काठमाडौं । सन् २०२५ मा आईफोन १६ प्रो म्याक्स वा सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा जस्ता फ्ल्यागशिप फोन खरिद गर्न धेरै रकम लाग्छ । साओमी, ओप्पो, भिभो, नथिङ, अनर जस्ता ब्रान्डका इन्ट्रीदेखि मिडरेञ्ज फोन पनि हरेक वर्ष परिवर्तन गर्न सकस नै हुन्छ ।
त्यसैले जुनसुकै फोन किने पनि लामो समयसम्म चलाउन सके राम्रो हुन्छ । यसरी चलाउँदा फोनमा गरेको खर्च धेरै वर्षसम्म बाँडिन्छ र फाइदा हुन्छ । हरेक वर्षमा नयाँ फोन किन्नुभन्दा त्यही फोन टिकाएर लामो समयसम्म प्रयोग गर्नु राम्रो हो ।
यसो गर्दा तपाईंको पैसा मात्र जोगिँदैन, वातावरणलाई पनि फाइदा हुन्छ । किनकि तपाईंजस्ता लाखौं व्यक्तिले हरेक वर्ष फोन परिवर्तन गरेनन् भने नयाँ फोन धेरै बनाउनु पर्दैन । यसले गर्दा पुराना फोनहरू फोहोरको थुप्रोमा पुग्दैनन् । अझ राम्रो कुरा के छ भने एप्पल, गुगल, सामसङ जस्ता कम्पनीले आफ्ना फोनलाई धेरै वर्षसम्म सफ्टवेयर अपडेट दिन्छन् । यसको अर्थ अब फोन धेरै वर्षसम्म सुरक्षित रूपमा चलाउन सकिन्छ ।
अब बाँकी कुरा तपाईंमा भर पर्छ । फोनलाई ७-८ वर्षसम्म राम्रो अवस्थामा राख्न केही मेहनत, धेरै हेरचाह र केही उपायहरू अपनाउनुपर्छ । यहाँ फोनलाई सकेसम्म धेरै समयसम्म टिकाउन आवश्यक हुने महत्त्वपूर्ण उपायको चर्चा गरिएको छ:
सबै अपडेट इन्स्टल गर्नुहोस्
सेक्युरिटी (सुरक्षा) अपडेट नभएको फोन चलाउनु सुरक्षित हुँदैन । पहिले धेरै एन्ड्रोइड फोन बनाउने कम्पनीले २-३ वर्षसम्म मात्र अपडेट दिन्थे । तर अब गुगल पिक्सेल ९ जस्ता फोनमा ७ वर्षसम्म सफ्टवेयर अपडेट पाइन्छ । तर, वनप्लस नर्ड सीई ४ लाइट जस्ता सस्तो फोनमा केही वर्षको लागि मात्र अपडेट उपलब्ध हुन्छ । नयाँ फोन किन्दा कति समयसम्म अपडेट पाइन्छ, त्यो जाँच गर्नुहोस् । यसले फोन चलाउन्जेल पैसाको सही मूल्य दिन्छ ।
फोनलाई नयाँ सेक्युरिटी अपडेटमा अपडेट गर्नाले ह्याकरबाट जोगिन सकिन्छ । र फोनमा नराम्रो सफ्टवेयर आउनबाट रोक्छ । यसले फोनलाई केही स्लो बनाउन सक्छ । प्रायः फोनले आफै अपडेट गर्न अनुमति माग्छन् । र, तपाईंले अनुमति दिनुपर्ने हुन्छ । यदि तपाईं पुरानो फोन चलाउँदै हुनुहुन्छ भने सेटिङमा गएर सफ्टवेयर अपडेटमा क्लिक गरी अपडेट छ कि छैन, जाँच गर्नुहोस् ।
एपलाई पनि अपडेट गर्नुपर्छ । एपलाई आफै अपडेट हुन दिनु राम्रो हुन्छ । यदि त्यसो गर्न चाहनु हुन्न भने गुगल प्ले वा एप स्टोर गई एपको नयाँ भर्सन आएको छ कि छैन जाँच गर्नुहोस् ।
फोन केस प्रयोग गर्नुहोस्
यदि तपाईंले भर्खरै नयाँ फोन किन्नुभएको छ भने त्यसलाई सुरक्षित राख्नको लागि तुरुन्तै केस (कभर) लगाउनुहोस् । फोन खसिहाले पनि कभर लगाएको छ भने क्षति कम हुन्छ । कतिपय कभरले त फोन खस्नबाट जोगाउँछन् पनि । साथै कभर लगाएको फोन छ भने खल्तीमा राख्दा साना दाग बस्ने वा कोरिने समस्या पनि हुँदैन ।
