काठमाडौं । अमेरिकी सरकारका तर्फबाट हुने खरबौं डलरको भुक्तानी व्यवस्थापन गर्ने कोष विभाग (ट्रिजरी डिपार्टमेन्ट) को संवेदनशील प्रणालीमा अर्बपति व्यवसायी एलन मस्कका प्रतिनिधिहरूले पहुँच पाएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले कोष विभागका एक वरिष्ठ अधिकारीलाई पदबाट हटाएपछि मस्कको टोलीलाई यस्तो पहुँच दिइएको हो ।
शुक्रबार अमेरिकी कोष सचिव स्कट बिसेन्टले मस्कको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसेन्सी’ (डज) सँग आबद्ध टम क्राउज नेतृत्वको टोलीलाई भुक्तानी प्रणालीमा पहुँचको अनुमति दिएका हुन् ।
यसअघि कोष विभागमा डेभिड ए. लेब्रिक नामक अधिकारीले दशकौंसम्म गैर-राजनीतिक भूमिकामा सेवा गरेका थिए । उनले कोष सचिव बिसेन्टको नियुक्ति हुनुअघि कायममुकायम सचिवका रूपमा जिम्मेवारी सम्हालिरहेका थिए ।
लेब्रिकले मस्कका प्रतिनिधिहरूलाई भुक्तानी प्रणालीमा पहुँच दिन अस्वीकार गरेका थिए । त्यसपछि ट्रम्प प्रशासनले उनलाई प्रशासनिक बिदामा राख्यो, र अन्ततः उनले शुक्रबार आफ्ना सहकर्मीलाई ईमेल गर्दै राजीनामा घोषणा गरे ।
यो प्रणाली ब्युरो अफ फिस्कल सर्भिसद्वारा सञ्चालित छ, जसले वार्षिक ६ ट्रिलियन डलरभन्दा बढीको भुक्तानी व्यवस्थापन गर्छ । यस प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता, मेडिकेयर सेवा, संघीय कर्मचारीहरूको तलब, सरकारी ठेक्का भुक्तानी, अनुदान रकम र कर फिर्ती लगायत हजारौं सेवाहरूको भुक्तानी गरिन्छ । लाखौं अमेरिकी नागरिकको जीवनयापनमा यस प्रणालीको महत्त्वपूर्ण भूमिका छ ।
यस प्रणालीको पहुँच सामान्यतः अनुभवी कर्मचारीहरूको सानो समूहसँग मात्र हुन्छ । कुनै पनि राजनीतिक नियुक्त अधिकारी वा तिनका प्रतिनिधिहरूलाई यस्तो संवेदनशील प्रणालीमा पहुँच दिनु असामान्य मानिन्छ ।
एलन मस्कले अमेरिकी सरकारको भित्री कामकाजमा प्रभाव जमाउने प्रयास गरिरहेका छन् । उनले अफिस अफ पर्सोनल डिपार्टमेन्ट र जनरल सर्भिस एडमिनिस्ट्रेसन जस्ता सरकारी निकायमा आफ्ना विश्वासपात्रहरू नियुक्त गरिसकेका छन् । मस्कको डज विभाग हाल ह्वाइट हाउस अन्तर्गत रहेको यूएस डिजिटल सर्भिसको पुनः संरचित संस्करण हो, जसले सरकारी प्रविधि प्रणालीहरूको व्यापक निगरानी गर्छ ।
कोष विभाग तथा डजका प्रवक्ताहरूले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । केहीबेर अघि मस्कले एक्समा एक पोस्ट गर्दै डज टिमले गैरकानुनी भुक्तानी तीव्र रूपमा बन्द गरिरहेको उल्लेख गरेका छन् ।