काठमाडौं । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एआई एसोसिएसन नेपाल’ गठन भएको छ । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रमबीच एआई एसोसिएसन औपचारिक रूपमा गठन भएको जानकारी दिइयो ।
संघको अध्यक्षमा शैलेन्द्रराज गिरी चयन भएका छन् । त्यस्तै सबिना पोखरेल उपाध्यक्ष, डा. सुरेश पोखरेल उपाध्यक्ष, सन्तोष सिग्देल महासचिव, सुजन थापा कोषाध्यक्ष, किरण भट्ट कार्यकारी सदस्य, जयराज मिश्र कार्यकारी सदस्य, राम शर्मा भट्टराई कार्यकारी सदस्य, प्रतीक पांगेनी कार्यकारी सदस्य, दर्शन पराजुली कार्यकारी सदस्य, र मानवी चन्द कार्यकारी सदस्य रहेका छन् ।
यस संघले नेपालमा एआईको नवीनता, सहकार्य र नैतिक प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । संघका अध्यक्ष गिरीले भने, “आज हामीले नेपाल एआई एसोसिएसनको यात्रा सुरु गरेका छौं । यो संघ, नेपालमा एआईको नवीनतालाई बढाउन र नैतिक मापदण्डहरू विकास गर्न समर्पित छ ।”
नेपाललाई एआईको क्षेत्रमा एक अग्रणी राष्ट्र बनाउन एआई अनुसन्धान र विकासलाई प्रोत्साहन गर्न एआई शिक्षा तथा सीप विकासमा जोड दिने उनले सुनाए । “हामी नैतिक एआई अभ्यासको वकालत गर्छौं र सरकार तथा अन्य संस्थाहरूलाई पनि यसको पालना गर्न प्रोत्साहित गर्छौं,” उनले भने ।
सरकारले जारी गरेको एआई नीतिमा छलफल गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नीति निर्माणमा सहयोग गर्ने उनले सुनाए । विदेशमा रहेका नेपाली विज्ञहरूसँग सहकार्य गर्ने योजना रहेको बताउँदै गिरीले भने, “हामी विदेशमा रहेका नेपाली समुदायसँग पनि छलफल गर्नेछौं, जो एआईको क्षेत्रमा कार्यरत छन् र विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्यापन गरिरहेका छन् । हामी उहाँहरूको ज्ञान र अनुभवलाई नेपालमा उपयोग गर्नेछौं ।”
एआई एसोसिएसन नेपालले देशभरि नै एआई सम्बन्धी कार्यक्रम आयोजना गर्ने उनले बताए ।