काठमाडौं । आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ को तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले यसबारे जानकारी दिएको हो ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले महासंघले हरेक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आएको छ ।
३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ । त्यस्तै, गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रा. लि. (गोगोरो) तथा सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रा. लि. र अनलिमिटेड टेक्नोलोजी प्रा. लि (ज्याप) रहेका छन् ।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि., एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रा.लि., डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा.लि. (कताहो) र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन् ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने उल्लेख गर्दै डिजिटल नेपाल निर्माणमा यसबाट सहयोग पुग्ने धारणा राखिन् ।
"प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएका छौं,’ अध्यक्ष पाण्डेले भनिन् ।
टिकेटिङ पार्टनर टिकट सञ्जालमार्फत क्यान इन्फोटेकको टिकट अनलाइनबाट खरिद गर्न सकिने छ । यसअन्तर्गत सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । जेष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि नि:शुल्क प्रवेश व्यवस्था छ ।
क्यान इन्फोटेकमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्र विलास भूर्तेलले बताए । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने उनको भनाइ थियो ।
क्यान इन्फोटेक २०२५ मा करिब १५० स्टल रहनेछन् । यसमध्ये ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको जानकारी दिइयो । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे तीन लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
क्यान इन्फोटेक २०२५ अवधिभर सूचना प्रविधि सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम समेत हुने बताइएको छ ।