फोन सुरक्षित राख्न स्क्रिन प्रोटेक्टर पनि राम्रो उपाय हो । किनकि फोनको स्क्रिनमा एकपटक क्षति पुगेपछि त्यसलाई ठीक पार्न गाह्रो हुन्छ । यदि स्क्रिन प्रोटेक्टरमा दाग लाग्यो वा फुट्यो भने त्यसलाई सजिलै परिवर्तन गर्न सकिन्छ । यसले तपाईंको फोनलाई धेरै वर्षसम्म नयाँ देखाउँछ । यदि तपाईं फोनलाई धेरै वर्षसम्म नराख्ने योजनामा हुनुहुन्छ भने पनि यसलाई राम्रो अवस्थामा राख्दा बेच्ने बेलामा राम्रो मूल्य पाउन सक्नुहुन्छ ।
फोन होइन, ब्याट्री परिवर्तन गर्नुहोस्
समयसँगै तपाईंको फोनको ब्याट्री कमजोर हुँदै जान्छ र नयाँ हुँदा जति टिक्थ्यो, त्यति टिक्दैन । यो सबै जसो फोनमा हुन्छ । केही पुराना फोनको ब्याट्रीले ५० प्रतिशतसम्म मात्र काम गर्न सक्छ । त्यसपछि कतिबेला शून्य प्रतिशत हुन्छ थाहै हुँदैन । तपाईंको फोनले ब्याट्रीले पर्याप्त शक्ति दिन नसकेको र प्रोसेसरलाई कम शक्तिमा चलाउनुपर्ने चेतावनी बारम्बार दिन सक्छ ।
चिन्ता नगर्नुहोस्, धेरैजसो फोनको ब्याट्री आफैले परिवर्तन गर्न सकिन्छ । आईफिक्सइटले विभिन्न फोनका लागि किटहरू र ब्याट्रीहरू बेच्छ । तर, नेपालबाट आईफिक्सइटका सामान खरिद गर्न सकिने भएकाले मर्मत गर्न विभिन्न ठाउँमा लान सक्नुहुन्छ । यदि तपाईं आफैले ब्याट्री परिवर्तन गर्न सक्नुहुन्न भने यो राम्रो विकल्प हुन सक्छ । तर सबै ठाउँ आधिकारिक नहुन सक्छन् । त्यसैले विचार पुर्याउनु होला ।
नचाहिने एप र फोटो हटाउनुहोस्
यदि तपाईंले आफ्नो फोन धेरै वर्षदेखि चलाइरहनुभएको छ भने त्यसमा धेरै अनावश्यक फोटो र एप हुन सक्छन् । धेरै फोटो र एप हुँदा फोनको स्टोरेज भरिन्छ र फोनको पर्फमेन्समा असर पर्छ ।
स्टोरेजको कमीले फोनको पर्फमेन्समा नराम्रो असर पार्छ र सफ्टवेयर अपडेट गर्न ठाउँ पुग्दैन । त्यसैले आफ्नो फोटो र भिडियोलाई क्लाउड वा एक्सटर्नल स्टोरेज डिभाइसमा ब्याकअप गर्नुहोस् । र अनावश्यक रूपमा ठाउँ लिने चीज हटाउनुहोस् ।
यदि तपाईंको फोन धेरै पुरानो भयो र धेरै ढिलो चलिरहेको छ भने आफ्नो महत्त्वपूर्ण डेटाको ब्याकअप लिनुहोस् र फोनलाई फ्याक्ट्री रिसेट गर्नुहोस् । त्यसपछि आवश्यक एप मात्र इन्स्टल गर्नुहोस् । यसो गर्नु भयो भने फोन फास्ट चल्न थाल्छ ।
पोर्ट सफा गर्नुहोस्
आफ्नो फोनलाई बारम्बार सफा गर्नुहोस् । खल्तीको फोहोर वा बाटोको धुलोले फोनमा समस्या ल्याउन सक्छ । विशेषगरी चार्ज गर्ने ठाउँमा (पोर्ट) फोहोर जम्मा हुन्छ । यसले गर्दा चार्जर राम्ररी कनेक्ट हुँदैन र फोन चार्ज नहुने समस्या देखिन सक्छ ।
तपाईंलाई चार्जिङ पोर्ट वा केबल बिग्रेको जस्तो लाग्न सक्छ, तर वास्तवमा पोर्ट फोहोरले भरिएको हुन सक्छ । बेला-बेलामा काठको सिन्काले पोर्टमा जम्मा भएको फोहोर हटाउनुहोस् ।
पुरानो ब्रस (सफा र सुक्खा) प्रयोग गरेर स्पिकर र माइक्रोफोन वरिपरि जम्मा भएको फोहोरलाई सफा गर्नुहोस् । यसले फोन कलमा स्पष्ट सुन्न मद्दत पुग्छ । साथै तपाईंको आवाज पनि स्पष्ट आउँछ ।