहरू आउने । त्यसैले यो एन्ड्रोइड २२ सम्म अपडेट हुनेछ, जुन धेरै लामो समय हो । वनयूआई सेभेनले नयाँ एआई फिचरमा पनि ठूलो भूमिका खेल्छ ।

गत वर्षको फोनसँगै सामसङले स्मार्टफोन एआईको लागि नयाँ मापदण्ड स्थापित गरेको थियो । यस फोनको एआई सुइट, अहिले सुरुवाती दिनहरू भए पनि, २०२४ मा रिलिज भएका अन्य फोनहरू भन्दा अगाडि छ । एस २५ ले गर्न सक्ने कुराहरू हेर्दा, यो क्रम जारी रहने सम्भावना धेरै छ । पहिलो हो क्रस एप एक्सन । यसको मतलब तपाईँले अब पावर बटन थिचेर दुई फरक एपहरूमा काम गर्न सक्नुहुन्छ । 

उदाहरणका लागि तपाईंलाई मन पर्ने कलाकारको कन्सर्ट कहिले छ भनेर सोध्नुहोस्, र यसलाई आफ्नो क्यालेन्डरमा थप्नुहोस्, र यसले अनलाइन सर्च गर्छ । र, यसले तपाईँले खोजेको विवरण फेला पार्छ । त्यसपछि यसले तपाईँलाई चाहिने जानकारी मात्र निकाल्छ र त्यो जानकारीलाई क्यालेन्डरमा राख्छ । यो गुगलको फिचर भएकाले अन्य एन्ड्रोइड फोनहरूमा पनि आउने अपेक्षा गरिएको छ । तर सामसङले गुगलसँग मिलेर काम गरेकाले सामसङका एपहरू जस्तै सामसङ नोटलाई पनि यसले नियन्त्रण गर्न सक्ने बनाइएको छ । 

एस २४ मा स्मार्ट सेलेक्ट फिचर थियो जसले तपाईँलाई स्क्रिनको एक भागमा ट्याप गर्न दिन्थ्यो र फोनले त्यसलाई मात्र हाइलाइट गर्थ्यो । यो एक प्रकारको इन्टेलिजेन्ट स्क्रिनसट जस्तै थियो । एस २५ सिरिजसँगै अब तपाईँसँग एआई सेलेक्ट फिचर पनि छ जसलाई स्क्रिनमा ट्याप गर्न पनि पर्दैन । र यसले तपाईँले हेरिरहनुभएको कुरालाई तुरुन्तै रूपान्तरण गर्न सक्छ । अनि अरू कसैलाई पठाउनका लागि तयार हुन्छ । त्यसका लागि तपाईँले ड्रइङ असिस्टमा ट्याप गर्न सक्नुहुन्छ । 

तपाईँले स्क्रिनमा चलिरहेको भिडिओलाई सजिलैसँग शेयर गर्न जीआईएफ (GIF) मा परिणत गर्न सक्नुहुन्छ । तपाईँले टेक्स्ट गर्दा उपयुक्त हुने स्टिकर यसैबाट बनाउन सक्नुहुन्छ । सामसङको असिस्टेन्ट टुल बिक्सबीले अब धेरै प्राकृतिक भाषा बुझ्न सक्ने भएको छ । यसले फोनलाई एउटा असिस्टेन्टका रूपमा बुझ्न मद्दत गर्छ । सर्कल टु सर्च अर्को फिचर हो जुन गत वर्ष आएको थियो । अब यसलाई तपाईँले फोनमा हेरिरहनुभएको भिडिओको पृष्ठभूमिमा बजिरहेको म्युजिक पत्ता लगाउन पनि प्रयोग गर्न सक्नुहुन्छ । यो शाजाम जस्तो एपले गर्ने काम जस्तै हो तर यसलाई एकै ठाउँमा पाउनु राम्रो फिचर हो ।

