close

आविष्कार केन्द्रमा बन्यो एउटा हातले चलाउन सकिने ट्राईसाइकल

टेकपाना टेकपाना

फागुन २०, २०८१ १६:१६

आविष्कार केन्द्रमा बन्यो एउटा हातले चलाउन सकिने ट्राईसाइकल

काठमाडौं । दायाँ हात र दुवै खुट्टा गुमाएका कञ्चनपुरका उपेन्द्र खडायत आफ्नो यात्राका लागि सहज उपकरणको खोजीमा थिए । नेपालमा मात्रै नभइ उनी भारतका बजार पनि चहारे । तरपनि आफूले खोजेको जस्तो उपकरण नपाएपछि करिब तीन महिना पहिले राष्ट्रिय आविष्कार केन्द्रमा पुगे ।

हाल भने उनले देब्रे हातले चलाउन मिल्ने इलेक्ट्रिक ट्राइसाइकल पाएका छन् । उक्त ट्राईसाइकल राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर राजु थापाले बनाएका हुन् । 

इन्जिनियर थापा भन्छन्, “स्कुटीहरू पनि चलाउन नसक्ने भएकाले उहाँ (उपेन्द्र) लाई व्यापार व्यवसायका लागि हिँडडुल गर्न समस्या भएको रहेछ । झन्डै १० वर्षदेखि समस्या भोगेका कारण उहाँ सडकमा लिएर हिँड्न सक्ने ह्विलचियर खोज्दै भारत जानु भएछ । तर कतैपनि पाउनुभएन ।” 

एउटै हातबाट कन्ट्रोल गर्न सक्ने किसिमको ह्विलचियर चाहियो भन्दै खडायत आविष्कार केन्द्र पुगेका थिए । त्यसपछि खडायतकै लागि भनेर उनकै साइजको र चाहे अनुसारको ह्विल चियर बनाइदिएको इन्जिनियर थापाले सुनाए । 

“यो ट्राइसाइकलमा स्टेयरिङदेखि लाइट, साइडलाइट, ब्रेकहरू सबै एकै हातबाट कन्ट्रोल गर्न सकिने किसिमको छ । उहाँले देब्रे हातबाट नै चलाउन सक्नुहुन्छ,” थापाले टेकपानासँग भने । 

ट्राइसाइकलमा स्पिडको सीमा सामान्यत: १५ किलोमिटर राखिएको छ । थापाका अनुसार यो पाँच किलोमिटर प्रति घण्टादेखि २५ किलोमिटर प्रति घण्टासम्म कुद्न सक्छ । "उपेन्द्रीजीको कन्फिडेन्स र बाटो अवस्था अनुसारको स्पिडमा चलाउन सक्ने गरी डिजाइन गरिएको छ,” थापाले भने । 

यसअघि शारीरिक रूपमा अशक्त व्यक्तिलाई कस्टमाइज गरेका केन्द्रले जोइस्टिक ह्विलचियर पनि बनाउँदै आएको थियो । तर उक्त ह्विलचियरमार्फत लामो दुरीमा यात्रा गर्न नसकिने उनले बताए । यसको विकल्पमा हाल खडायतले चलाएको जस्तै तीन पाङ्ग्रे ट्राइसाइकल उपयोगी हुने थापाले बताए । 

भिडिओ हेर्नुहोस्

उनले भने, “यो ट्राइसाइकल प्रयोग गरेर अफिस जान वा काम विशेषले बाहिर सडकमा जान सजिलो भएको छ ।” यो ट्राइसाइकल समथर क्षेत्रमा चलाउन मिल्ने गरी डिजाइन गरिएको छ । “यो अलिअलि कच्ची बाटोहरूमा लैजान मिल्ने भएपनि धेरै अफरोड चाहिँ जाँदैन ।” 

आफ्नै लागि ट्राइ साइकल डिजाइन गर्न कति खर्च लाग्छ ?

राम्रो ब्याट्री राखेर आफ्नो आवश्यकता अनुसार ट्राइसाइकल डिजाइन गर्न एक लाख ८० हजार रूपैयाँसम्म पनि लाग्न सक्ने इन्जिनियर थापाले बताए । “ब्याट्री महँगो पर्ने र डिजाइन पनि गर्नुपर्ने भएकाले अधिकतम एक लाख ८० हजार रूपैयाँसम्म पर्न सक्छ । तर कन्डिसन र डिजाइन अनुसार एक लाखभन्दा कम मूल्यमा पनि ट्राइसाइकल बनाउन सकिन्छ ।” 

पछिल्लो अध्यावधिक: फागुन २१, २०८१ १३:३६