close

ओपनएआईले सार्वजनिक गर्‍यो ‘डिप रिसर्च’ नामक नयाँ फिचर

टेकपाना टेकपाना

माघ २१, २०८१ १९:१३

ओपनएआईले सार्वजनिक गर्‍यो ‘डिप रिसर्च’ नामक नयाँ फिचर

काठमाडौं । ओपनएआईले च्याटजीपीटीमा ‘डिप रिसर्च’ नामक नयाँ फिचर समावेश गरेको छ । कम्पनीले आइतबार एक ब्लग पोस्टमार्फत नयाँ फिचर सार्वजनिक गरेको जानकारी दिएको हो ।

कम्पनीका अनुसार यस फिचरले प्रयोगकर्ताहरूलाई इन्टरनेटमा विस्तृत र जटिल अनुसन्धान गर्न सघाउँछ । विशेषगरी वित्तीय, विज्ञान, नीति, इन्जिनियरिङ लगायता क्षेत्रमा यसले सटीक र विश्वसनीय खोज तथा अनुसन्धान गर्ने व्यक्तिलाई सघाउने कम्पनीले उल्लेख गरेको छ । 

त्यस्तै कुनै नयाँ कार, घरेलु सामग्री वा फर्निचर खरिद गर्न खोजीरहेका व्यक्तिलाई पनि उनीहरूको आवश्यकता अनुसार कस्तो सामग्री खरिद गर्ने भन्ने सुझाव दिन यो फिचर उपयोगी हुने कम्पनीले उल्लेख गरेको छ । 

एउटै स्रोतबाट सबै जानकारी लिने भन्दा पनि विभिन्न स्रोतबाट फरक फरक जानकारी लिएर त्यसैका आधारमा विस्तृत रिपोर्ट बनाउनेहरूका लागि यो फिचर प्रभावकारी हुने जनाइएको छ । ओपनएआईका अनुसार सुरुवाति चरणमा यो फिचर प्रो प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ । 

उनीहरूले एक महिनामा १०० ओटा प्रश्न सोध्न सक्छन् । त्यसपछि यो फिचर प्लस, टिम हुँदै इन्टरप्राइज प्रयोगकर्ता माझ उपलब्ध हुने कम्पनीले जनाएको छ । प्रो प्रयोगकर्तामा पनि यो अहिले बेलायत, स्विजरल्यान्ड र युरोप क्षेत्रमा उपलब्ध भएको छ । 

प्रयोगकर्ताले च्याटजीपीटीको मेसेज कम्पोजरमा डिप रिसर्चको विकल्प छानेर आफ्नो प्रश्न सोध्न सक्छन् । थप जानकारीका लागि फाइल वा स्प्रेडशिट पनि अपलोड गर्न सकिन्छ । एक पटक यो सुरु भएपछि, एउटा साइडबार देखा पर्छ, जहाँ यसले चालेका कदम र यसले तानेका स्रोतहरू देख्न सकिन्छ । अनुसन्धान प्रक्रियाले अनुरोधको जटिलता अनुसार ५ देखि ३० मिनेटसम्मको समय लिन सक्ने कम्पनीको ब्लगमा उल्लेख छ ।

जब यो प्रक्रिया सकिन्छ, त्यसपछि प्रयोगकर्तालाई च्याटजीपीटीले सूचना दिन्छ । र अन्तिम रिपोर्टमा सन्दर्भ र यसको तर्कसहितको सारांश उपलब्ध गराउँछ। भविष्यका यो फिचरमा इमेज, चार्ट र अन्य दृश्यहरू थपिनेछन् ।

अन्य एआई टुल जस्तै डिप रिसर्च पनि पूर्ण छैन । ओपनएआईका अनुसार यसले कहिलेकाहीँ जानकारीको गलत व्याख्या गर्न सक्छ वा प्रतिक्रिया दिन धेरै समय लिन सक्छ । यसले भरपर्दो स्रोतहरूलाई अविश्वसनीय स्रोतहरूबाट अलग गर्न पनि सङ्घर्ष गर्न सक्छ । तर, समयसँगै यी समस्याहरूमा सुधार हुनेमा कम्पनी विश्वस्त छ ।

 

पछिल्लो अध्यावधिक: माघ २१, २०८१ १९:१३