काठमाडौं । अब हाम्रोपात्रोबाटै विभिन्न इभेन्टको टिकट खरिद गर्न सकिने भएको छ । कम्पनीले बिहीबारदेखि एपबाटै विभिन्न कार्यक्रमको टिकट लिन सकिने सुविधा सार्वजनिक गरेको हो ।
यससँगै अब प्रयोगकर्ताले विभिन्न भुक्तानी माध्यम प्रयोग गरी हाम्रोपात्रोबाट टिकट खरिद गर्न सक्नेछन् । ‘हाम्रो पे’का साथै मोबाइल बैंकिङ र कनेक्ट आईपीएस (Connect IPS) को प्रयोग गरेर पनि टिकट खरिद गरेर भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । यसले प्रयोगकर्तालाई कुनै एक भुक्तानी प्लेटफर्ममा मात्र निर्भर रहनुपर्ने बाध्यता हटाउनुका साथै भुक्तानी प्रक्रियालाई अझ सरल बनाउने विश्वास कम्पनीले छ ।
“अब हाम्रो पात्रो प्लेटफर्ममार्फत विभिन्न कार्यक्रमहरूका टिकट सजिलै खरिद गर्न सकिनेछ, जसले कार्यक्रम आयोजक र दर्शकबीचको दूरी घटाउनेछ,” ‘हाम्रो पे’का सीईओ शिशिर पोखरेलले भने, “हाम्रो पेका साथै मोबाइल बैंकिङ र कनेक्ट आईपीएसबाट टिकट खरिद सेवा दिन पाउँदा हामी निकै उत्साहित छौं ।”
हाल हाम्रोपात्रोमा पाँचथर, फिदिममा २४ फेब्रुअरी हुने ‘जोन एन्ड द लोकल्स्’ को टिकट उपलब्ध छ । टिकटको शुल्क ४०० रुपैयाँदेखि ५,००० रुपैयाँसम्म निर्धारण गरिएको छ । हाम्रो पेमार्फत टिकट खरिद गर्दा प्रयोगकर्ताले पाँच प्रतिशत क्यासब्याक पाउन सक्छन् ।
आयोजकले आफ्ना कार्यक्रमहरूको टिकट बिक्रीका लागि हाम्रो पात्रोसँग साझेदारी गर्न सक्ने कम्पनीले जनाएको छ । थप जानकारीका लागि इच्छुक आयोजकले [email protected] मा ईमेल गर्न सक्नुहुन्छ ।