close

नेपाल टेलिकमकी उपप्रबन्धक भन्छिन्ः आईएसपीको फ्रि वाईफाईले हाम्रो आम्दानीमा नराम्रो असर पार्‍यो

टेकपाना टेकपाना

फागुन ११, २०८१ २२:४८

नेपाल टेलिकमकी उपप्रबन्धक भन्छिन्ः आईएसपीको फ्रि वाईफाईले हाम्रो आम्दानीमा नराम्रो असर पार्‍यो

श्रद्धा मानन्धर/-

टेलिकम सेक्टर भनेको एकदमै वृद्धि, विकास र विस्तार भइरहेको क्षेत्र हो र यसले देशको अर्थतन्त्रमा धेरै नै महत्त्वपूर्ण भूमिका निभाइ राखेको छ । त्यो हेर्दा खेरि पक्कै पनि यो यो क्षेत्र स्याचुरेटेड भइसकेको छैन अथवा स्ट्याग्नेन्ट (वृद्धि विकास रोकिएको अवस्था) भएको छैन । यद्यपि यसमा इनोभेसनले चाहिँ धेरै नै महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । भन्नुको अर्थ हामी टेलिकम अपरेटरहरूले इनोभेसनलाई स्वीकार गर्दै जानुपर्छ । ता कि प्रयोगकर्ता तथा ग्राहकहरूलाई हाम्रो सेवा तर्फ आकर्षित गरी राख्ने चुनौती सामना गर्न सकियोस् । यसमा कमजोरी नै त म भन्दिनँ, तर हामीले बजारको माग अनुसार अनुसार इनोभेसन र प्रविधिलाई आत्मसाथ गर्नुपर्छ र त्यसका लागि सेवा प्रदायकहरूको वित्तीय अवस्था पनि एकदमै राम्रो हुनुपर्छ ।

दिगोपनका लागि नयाँ लगानी गर्न कम्पनीसँग सकारात्मक अथवा भनौँ उत्साहजनक आम्दानी पनि हुनुपर्छ । नेपाल टेलिकमको सन्दर्भमा भने यो एउटा नाफा केन्द्रित कम्पनी नभए पनि एउटा सेवा केन्द्रित कम्पनी हो । त्यसैले गर्दा खेरि हामीले नाफालाई मात्र नभएर राष्ट्रिय स्वार्थ र आवश्यकता अनुरूप सर्भिस डेलिभरी गरिरहेका पनि छौँ । सरकारको स्वामित्व भएको कम्पनी भएकाले नेपाल टेलिकमले सरकारले बनाइएका विभिन्न नीति तथा प्रक्रिया पालना गर्नुपर्छ । जस्तैः नेपाल टेलिकम सरकारी स्वामित्वको कम्पनी भएकाले कुनै नीति नियमबाट स्किप हुने भन्ने वातावरण नै हुँदैन । जुन प्राइभेट कम्पनीहरूले फलो गर्नुहुन्छ, हामीले पनि त्यही नै फलो गर्ने हो । 

यो क्षेत्रमा जुन नीति तथा कानुनहरू छन्, तिनलाई हामीले समय सापेक्ष रूपमा परिमार्जन गर्दै लानुपर्ने हुन्छ । त्यो पनि उचित समयमा गर्नुपर्छ । किनभने अहिले जुन ओटीटी (ओभर दि टप, भाइबर, ह्वाट्सएप, मेसेन्जर जस्ता एप) को असर छ, त्यो देखेको हामीले अहिले मात्र होइन, एक दशकभन्दा पहिला देखिकै हो । एउटा टेलिकम अपरेटरको रूपमा हामीले यसमा ध्यानाकर्षण पनि गराउदै आइ राखेका छौँ । किनभने यसले आम्दानीमा सिधा असर पारेको छ । अहिले सम्म पनि नियमन नहुनु भनेको ओटीटीको असर अझै पनि केही होइन कि भनेर बुझि राखेको हो कि जस्तो पनि लाग्छ । किन भने हामीले धेरै अघिदेखि आवाज उठाउँदै आएको भए पनि अझै नियमन नहुँदा टेलिकम कम्पनीमा यसको नकारात्मक असर अझै बढ्दै जाने देखिन्छ ।

