काठमाडौं । गुगलले युट्युबको सशुल्क सेवा ‘युट्युब प्रिमियम’ को नयाँ संस्करण ‘युट्युब प्रिमियम लाइट’ ल्याउने भएको छ । युट्युब भिडिओमा आउने अत्यधिक विज्ञापनबाट दिक्क हुने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले सस्तो सबस्क्रिप्सन मोडेल ल्याउने तयारी गरेको हो ।
ब्लुमबर्गका अनुसार यो सेवा सुरुवाती चरणमा अमेरिका, अस्ट्रेलिया, जर्मनी र थाइल्याण्डमा परीक्षण हुनेछ । युट्युबमा सङ्गीत बाहेकका अन्य भिडिओ हेर्न रुचाउने दर्शकलाई लक्षित गर्दै कम्पनीले यो योजना ल्याउन लागेको जनाइएको छ । यद्यपि यसको मूल्य कति हुने भन्ने बारेमा कुनै जानकारी दिइएको छैन ।
यसअघि युट्युबले सन् २०२१ मा युरोपका केही देशमा ‘प्रिमियम लाइट’ फिचरको परीक्षण गरेको थियो । त्यसमा विज्ञापन हटाइएको थियो । तर, सन् २०२३ मा उक्त योजना बन्द गरियो ।
अक्टोबरमा कम्पनीले ‘प्रिमियम लाइट’ को फरक संस्करण परीक्षण गरिरहेको पुष्टि गरेको थियो । एक प्रयोगकर्ताले नयाँ संस्करणमा निःशुल्क भर्सनभन्दा धेरै कम विज्ञापन देखेको बताएका थिए । ती प्रयोगकर्ताले ‘प्रिमियम लाइट’ को मूल्य मासिक ८.९९ अस्ट्रेलियन डलर रहेको जानकारी दिएका थिए ।
यस विषयमा युट्युबका प्रवक्ता पल पेनिङ्गटनले 'द भर्ज'लाई दिएको जानकारी अनुसार कम्पनीले विज्ञापनरहित भिडिओ स्ट्रिमिङको नयाँ योजना परीक्षण गरिरहेको छ । र, यसलाई विभिन्न साझेदारको सहयोगमा कम्पनीले भविष्यमा थप प्रयोगकर्तामा विस्तार गर्ने आशा राखेको छ । पेनिङ्गटनले यो सेवा विश्वव्यापी रूपमा कहिले सुरु हुन्छ र यसको मूल्य कति हुन्छ भन्ने बारेमा स्पष्ट जानकारी दिएका छैनन् ।