काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा ऐच्छिक विषयका रूपमा सञ्चालन हुँदै आएको ‘कप्युटर विज्ञान’ को नयाँ पाठ्यक्रम तयार गरेको छ । यसअन्तर्गत कक्षा ९ को पाठ्यक्रममा कम्प्युटर सिस्टम, नम्बर सिस्टम, ब्लक प्रोगामिङ, वेब टेकनोलोजी, इन्टरनेट र सामाजिक सञ्जाल, साइबर सुरक्षा, पाइथन लगायतका विषयवस्तु समेटिएका छन् ।
त्यस्तै, कक्षा १० को कम्प्युटर विज्ञानमा कम्प्युटर नेटवर्क, डेटाबेस म्यानेजमेन्ट सिस्टम, मल्टिमिडिया, प्रोग्रामिङ इन पाइथन, एआई तथा कन्टेम्पोररी टेक्नोलोजी जस्ता विषयवस्तु समावेश भएका छन् ।
शैक्षिक सत्र २०८२ देखि कक्षा ९ र २०८३ देखि कक्षा १० मा नयाँ पाठ्यक्रम लागु गरिनेछ । यसअन्तर्गत कक्षा ९ को पाठ्यपुस्तकको छपाइको काम चलिरहेको पाठ्यक्रम निर्माण टोलीका सदस्य तथा पुस्तकका लेखक सुनिलकुमार घर्तीले जानकारी दिए ।
कक्षा ९ को पाठ्यपुस्तकलाई घर्तीसहित, विमल थापा, प्रतीकमान सिंह प्रधान, विनय अधिकारी, श्याम अधिकारी र लव देव भट्टले लेखेका हुन् ।
बदलिँदो समयमा विद्यार्थीलाई पुराना पाठ्यक्रमले धेरै कुरा सिकाउन नसकेकाले नयाँ पाठ्यक्रम तयार पारिएको घर्तीको भनाइ छ । उनका अनुसार ऐच्छिक विषयका रूपमा कम्प्युटर विषय अध्यापन सुरु भएयता पाठ्यक्रम परिमार्जन गरिए पनि पहिलोपटक पूर्णरूपमा परिवर्तन गरिएको हो ।
कक्षा ११ र १२ मा अध्ययनका लागि नयाँ पाठ्यक्रमले पुलको काम गर्ने बताइएको छ । “विद्यालयस्तरबाट नै कम्प्युटरसँग सम्बन्धित कुराहरू सिकाएर विद्यार्थीलाई भविष्यका लागि तयार पार्नुपर्छ भनेर नयाँ पाठ्यक्रम ल्याएका छौँ । अझ कम्प्युटर क्षेत्रमा धेरै राम्रो गर्नुछ भने कक्षा ५ देखि नै यस्ता पाठ्यक्रम ल्याउनुपर्छ ” घर्तीले टेकपानासँग भने ।
हेर्नुहोस् कक्षा ९ को कम्प्युटर विज्ञानको नयाँ पाठ्यक्रम