काठमाडौं – आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले ‘डिजिटल इनोभेसन इन एग्रिकल्चर एन्ड लजिस्टिक्स" (DIAL) एक्सिलेरेटर कार्यक्रम सुरू गरेको छ । नेपालका कृषि र ढुवानी क्षेत्रमा काम गर्ने सात आईटी एग्रिटेक र एग्रिलजिस्टिक्स स्टार्टअपलाई संस्थाले औपचारिक रूपमा समावेश गरेको हो ।
शुक्रबार होटल ले हिमालयमा आयोजित एक कार्यक्रममार्फत डायल कार्यक्रमको औपचारिक सुरुवात गरिएको छ । कार्यक्रममा डायल कार्यक्रमको संरचना, प्रमुख लक्ष्यहरू र स्टार्टअपहरूको वृद्धिमा सहयोग पुर्याउने स्रोतहरूको विषयमा जानकारी दिइएको थियो ।
कार्यक्रममा आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडका अध्यक्ष मनोज पौडेलले कार्यक्रमको भिजन प्रस्तुत गरे । “डायल एक्सिलेरेटर कार्यक्रमले व्यक्तिगत स्टार्टअपलाई मात्र समर्थन गर्दैन । यसले उद्यमशीलतामा बलियो बनाउने र नेपालको दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पुर्याउने नवप्रवर्तन सोचलाई प्रोत्साहन गर्छ,” उनले भने ।
यस्तै, एसडीसीकी राष्ट्रिय कार्यक्रम अधिकृत स्नेहा भट्टराईले नवप्रवर्तन र डिजिटलाइजेसनको महत्त्वलाई जोड दिँदै सहभागी स्टार्टअपहरूलाई यो अवसर सही सदुपयोग गर्न आग्रह गरिन् ।
कार्यक्रममार्फत आगामी महिनाबाट स्टार्टअपहरूले अनुभवी उद्योग विशेषज्ञहरूबाट परामर्श प्राप्त गर्नेछन् । उनीहरूलाई उत्पादन विकास र आवश्यक तालिमहरूमा सहभागी गराइनेछ ।
डायल कार्यक्रम स्विजरल्यान्ड सरकारद्वारा सञ्चालित स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोर्पोरेसन (SDC) को आर्थिक सहयोगमा सञ्चालन गरिएको हो । कार्यक्रमबाट नेपालको कृषि र ढुवानी क्षेत्रका चुनौती समाधान गर्न नयाँ र प्रभावकारी प्रविधिहरूको विकासलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ ।
कार्यक्रमअन्तर्गत दैलो कृषि, थोप्लो मेशिन्स प्राइभेट लिमिटेड, डा. फिश, आर एन्ड डी इनोभेटिभ सोलुसन्स, काठमाडौं लिभिङ ल्याब्स कन्सल्ट, प्लान्टसाट बाई सिड इनोभेसन्स र पिक एन्ड ड्रप प्राइभेट लिमिटेड छनोट भएका छन् ।