काठमाडौं । काठमाडौं महानगरपालिकाले भौगोलिक सूचना प्रणाली (जीआईएस) मा आधारित नक्साङ्कन थालेको छ । गत पुस ९ गतेदेखि पाँच जना जीआईएस इञ्जिनियर र पाँच जना सिनियर सर्भेयरबाट नक्साङ्कनको काम थालिएको हो ।
यस अन्तर्गत सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, सडकको वैज्ञानिक र मौलिक नामाकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्ने काम भइरहेको महानगरले जनाएको छ ।
महानगरका नापी अधिकृत इञ्जिनियर अशोक श्रेष्ठका अनुसार ०५८ सालमा काठमाडौं उपत्यका म्यापिङ कार्यक्रम भएको थियो । उक्त कार्यक्रमबाट दुई हजार ५७८ ओटा पथ, सडक, मार्ग र गल्लीहरुको नामाङ्कन र नक्साङ्कन गरिएको थियो ।
श्रेष्ठले भने “त्यसबेला ८० हजार घरधुरीलाई मेट्रिक सिस्टममा आधारित नम्बर प्रदान गरिएको थियो । कार्यक्रमले प्रदान गरेको भौगोलिक सूचना र स्याटलाइट तस्बिरको मद्दतले अहिलेसम्म दुई हजार ४० ओटा पथ, सडक, मार्ग र गल्लीको डिजिटल नक्साङ्कन र नामाङ्कन भइसकेको छ ।” तर हालसम्म यकिन गर्न नसकिएका सडकहरूलाई पनि अब अपडेट गरिने उनले बताए ।
उनले जानकारी दिँदै भने, “स्याटलाइट इमेजबाट यकिन हुन नसकेका पथ, सडक, मार्ग र गल्लीको डिजिटलाइज गर्न ड्रोन इमेज लिने प्रक्रिया अगाडि बढेको छ ।”
नक्साङ्कनको कामबाट सडकको इन्भेन्ट्री (सूची) तयार हुनेछ । यसमा सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन दूत सेवालगायत क्षेत्रका तथ्य र तथ्याङ्क हुनेछन् ।