काठमाडौं । नेपाली बजारमा भिभो भी५० स्मार्टफोनको प्रि-बुकिङ सुरु भएको छ । मंगलबारदेखि सुरु भएको प्रि-बुकिङ २४ मार्चसम्म खुला रहने कम्पनीले जनाएको छ । प्रि-अर्डर गर्ने ग्राहकले भिभो टीडब्लूएस इयरबड्स उपहारस्वरूप पाउनेछन् । साथै ३० अप्रिलसम्म यो स्मार्टफोन खरिद गर्ने ग्राहकले ५० दिनसम्म हार्डवेयर साट्न सक्ने विशेष अफर पनि पाउनेछन् ।
६.७७ इन्चको फोरडी कर्भ डिस्प्ले भएको यो स्मार्टफोन स्टारी ब्लु र सटिन ब्ल्याक रंगमा उपलब्ध छ । स्टारी ब्लु संस्करणको तौल १९९ ग्राम र सटिन ब्ल्याक संस्करणको तौल १८९ ग्राम रहेको छ । यसमा स्न्यापड्रागन सेभेन जेन थ्री फाइभजी प्रोसेसर, १२ जीबी र्याम र २५६ जीबी स्टोरेज क्षमता दिइएको छ ।
६००० एमएएच ब्याट्री भएको भिभो भी५० मा अन्य समान ब्याट्री क्षमताका फोनभन्दा १६.५ प्रतिशत सानो ब्याट्री प्रयोग गरिएको बताइएको छ । यो फोन ९० वाट फास्ट चार्जरको साथमा आउँछ, जुन एक पटकको चार्जमा २४.५ दिनसम्म स्ट्यान्डबाई रहने दाबी गरिएको छ । कम्पनीका अनुसार यो स्मार्टफोनले २१ घण्टासम्म अनलाइन भिडिओ प्लेब्याक वा ९.५ घण्टासम्म लगातार पब्जी गेम खेल्न सक्ने क्षमता राख्छ ।
सुरक्षाका लागि फोनमा इन-डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर उपलब्ध छ । आईपी ६८/६९ रेटिङ रहेको यो स्मार्टफोनले पानी, धूलो र उच्च तापक्रमबाट सुरक्षा प्रदान गर्ने बताइएको छ । यसमा गुगल जेमिनाई, सर्कल टु सर्च, भ्वाइस नोट, २५ भाषाका लागि एआई ट्रान्सक्रिप्ट असिस्ट, लाइभ टेक्स्ट, स्क्रिन ट्रान्सलेसन जस्ता एआई टुल उपलब्ध छन् ।
भिभो भी५० मा पछाडि ५० मेगापिक्सेल (Zeiss OIS) को मुख्य क्यामेरा र ५० मेगापिक्सेलकै अल्ट्रा-वाइड एङ्गल क्यामेरा दिइएको छ । फ्रन्टमा पनि ५० मेगापिक्सेलकै क्यामेरा छ । एआई इमेज स्टुडियोअन्तर्गत एआई अरा लाइट पोर्ट्रेट, एआई इरेज २.०, एआई फोटो इन्ह्यान्स र लाइभ कटआउट जस्ता फिचर उपलब्ध छन् ।
नेपाली बजारमा यो फोनको मूल्य ६७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।