तपाईँ कसैलाई फोन गर्नुहुन्छ भने तपाईँले त्यो कल रेकर्ड गर्न सक्नुहुन्छ । तपाईँले त्यो कलको पूर्ण ट्रान्सक्रिप्सन टेक्स्ट ढाँचामा पाउन सक्नुहुन्छ । र तपाईँले त्यो कुराकानीमा विशेष जानकारी खोज्न वा एआई प्रयोग गरेर सारांश बनाउन पनि सक्नुहुन्छ । ब्राउजरमा एउटा नयाँ विकल्प छ जसमा फोनले एआई प्रयोग गरेर पेजको सारांश दिन्छ र एआईले त्यो सारांशलाई पढेर सुनाउँछ ।

फोटोका लागि जेनेरेटिभ एडिट अझै छिटो र स्तरीय भएको छ । यसले फोटोमा भएका अनावश्यक चीज हटाउन र बाँकी खाली ठाउँ भर्न सक्छ ताकि त्यहाँ केही थियो भनेर पनि थाहा नहोस् । सामसङसँग ड्रइङ असिस्ट भन्ने फिचर छ जहाँ तपाईँले चित्रहरू बनाउन सक्नुहुन्छ । यसलाई अपग्रेड गरिएको छ र अब तपाईँले आफ्नो फोटो, स्टाइलसले बनाएको चित्र र शब्द मिलाएर अन्तिम तस्वीर बनाउन सक्नुहुन्छ ।

एआईको तेस्रो खम्बा भनेको एस २५ मा रहेको एआई पर्सनल हो । यस फिचरको सहायताले तपाईँको फोनले तपाईँको ईमेल, रिमाइन्डर, ब्राउजिङ हिस्ट्रीमा जे पनि भइरहेको छ त्यो सबै पढ्न सक्छ । र यसले त्यो जानकारी प्रयोग गरेर तपाईँलाई अझ राम्रो सेवा दिन सक्छ । उदाहरणका लागि तपाईँको ईमेलमा एउटा कुपन छ जुन चाँडै एक्सपायर हुँदैछ भने यस फिचरले त्यसलाई देख्न सक्छ र त्यसका लागि तपाईँलाई सूचना पठाउन सक्छ । वा, तपाईँले एयरपोर्ट जानु पर्ने छ भनेर पनि थाहा पाउन सक्छ र तपाईँलाई ट्राफिक धेरै भएकोले अब जानुपर्छ भनेर बताउन सक्छ । यसलाई लक स्क्रिनमा रहेको नयाँ ‘नाउ बार’मा पनि हेर्न सकिन्छ । यसले तपाईँको चलिरहेको गतिविधिहरू देखाउँछ र तपाईँले गुगलमा खोजेका कुराहरूबाट तपाईँलाई मन पर्ने खेलको जानकारी पनि देखाउँछ । यो कसरी काम गर्छ त्यो हेर्न बाँकी नै छ ।

ग्यालेक्सी एआई २०२५ को अन्त्यसम्म मात्र नि:शुल्क हुने बताइएको छ । त्यसपछि यसको लागि शुल्क लाग्नेछ । तर शुल्क कति लाग्छ भन्ने कुरा अझै खुलाइएको छैन । फोनमै हुने एआई कामहरू निःशुल्क हुने र क्लाउडमा हुने कामहरूका लागि शुल्क लाग्ने अनुमान गरिएको छ । तर यदि त्यसो हो भने धेरै राम्रा एआई फिचर पैसा तिरेर मात्र प्रयोग गर्न पाइनेछ । यसैले सामसङले एआईमा धेरै लगानी गरिरहेको छ । उनीहरूले एआईलाई आफ्नो भविष्यको आम्दानीको रूपमा हेरिरहेका छन् ।

