close

सामाजिक सञ्जाल विधेयकमा हर्क साम्पाङको कटाक्ष: सास फेर्दा कति जरिवाना तिर्नुपर्ला ?

टेकपाना टेकपाना

माघ १५, २०८१ १८:५३

सामाजिक सञ्जाल विधेयकमा हर्क साम्पाङको कटाक्ष: सास फेर्दा कति जरिवाना तिर्नुपर्ला ?

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘सामाजिक सञ्जाल नियमन विधेयक, २०८१’ प्रति कटाक्ष व्यक्त गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले सास फेर्दा कति जरिवाना तिर्नुपर्ला भन्ने प्रश्न उठाएका छन् ।

उनले लेखेका छन्, “सास फेर्दा कति जरिवाना तिर्नुपर्ला ? मैले आज १००००००००००० चोटि सास फेरें !” सामाजिक सञ्जालमा निकै व्यस्त हुने साम्पाङले विधेयकको विरोधमा सांकेतिक स्टाटस लेखेको अनुमान गरिएको छ ।

सोमबार मन्त्रिपरिषदले संसद्मा सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक दर्ता गरेको थियो । विधेयकमा सामाजिक सञ्जाल प्रयोगका क्रममा कसुर भएमा तीन महिनादेखि पाँच वर्षसम्मको कैद र ५० हजार देखि २५ लाख रूपैयाँसम्मको जरिवाना तोकिएको छ ।

सामाजिक सञ्जालमा अश्लील, मिथ्या वा भ्रामक जानकारी शेयर गर्न नहुने, जुनसुकै सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न नेपाल सरकारबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने, कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने कार्य गर्न नपाइने भन्दै विधेयकमा विभिन्न प्रावधान प्रस्ताव गरिएको छ ।

यस्तै, सामाजिक सञ्जालमार्फत कसैलाई सताउने, तर्साउने, धम्काउने, लज्जित गराउने, अपमान गर्ने वा अफवाह फैलाउने जस्ता कार्य गर्न नपाइने, साइबर स्टकिङ, ह्याकिङ, अश्लील, विभत्स सामग्री प्रकाशन गरेमा दण्ड र जरिवाना तोकिएको छ ।

विधेयकमा समावेश भएका विषयलाई कतिपयले स्वागत गरेका छन् भने कतिपयले अभिव्यक्ति स्वतन्त्रतामाथि चुनौतीको रूपमा विधेयकको आलोचना गरेका छन् ।

पछिल्लो अध्यावधिक: माघ १५, २०८१ १८:५३