काठमाडौं । गुगलको च्याटबट जेमिनाई एआईले प्रयोगकर्तासँग भएको पुरानो कुराकानी सम्झिने भएको छ । शुल्क तिरेर गुगलको एड्भान्स्ड भर्सन प्रयोग गरिरहेका प्रयोगकर्तालाई सटीक जानकारी उपलब्ध गराउन कम्पनीले यो फिचर उपलब्ध गराएको हो ।
यससँगै अब शुल्क तिरेर जेमिनाई प्रयोग गरिरहेका प्रयोगकर्ताले यस च्याटबटलाई पुरानो कुराकानी सम्झाइरहनु पर्दैन । पहिले गरेका कुराकानीकै आधारमा यस च्याटबटले सटीक जानकारी दिने कम्पनीको भनाइ छ ।
यो फिचर उपलब्ध भएसँगै अब प्रयोगकर्ताले जेमिनाईलाई पुरानो कुराकानीको आधारमा कुनै प्रोजेक्ट तयार पार्न अनुरोध गर्न सक्नेछन् । गुगलले यो फिचर विश्वव्यापी रूपमा उपलब्ध गराउन सुरु गरिसकेको छ । यदि तपाईंलाई जेमिनाईले पुरानो कुराकानी सम्झेको चित्त बुझेको छैन वा सान्दर्भिक लागेको छैन भने जेमिनाई एप्स एक्टिभिटीको अप्सनमा गई डिलिट गर्न सक्नुहुन्छ ।
सुरुवाती चरणमा यो फिचर गुगल वन एआई प्रिमियम प्लान लिएका प्रयोगकर्ताका लागि अङ्ग्रेजी भाषामा उपलब्ध छ । विस्तारै यो फिचर गुगल वर्कस्पेस र इन्टरप्राइज ग्राहकका लागि उपलब्ध हुने कम्पनीको भनाइ छ ।
गुगलको प्रतिस्पर्धी कम्पनी ओपनएआईको च्याटजीपीटीले सुरुवातदेखि नै यो फिचर आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको छ । अहिले च्याटजीपीटीका निःशुल्क प्रयोगकर्ताले पनि पुरानो कुराकानीका आधारमा उक्त च्याटबटलाई विभिन्न प्रश्न सोध्न सक्छन् । च्याटजीपीटीमा निःशुल्क उपलब्ध भएको यो फिचर छिट्टै जेमिनाईमा पनि निःशुल्क उपलब्ध हुने अपेक्षा गरिएको छ ।