अब एस २५ अल्ट्राको हार्डवेयरको कुरा गरौं । यदि तपाईँले यो फोन किन्नुभयो भने, तपाईँले वास्तवमा के पाउनुहुन्छ ? सामसङ ग्यालेक्सी एस २४ अल्ट्राको स्क्रिनले सबैभन्दा बढी चर्चा पाएको थियो । हुन त सबै फ्ल्यागशिप फोनको विशेषता नै स्क्रिन हो । तर सामसङको स्क्रिनमा दुई कुराहरू विशेष छन्: एक टिकाउपन, जुन अहिले सुधार भएको छ । दोस्रो हो यसमा रहेको एन्टी-रिफ्लेक्टिभ कोटिङ । यो कोटिङले स्क्रिनको रिफ्लेक्सनलाई ५० प्रतिशतले घटाउँछ, जसले गर्दा स्क्रिन धेरै स्पष्ट देखिन्छ । एस २५ अल्ट्रामा यो कोटिङलाई अझै सुधार गरिएको छ । यो गत वर्षको जस्तो ठूलो सुधार त होइन तर यसले सामसङको डिस्प्लेलाई अझै राम्रो बनाएको छ । यसमा नयाँ होप थ्री डिस्प्ले टेक्नोलोजी पनि छ । कसैले पनि यसलाई पहिले प्रयोग गरेका छैनन् । तर सामसङले यसलाई जादुयी चीज जस्तो बताएको छ । यसले टच रेस्पोन्स रेट, इमेज क्वालिटी र स्क्रिनको ब्याट्री क्षमतालाई बढाउने बताइएको छ ।

फोनमा ५,००० एमएएचको ब्याट्री छ जुन पहिले जस्तै हो । तर सामसङका अनुसार दक्षतामा सुधारका कारणले तपाईँले गत वर्षको फोनभन्दा एक घण्टा बढी भिडिओ हेर्न सक्नुहुन्छ । पातलो डिजाइन, पातलो बेजेल र एस पेन पनि भित्र अट्नुपर्ने भएकाले ब्याट्रीलाई ठूलो नबनाउनु उचित हो । तर, यो वर्ष फोनको ब्याट्री क्षमता बढ्नेछ भन्ने अपेक्षा फोन रिभ्युअरहरूले गरेका थिए । सामसङ गत वर्ष ब्याट्रीको मामलामा सबैभन्दा अगाडि थियो । तर यस वर्ष यो अगाडि रहनेमा शंका छ ।

त्यसैगरी यो फोनमा म्याग्नेटिक चार्जिङ छैन । एप्पलले सन् २०२० देखि नै यो फिचर प्रयोग गरिरहेको छ । यदि तपाईँले वायरलेस चार्जिङ गर्नुहुन्छ भने, यो धेरै राम्रो हुन्छ किनभने यसले तपाईँलाई फोनलाई छेउमा राख्न र वायरलेस चार्जिङको दक्षता बढाउन मद्दत गर्छ । तर, टौरस ओस्ट्यान्ड ३६० केसले फोनलाई त्यो क्षमता दिन्छ, जसले नयाँ एक्सेसरीजहरू प्रयोग गर्न सजिलो बनाउँछ । 

एस २५ अल्ट्राको पर्फमेन्सको बारेमा कुरा गर्दा यसमा १२ जीबीको र्‍याम छ र स्न्यापड्रागन ८ एलिट ४ ग्यालेक्सी चिप छ । यो चिप गत वर्षको तुलनामा ३० देखि ४० प्रतिशत छिटो छ । एन्ड्रोइडले एप्पललाई पर्फमेन्सको मामलामा पछाडि पारेको धेरै समय भइसकेको थियो तर अब यो ट्र्याकमा आएको छ । तर केही डिभाइसमा यो चिपले तापक्रमको समस्या दिएको थियो । त्यसैले सामसङले यस फोनमा ४० प्रतिशत ठूलो वाष्प च्याम्बर र नयाँ थर्मल इन्टरफेस सामग्री प्रयोग गरेको छ । यसले समस्या समाधान गर्छ कि गर्दैन त्यो हेर्न बाँकी नै छ । 

सामसङले चिप निर्मातासँग मिलेर दुई ओटा थप फिचर थपेको छ । प्रोस्केलरले एआई प्रयोग गरेर तपाईँले स्क्रिनमा हेरिरहनुभएको कुरालाई राम्रो बनाउँछ । यदि कुनै कुरा कम रिजोल्युसनमा छ भने चिपले त्यसलाई आफैं अपस्केल गर्नेछ । यो सामसङको एट के टिभीमा प्रयोग हुने प्रविधि जस्तै हो । चिपलाई सामसङको फोनमा कम प्रकाशमा राम्रो फोटो खिच्नका लागि पनि ट्युन गरिएको छ ।

