काठमाडौं । दाङको तुलसीपुरस्थित हिमाल एकेडेमीका तीन हजार विद्यार्थीको डेटा डार्क वेबमा बिक्रीमा राखिएको पाइएको छ । ‘मोजकोज’ (mozkoz) नाम गरेका ह्याकरले ब्रिच फोरममा फेब्रुअरी २८ मा पोस्ट गर्दै विद्यालयका संवेदनशील डेटा बिक्रीका लागि राखेका हुन् ।
स्कुलको वेबसाइट लिङ्क राख्दै ह्याकरले उक्त पोस्टमा आफूले डेटाबेस बिक्री गर्न लागेको जानकारी दिएका छन् । “आज म नेपालको हिमाल स्कुलको डेटाबेस बिक्री गर्दै छु,” उनले भनेका छन् ।
ह्याकरले आफूसँग एड्मिन ईमेल, एड्मिन लग, सिभिल आईडी, फोन नम्बर, कन्ट्रोल प्यानल लगायतका डेटाको एक्सेस भएको दाबी गरेका छन् ।
सार्वजनिक भएको स्याम्पल डेटामा २३ शिक्षक शिक्षिकाको नाम, नम्बर, पद, पढाउने कक्षा लगायतको विवरण छ । ह्याकरले आफूसँग उक्त स्कुलमा विभिन्न समयमा अध्यापन गराएका १२३ शिक्षक शिक्षिकाको डेटा भएको दाबी गरेका छन् ।
त्यसैगरी ती ह्याकरले ४० विद्यार्थीको संवेदनशील डेटा सार्वजनिक गरेका छन् । आफूसँग तीन हजार विद्यार्थीको डेटा भएको भन्दै खरिद गर्न आह्वान गरिएको छ ।
ह्याकरले सार्वजनिक गरेको डेटामा विद्यार्थीको नाम, ठेगाना, कक्षा, लिङ्ग, जन्ममिति, बुवा आमाको नाम, बुवाआमाको सम्पर्क नम्बर रहेको देख्न सकिन्छ ।
टेकपानासँग कुरा गर्दै हिमाल एकेडेमीका प्रधानाध्यापक मधुसूदन केसीले आफूलाई यस विषयबारे कुनै जानकारी नभएको बताएका छन् । “हामीलाई कतै कसैले पनि पनि डेटा लिक भएको छ भनेको छैन,” उनले भने, “यस विषयमा केही थाहै छैन । एक जना साथीले वेबसाइट बनाइदिनु भएको हो । उहाँ बाहिर भएकाले अपडेट हुन पाएको छैन ।”
ह्याकरले विद्यार्थीको डेटा कतिमा बिक्री गर्न लागेका हुन् भन्ने जानकारी दिएका छैनन् ।