काठमाडौं । अब आईओएस प्रयोगकर्ताले गुगल एपबाट जेमिनाई एआई प्रयोग गर्न नपाउने भएका छन् । गुगलले प्रयोगकर्ताहरूलाई ईमेलमार्फत जानकारी दिँदै गुगल एपमा जेमिनाई सेवा बन्द भएको जानकारी दिएको छ । योसँगै गुगलको च्याटबट चलाउन एपस्टोरमा गई जेमिनाई एप डाउनलोड गर्नुपर्ने छ ।
गुगलले जेमिनाईलाई स्वतन्त्र एपका रूपमा अघि बढाउने निर्णय गरेको बताइएको छ । कम्पनीले यसलाई अन्य एआई च्याटबटहरूसँग प्रतिस्पर्धा गराउन छुट्टै एप बनाएको हो । तर, अहिलेसम्म गुगल एपकै माध्यमबाट लाखौं प्रयोगकर्ताले जेमिनाई चलाइरहेकाले यसको प्रयोगकर्ता संख्या घट्न सक्ने आँकलन गरिएको छ ।
जेमिनाई एप डाउनलोड गरेपछि प्रयोगकर्ताले टेक्स्ट वा आवाजमार्फत प्रश्न सोध्न, यात्रा योजना बनाउन, चित्रहरू बनाउन, गुगल म्याप्स, युट्युब र जिमेलसँग कनेक्ट गर्न सक्नेछन् । साथै, जेमिनाईले कहिलेकाहीँ गलत जानकारी दिन सक्ने भएकाले यसको जवाफ दोहोर्याएर जाँच गर्न गुगलले सुझाव दिएको छ ।
यदि आईफोनमा जेमिनाई प्रयोग गर्न चाहनुहुन्छ भने, एप स्टोरबाट ‘Gemini’ एप डाउनलोड गरी प्रयोग गर्न सक्नुहुन्छ । अहिले गुगल एपबाट जेमिनाई खोल्न खोज्दा ‘Gemini is now in its own app’ भन्ने सन्देश देखिन्छ ।