close

काठमाडौंका ३६ ठाउँमा यात्रु आफैंले बटन थिचेर बाटो काट्न सक्ने

टेकपाना टेकपाना

माघ ३०, २०८१ १७:६

काठमाडौंका ३६ ठाउँमा यात्रु आफैंले बटन थिचेर बाटो काट्न सक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले यात्रु आफैंले बटन थिचेर बाटो काट्न हरियो बत्ती बाल्न सकिने प्रणाली जडान गरेको छ । महानगरले अस्पताल, विद्यालय जस्ता अत्यधिक चाप रहने क्षेेत्रमा ‘अन डिमान्ड पेडेस्ट्रियन क्रसिङ’ अर्थात् पेलिकन प्रणाली जडान गरेको हो । 

काठमाडौंका विभिन्न ३६ स्थानमा यो प्रणाली जडान गरिएको महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । ​उनका अनुसार प्रदर्शनीमार्ग, बागबजार, ताहाचल, ठमेल, महाराजगञ्ज, नक्साल, बालुवाटार, गौशाला लगायतका स्थानमा यो प्रणाली राखिएको छ ।

यस प्रणाली जडान गर्न महानगरले चालु आर्थिक वर्ष २०८१/०८२ मा दुई करोड रुपैयाँ विनियोजन गरेको छ । यसअघि गत आवमा महानगरले बबरमहलमा यस प्रणाली जडान गरेको थियो । श्रेष्ठले भने, “अहिलेसम्म महानगरका ३६ ठाउँमा यस प्रणाली जडान गरिएको छ । यसको प्रभावकारिता र आवश्यकता हेरेर अन्य ठाउँमा पनि जडान गर्ने योजना छ । आवश्यक परेमा महानगरले थप बजेट विनियोजन गर्छ ।”

यस प्रणालीमा पैदलयात्रीले जेब्राक्रसिङबाट बाटो काट्ने समयमा सडक बत्तीमा बल्ने रङ ‘स्विच’ थिचेर आफैंले परिवर्तन गर्न सक्छन् ।

“बत्ती थिचेको एकछिन पछि गाडीहरूका लागि रातो सिग्नल देखाउँछ । तर जतिबेला पनि यात्रुले स्विच थिचेर बाटो काट्न सक्छन् भन्ने होइन । सडकको चापअनुसार एक पटक बाटो काटेको ३० सेकेन्डदेखि दुई मिनेटपछि मात्र अर्को पटक स्विच थिचेर बाटो काट्न मिल्छ,” श्रेष्ठले भने ।

पछिल्लो अध्यावधिक: माघ ३०, २०८१ १८:३८