डिजिटल युगमा बाँचिरहँदा इन्टरनेटले हाम्रो जीवनको लगभग हरेक क्षेत्रमा प्रभाव पारेको छ । नयाँ सिकाइ, मनोरञ्जन र साझेदारीको अवसर सिर्जना गरेको छ । तर, बालबालिकाका लागि यो भर्चुअल संसार जोखिमले भरिएको छ । जहाँ साइबर बुलिङ, अनलाइन ठगी, अपराध, अनुपयुक्त सामग्रीको प्रभावमा बालबालिका परिरहेका छन् ।
त्यसैले अब हामी अभिभावक, शिक्षक तथा सम्बन्धित निकायका तर्फबाट बालबालिकाले सुरक्षित रूपमा इन्टरनेट प्रयोग गर्नसक्ने वातावरण बनाउन आवश्यक छ । यस लेखमा नेपालका बालबालिकालाई सुरक्षित रूपमा इन्टरनेट प्रयोग गर्न मद्दत गर्ने केही व्यवहारिक उपायहरू प्रस्तुत गरिएका छन्:
फेब्रुअरी ११ अर्थात् हिजो नेपालमा पनि ‘सुरक्षित इन्टरनेट दिवस’ (Safer Internet Day) मनाइयो । यो दिवस सबैका लागि सुरक्षित र अझ राम्रो इन्टरनेट प्रवर्द्धन गर्ने वार्षिक कार्यक्रम हो । तर यसले अझ बालबालिका र युवाहरूको सुरक्षालाई प्राथमिकतामा राख्ने गर्छ ।
यो दिवसलाई अवसरको रूपमा लिएर अभिभावक, शिक्षक र बालबालिकालाई अनलाइन सुरक्षा सम्बन्धी आधारभूत ज्ञान दिनु उपयुक्त हुन्छ । विद्यालय, सामुदायिक संगठन र सरकारी निकायहरूले विभिन्न कार्यशाला (workshops), सेमिनार र जनचेतनामूलक अभियानहरू आयोजना गरी बालबालिकाको डिजिटल सुरक्षालाई प्राथमिकता दिन आवश्यक छ ।
नेपालमा डिजिटल परिदृश्य र चुनौतीहरू
नेपालमा स्मार्टफोनको माध्यमबाट इन्टरनेटको प्रयोग तीव्र गतिमा बढिरहेको छ । एकातिर डिजिटल पहुँचको वृद्धिले अनलाइन शिक्षालगायतका अवसरहरू उपलब्ध गराएको छ । अर्कोतिर बालबालिकाहरू अनलाइन जोखिमहरूको सिकार बन्न थालेका छन् ।
यस्तो समस्या निम्तिनुको सबैभन्दा ठूलो कारक भनेको अभिभावक र शिक्षकहरूको प्राविधिक ज्ञानको अभाव हो । धेरै अभिभावक तथा शिक्षकहरूसँग इन्टरनेटको सही प्रयोगबारे मार्गदर्शन गर्न आवश्यक सीप वा ज्ञान हुँदैन । अझ नेपालको सांस्कृतिक परिप्रेक्ष्यले पनि अनलाइन जोखिमबारे खुलेर छलफल गर्न अवरोध पुर्याउँछ । विद्यालय, सार्वजनिक कार्यक्रम र सेवा केन्द्रहरूमा अनलाइन सुरक्षाबारे छलफलको कमी छ ।
यी चुनौती समाधान गर्न परिवार, विद्यालय र समुदायको सामूहिक प्रयास आवश्यक छ । बालबालिकालाई सुरक्षित इन्टरनेट प्रयोग गर्ने वातावरण बनाउन हामी सबैले सचेत र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ ।
यसभन्दा पहिले इन्टरनेटमार्फत बालबालिकामा पर्न सक्ने जोखिमको बारेमा बुझौँ:
नेपालका बालबालिकाहरू इन्टरनेट प्रयोग गर्दा विभिन्न जोखिमहरूसँग सामना गरिरहेका छन् । ती हुन्,
साइबर दुर्व्यवहार (Cyberbullying): सामाजिक सञ्जाल, म्यासेजिङ एप वा अनलाइन गेमहरूमार्फत हुने यस्ता दुर्व्यवहार हुन सक्छन् ।
साइबर सिकारीहरू (Cyber Predators): भिडिओ गेम वा च्याट प्लेटफर्महरूमा अपरिचित व्यक्तिहरूले बालबालिकालाई डराउने वा फाइदा उठाउने प्रयास गर्न सक्छन् ।