यस्ता ओटीटीले गर्दा खेरि भ्वाइस कललाई आम्दानीको मुख्य स्रोत बनाइ रहेका टेलिकम कम्पनीलाई धेरै नै असर परेको छ । यतापट्टि डेटाको आम्दानी त बढ्यो होला नि भन्ने हुन्छ । किन भने उनीहरू (ओटीटी) सबैले त डेटा प्लेटफर्म नै प्रयोग गर्ने हो । तर जुन भ्वाइस कलतर्फ गुमेको आम्दानीको तुलनामा डेटाबाट हुने आम्दानी एकदमै कम छ । त्यसैले हामीले अन्तमा हेर्ने भनेको आम्दानी नै हो । यसरी आम्दानी नै कम हुँदै गइसकेपछि टेलिकम जस्तो संस्थालाई अगाडि बढाउन उत्साहजनक वा भनौँ अभिप्रेरित गर्ने नम्बर अलिकति कम देखिएको जस्तो लाग्छ । ओटीटीको असर एउटा उदाहरण हो ।

सरकारको स्वामित्व भएको कम्पनीलाई मात्र धेरै सहयोगी वातावरण रहेको जुन कुरा छ, त्यो चाहिँ त्यो मान्न तयार छैन । किन भने एउटा उदाहरणको रूपमा अहिले हामीहरूले उठाइ राखेको र पत्राचार मार्फत पनि नेपाल दूरसञ्चार प्राधिकरणलाई नियन्त्रण गर्न आग्रह गरेको वाईफाई हट्स्पटको विषय पनि हो । अहिलेको जुन विद्यमान कानुनी व्यवस्था छ, त्यस अनुसार आईएसपीहरूले 'वान टाइम रजिस्ट्रेसन' तथा 'सिमलेस कनेक्टिभिटी' दिन पाउँदैनन् । मोबिलिटी सहितको जुन फ्रि वाईफाई सेवा आईएसपीहरूले प्रदान गरी राख्नु भएको छ, त्यसले गर्दा खेरि हामी जस्ता टेलिकम अपरेटरको आम्दानीमा एकदमै नकारात्मक असर परेको छ ।

किन भने यसको अन्तिम परिणाम भनेको चाहिँ ग्राहकले टेलिकम कम्पनीले दिने डेटा सेवा खोज्दैनन् । उहाँहरूले वान टाइम रजिस्ट्रेसनमा फ्रि डेटा र सिमलेस मोबिलिटी दिइ राख्नु भएको छ भने ग्राहकले सेलुलर डेटा किन प्रयोग गर्छन् ? सेलुलर डेटाको नेटवर्क विस्तार गर्न हामीले जुन किसिमको लगानी गरिरहेका छौँ, जुन किसिमको महँगो लाइसेन्स दस्तुरको दायित्व छ, त्यसलाई आधार बनाएर हेर्ने हो भने आईएसपीहरूसँग तुलना हुन सक्नै विषय नै होइन । जुन हिसाबले चाहिँ हामीले आम्दानी गर्नुपर्ने हो, जुन हिसाबको हाम्रो लगानी भएको छ, त्यसको प्रतिफल नआउने कुरा आफैमा निरुत्साहित गर्ने विषय हो । म यहाँबाट सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छु ।

(८ फागुन २०८१ का दिन हिमालय होटेलमा टेकपानाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल टेलिकमकी उप-प्रबन्धक श्रद्धा मानन्धरले व्यक्त गरेको विचारको सम्पादित अंश ।)

पछिल्लो अध्यावधिक: फागुन २२, २०८१ १२:५२