काठमाडौं । आजभोलि स्पाम कलको बिगबिगी छ । यस्ता कलबाट धेरैले गम्भीर आर्थिक र भावनात्मक क्षति भोगिरहेका छन् । यस्तोमा, स्पाम कल सोचेर एक व्यक्तिले प्रतिष्ठित ईकमर्स कम्पनी अमेजनको जागिर गुमाउन पुगेको घटना सार्वजनिक भएको छ । एक रेडिट प्रयोगकर्ताले स्पाम कल भनेर फोन नउठाउँदा अमेजनको जागिरको अफर गुम्यो भन्दै आफ्नो भोगाइ शेयर गरेका छन् ।
स्पाम कल ठानिएको कल अमेजनको रिक्रुमेन्ट टिमको रहेछ भनेर उनले पछि मात्र थाहा पाएका थिए । सुरुमा अमेरिकाको नम्बरबाट बारम्बार कल आइरहेको थियो । तर, स्पाम कल भएको हुनसक्ने शंका गर्दै उनले वास्ता गरेनन् । पछि ट्रुकलरमा गएर हेर्दा त्यो कल कुनै स्पाम नभइ अमेजनबाट आएको थाहा पाएको उनले सुनाएका छन् ।
अमेजनबाट आएको थाहा पाएपछि उनले पुन: कल गर्ने प्रयास गरे, तर फोन लागेन । उक्त प्रयोगकर्तालाई अमेजनको फोन कल पहिलोपटक फेब्रुअरी ७ मा आएको थियो । तर, त्यतिबेला उनले उठाएनन् । फेरि फेब्रुअरी २४ मा कल आयो । सुरुमा झुक्किएर उठाएपनि स्पाम कल हुनसक्ने सोचेर कुरा नगरिकन काटिदिए । त्यसपछि फेरि दुई पटकसम्म कल आयो, तर उठाएनन् । त्यसपछि भने उक्त कल कहाँबाट आएको रहेछ भनेर चेक गर्न ट्रुकलरमा उक्त नम्बर हेरे र आफूबाट गल्ती भएको थाहा पाए ।
उक्त पोस्टको कमेन्टमा अन्य प्रयोगकर्ताले सान्त्वाना दिएका छन् । उनीहरूले स्पाम कल सोचेर महत्त्वपूर्ण कल रिसिभ नगरेको अनुभवहरू शेयर गरेका छन् । एक प्रयोगकर्ताले सान्त्वना दिँदै भनेका छन्, “चिन्ता नलिनुहोस्, उनीहरूले फेरि कल गर्नेछन् वा ईमेल गर्नेछन् ।” यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, “मेरो अनुभवमा एउटा राम्रो संस्थाले जागिर अफर गर्दा कल लागेन भने इमेल पनि गर्छ । विशेषगरी अन्तर्राष्ट्रिय कल छ भने प्राय ईमेल गर्छन् ।”
अर्का एक प्रयोगकर्ताले आफ्नो व्यक्तिगत अनुभव शेयर गर्दै भनेका छन्, “एक पटक फोन रिसिभ नगरेका कारण म जागिरबाट नै रिजेक्ट भएको थिएँ । म काममा नयाँ भएको भएर पनि होला, उनीहरूले दोहोर्याएर कल गर्न पनि आवश्यक ठानेनन् ।” यो घटनाले हामी सबैलाई सचेत गराएको छ कि स्पाम कलको डरले महत्त्वपूर्ण अवसर गुमाउनु हुँदैन ।