काठमाडौं । एप्पलले आगामी सेप्टेम्बरमा अहिलेसम्मकै पातलो आईफोन ल्याउने तयारी गरेको छ । सम्भावित नाम ‘आईफोन १७ एयर’ हुने यस मोडेलमा कुनै पनि पोर्ट नहुने चर्चा थियो । अर्थात् यसमा चार्ज गर्ने ठाउँ पनि नहुने भनिएको थियो ।
पोर्ट फ्री फोन कस्तो होला भन्ने चर्चा चलिरहँदा हालैको एक खबरले भने तत्काल यस्तो फिचरयुक्त आईफोन नआउने संकेत गरेको छ । ब्लुम्बर्गको हालैको एक रिपोर्टअनुसार युरोपेली संघ (ईयू)का नियमहरूले एप्पललाई यूएसबी स्ट्यान्डर्ड अपनाउन बाध्य पारेपछि हालका लागि यो योजना रोकिएको हो ।
ईयूको नियम अनुसार फोनमा यूएसबी-सी पोर्ट हुनैपर्छ । प्रयोगकर्तालाई पनि चार्ज गर्ने पोर्ट नहुँदा समस्या हुनसक्ने भएकाले एप्पलले अहिलेलाई यो योजना स्थगित गरेको ब्लुम्बर्ग रिपोर्टमा उल्लेख छ ।
विश्लेषकहरूका अनुसार ‘आईफोन १७ एयर’ एप्पलका लागि ठूलो परिवर्तनको सुरुवात हुनेछ । अल्ट्रा थिन डिजाइनमा आउने यस मोडेलमा डाइनामिक आइल्याण्ड भएको ६.६ इन्चको डिस्प्ले, क्यामेरा कन्ट्रोल बटन, एउटा रियर क्यामेरा, ई-सिम सपोर्ट, पछिल्ला आईफोनहरूको जस्तै ब्याट्री लाइफ लगायतका फिचर हुने चर्चा छ ।
भविष्यमा एप्पलले पोर्ट बिनाको फोन ल्याए यो पूर्ण रूपमा वायरलेस चार्जिङमा निर्भर हुनेछ ।