अब क्यामेराको बारेमा कुरा गरौं । सबैभन्दा ठूलो परिवर्तन भनेको १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरालाई ५० मेगापिक्सेलमा अपग्रेड गरिएको छ । अन्य फोनहरूले यो तीन वर्षअघि नै गरिसकेका थिए । तर यो राम्रो कुरा हो किनकि अल्ट्रावाइड क्यामेरा सामसङको क्यामेरा प्रणालीको कमजोर पक्ष थियो । अब यसलाई अपग्रेड गर्दा अल्ट्रावाइड शटहरू मात्र राम्रो हुँदैनन्, क्लोज-अप म्याक्रो शटहरू पनि धेरै राम्रो आउँछन् । किनभने यसले एउटै क्यामेरा प्रयोग गर्छ । सामसङका अनुसार क्यामेरामा त्यति धेरै परिवर्तन गरेको छैन । उनीहरूले आफ्नो सफ्टवेयर, प्रो भिजुअल इन्जिनलाई अपग्रेड गरेका छन् । जसको कारणले पहिलेभन्दा छिटो फोटो खिच्न र राम्रो गुणस्तरको फोटो खिच्न सकिन्छ । यसले जुम गर्दा पनि राम्रो काम गर्छ ।

सेल्फीको लागि पनि एउटा नयाँ एआई हाई इमेज सिग्नल प्रोसेसर छ । बेस्ट फेस फिचरले मोसन फोटोलाई अन राखेर फोटो खिचिसकेपछि पनि तपाईँले पछाडि गएर त्यसलाई बुमेराङ वा स्लो मोसन क्लिप बनाउन सक्नुहुन्छ र फोनले एआई प्रयोग गरेर सबैभन्दा राम्रो अनुहार छान्छ । यो फिचर हामीले पहिले पनि देखेका छौं तर यसले पहिले खिचेको नराम्रो फोटोलाई पनि राम्रो बनाउन सक्छ । सामसङले स्न्यापच्याट र इन्स्टाग्राम जस्ता सोसल मिडियासँग मिलेर ती एपहरूमा खिचिएका भिडिओको गुणस्तर बढाउने प्रयास गरिरहेको छ । 

फोनमा कम्पनीको पहिलो स्पेसल टेम्पोरल फिल्टर छ । यसले भिडिओ खिच्दा चलिरहेको र स्थिर वस्तुलाई फरक-फरक रूपमा व्यवहार गर्न मद्दत गर्छ । यसको मतलब फोनले चलिरहेको वस्तु धमिलो नदेखिने र स्थिर वस्तुहरू दानेदार (न्वाइज) नदेखिने कुरामा ध्यान दिन्छ । यो क्यामेराका लागि धेरै महत्त्वपूर्ण कुरा हो । यसका साथै तपाईँको भिडिओको आवाज पनि राम्रो हुन सक्छ । यसमा नयाँ अडियो इरेजर फिचर छ, जुन गुगल पिक्सेल फोनहरूमा पहिले नै थियो । यसले भिडिओमा भएका विभिन्न प्रकारका आवाज जस्तै हावाको आवाज वा कोठाको आवाज, पत्ता लगाउँछ र तपाईँलाई त्यसको स्तर मिलाउन दिन्छ । यसमा १० बिट एचडीआर भिडिओ रेकर्डिङ जस्ता नयाँ प्रो फिचरहरू पनि छन् । यो धेरै राम्रो छ तर यसले स्क्रिनलाई अनावश्यक रूपमा उज्यालो बनाउँछ । यसमा लग रेकर्डिङ जस्तो फिचर पनि छ, जसले तपाईँलाई भिडिओ एडिट गर्दा धेरै कलर प्रयोग गर्न दिन्छ ।

- टेक रिभ्युअर ‘मिस्टर हुज द बोस’को रिभ्युमा आधारित 

पछिल्लो अध्यावधिक: माघ १०, २०८१ ११:१८