काठमाडौं । नेपाली कथानक चलचित्र ‘होस्टेल ३’ का महत्त्वपूर्ण दृश्य सामाजिक सञ्जालमा बाहिरिएका छन् । शुक्रबारदेखि हलमा चलचित्रको प्रदर्शन सुरु भएसँगै फिल्मका महत्त्वपूर्ण अंश टिकटक लगायतका प्लेटफर्ममा छ्यापछ्याप्ती देखिएका हुन् ।
खासगरी चलचित्रका क्लाइमेक्स, सस्पेन्स र ट्विस्ट जस्ता महत्त्वपूर्ण दृश्य फैलिएका छन् । ‘अनिल परियार ०५’ नामका टिकटक प्रयोगकर्ताले चार मिनेट लामो भिडिओ टिकटकमा राखिदिएका छन् । उक्त क्लिपमा सात लाख बढी भ्युज छ भने ६२ हजार बढी लाइक आएको देख्न सकिन्छ ।
अन्य अकाउन्टबाट समेत फन्नी क्लिप्स भन्दै रमाइला दृश्य सार्वजनिक गरिएका छन् ।
फिल्ममा मुख्यमध्येको एक रोलमा रहेका आशिष घिमिरेका बुवा केदारप्रसाद घिमिरे (माग्ने बुढा) ले उक्त चलचित्रमा अभिनय गरेका छन् भन्ने विषय निर्माता पक्षले प्रत्यक्ष रूपमा कतै सार्वजनिक गरेको थिएन ।
तर, टिकटकमा माग्ने बुढा कुन भूमिकामा छन्, आशिष घिमिरेकी आमाको भूमिकामा को छिन् सबै क्लिप खुल्लमखुल्ला राखिएका छन् । त्यस्तै ‘होस्टेल ३’ मा पारस बम जेल गएको दृश्य पनि टिकटकमा भाइरल भइरहेको छ ।
सार्वजनिक भएका क्लिपहरूबाट चलचित्रको कथा, घटनाक्रम सबै सजिलै अड्कल गर्न सकिन्छ ।
यस चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, हेना नगरकोटी, पदम तामाङ, समा पराजुली, रिहान गिरी लगायतको अभिनय छ । यो चलचित्र कलेज तथा होस्टेल जीवनको कथामा आधारित छ ।
पछिल्ला केही वर्षदेखि चलचित्र प्रदर्शनमा आउनेबित्तिकै महत्त्वपूर्ण दृश्य बाहिरिने क्रम बढेको छ । हालै मात्र सार्वजनिक भएका लाज शरणम्, रेशम फिलिली, सारङ्गी, छक्का पञ्जा ५, १२ गाउँ, बेहुली फ्रम मेघौली लगायतका चलचित्रका महत्त्वपूर्ण दृश्य यसरी नै बाहिरिएका थिए ।
यसरी महत्त्वपूर्ण दृश्य बाहिरिंदा चलचित्रको व्यापारमा समेत नकारात्मक असर पर्ने गरेको बताइन्छ ।