ठगी र फिशिङ: छलकपट गरेर बालबालिकाको व्यक्तिगत जानकारी लिने काम भइरहेका छन् ।
स्क्रिन एडिक्सन: अत्यधिक इन्टरनेट प्रयोगले मानसिक स्वास्थ्य र पढाइमा असर परिरहेको छ ।
अनलाइन सुरक्षाका लागि सरल उपाय: ‘स्टप, ब्लक, टेल’ नियम
बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन ‘स्टप, ब्लक, टेल’ नियम सिकाउनु एक प्रभावकारी उपाय हो । यसमा बालबालिकाले अनलाइनमा केही असहज महसुस गरे भने तुरुन्तै त्यसलाई रोक्न सिकाइन्छ ।
त्यसका लागि फेसबुकमा अपरिचित व्यक्तिबाट फ्रेन्ड रिक्वेस्ट आएमा एसेप्ट गर्न हुँदैन भनेर बालबालिकालाई सिकाउनुहोस् ।
ह्वाट्सएपमा अनुपयुक्त फोटो वा म्यासेज प्राप्त भएमा, कुनै पोस्ट वा टिप्पणीले असहज बनाएमा त्यसलाई रोक्न सिकाउनुपर्छ । यसका लागि जोखिमयुक्त व्यक्तिलाई ब्लक गर्न बालबालिकालाई सिकाउनुहोस् ।
फेसबुक, इन्स्टाग्राम, टिकटक वा ह्वाट्सएपमा ब्लक गर्ने तरिका बालबालिकालाई देखाउनुहोस् । खराब मानिसहरूलाई आफ्नो सुरक्षाका लागि ब्लक गर्नुपर्छ र यस्तो गर्नु भनेको नराम्रो कुरा होइन भनेर बुझाउनुहोस् ।
बालबालिका अनलाइनमार्फत असुरक्षित रहेमा विश्वासिलो व्यक्तिलाई घटना जानकारी गराउनुपर्छ । त्यसैले बालबालिका आफू असुरक्षित भएमा खुलेर भन्न सक्ने वातावरण घर र विद्यालयमा बनाउनुहोस् ।
‘स्टप, ब्लक, टेल’ नियमको कुन बेलामा गर्ने ?
साइबर दुर्व्यवहार: यदि बालबालिकाले फेसबुकमा गालीगलौज म्यासेज पाए भने, रोक्ने, ब्लक गर्ने र शिक्षक वा अभिभावकलाई बताउने ।
अनलाइन प्रेडेटर (सिकारी/अपराधी) को सम्पर्कमा आएमा: टिकटकमा अपरिचित व्यक्तिबाट फ्रेन्ड रिक्वेस्ट आएमा, रोक्ने, ब्लक गर्ने र अभिभावकलाई बताउने ।
अनुपयुक्त सामग्री: युट्युबमा हिंसात्मक वा अश्लील भिडिओ देखेमा, रोक्ने, च्यानल ब्लक गर्ने र अभिभावकलाई बताउने ।
अभिभावक र शिक्षकहरूले ध्यान दिनुपर्ने कुरा
प्यारेन्टल कन्ट्रोल टुलहरू प्रयोग गरेर बालबालिकाको इन्टरनेट पहुँचमा निगरानी राख्न सकिन्छ । प्यारेन्टल कन्ट्रोल इनेबल गरिएका मोबाइल वा ल्यापटप प्रयोग गरेर बालबालिकाको अनलाइन गतिविधि निगरानी गर्न र सीमित गर्न मद्दत गर्छ ।
विद्यालयमा वा घरमा बालबालिकाले आफ्ना अनुभवहरू खुला रूपमा सेयर गर्न सक्ने वातावरण बनाउनुपर्छ । उनीहरूले कुन-कुन एप वा वेबसाइट प्रयोग गर्छन्, त्यसबारे नियमित छलफल गर्नुपर्छ ।
बालबालिकाको उमेरअनुसार साइबर दुर्व्यवहार, अनलाइन प्रेडेटर र स्क्यामिङको बारेमा बुझाउनुपर्छ । ‘स्टप, ब्लक, टेल’ नियम बालबालिकासँग अभ्यास गरेर सिकाउनुपर्छ ।
नेपालमा डिजिटल साक्षरता समान रूपमा विकसित भइसकेको छैन । त्यसैले सरल, स्पष्ट र नेपाली सन्दर्भअनुसार उपयुक्त हुनुपर्छ । हामी सबै मिलेर बालबालिकाका लागि सुरक्षित डिजिटल वातावरण बनाउनुपर्छ ।