काठमाडौं । नौ महिनासम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा रहेका नासाका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोर नेपाली समय अनुसार बुधबार बिहान सकुशल पृथ्वी फर्किए ।
तर, उनीहरू फर्किनासाथ सामाजिक सञ्जालमा सुनिता विलियम्सले हिन्दु मन्दिरमा पूजा गरेको भन्दै एउटा तस्बिर भाइरल बनाइएको छ । विशेषगरी फेसबुकमा अन्तरिक्ष यात्राबाट फर्किएपछि सुनिता पूजा गर्न गएको आशयसहितका तस्बिर शेयर भइरहेका छन् । यद्यपि, टेकपानाको तथ्य-जाँचमा उक्त तस्बिर हालको नभई करिब १२ वर्ष पुरानो रहेको पुष्टि भएको छ ।
दाबी
सुनिता विलियम्स हिन्दु धर्मावलम्बी रहेको र अन्तरिक्षबाट फर्किएपछि पूजापाठ गर्न गएको दाबी गर्दै अनलाइनमा सुनिताको फोटोसहितका सामग्री पोस्ट भइरहेका छन् । १९ मार्च, २०२५ (बुधबार) साँझ ७:२७ बजे ‘Saraju Online’ नामको समाचार पोर्टलले “अन्तरिक्षबाट फर्किएकी सुनिता विलियम्सको पूजापाठ, अन्धविश्वास कि,आध्यात्मिक चेतना ?” शीर्षकमा समाचार प्रकाशित गरेको छ । उक्त समाचारमा “सुनिता अन्तरिक्षबाट फर्केपछि आरध्यदेवको पूजापाठमा जुटेको” दाबी गरिएको छ । समाचारको ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क हेर्नुहोस् ।
त्यस्तै, ‘Mero Dang’ नामक फेसबुक ग्रुपमा ‘Suraj Neupane’ नामका प्रयोगकर्ताले ‘सनातन धर्म विरोधिहरु- मान्छे अन्तरिक्षमा पुगी सके, टपरे ठग बाहुनहरु ढुङ्गा पूजा गर्दै बस । Meanwhile someone after returning from अन्तरिक्ष’ भन्दै पोस्ट गरेका छन् । उक्त पोस्टको ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क हेर्नुहोस् ।
‘Mohan Lama Rumba’ नामका फेसबुक प्रयोगकर्ताले पनि उस्तै दाबी गर्दै फोटोसहितको पोस्ट गरेका छन्, जसलाई ३५ लाख फलोअर भएको 'ताजा खबर' पेज र ३४ लाख फलोअर भएको 'साझा पेज' ले शेयर गरेका छन् । उक्त पोस्टमा सुनिताले पूजा गरिरहेको र अन्तरिक्ष यात्रामा जाने क्रममा लगाउने पोसाक लगाएको फोटो राखिएको छ ।
रुम्बाको उक्त पोस्टबाट स्टाटस कपी गर्दै ३५ लाख बढी फलोअर रहेको फेसबुक पेज ‘ताजा खबर’ र ३४ लाख बढी फलोअर रहेको ‘साझा पेज’ले पनि शेयर गरेका छन् । ताजा खबरको पोस्ट र आर्काइभ लिङ्क र साझा पेजको पोस्ट र अर्काइभ लिङ्क हेर्नुहोस् ।
यस्तै नेपाल संस्कृत विश्वविद्यालयका सह-प्राध्यापक डा. मतिप्रसाद ढकालले सुनिता विलियम्स पृथ्वीमा फर्किएपछि पूजा पाठ गरेको भन्दै उक्त भाइरल तस्बिर शेयर गरेका छन् ।
उनले लेखेका छन्, “हामीहरू सानो पद र प्रतिष्ठा पाउँदा बित्तिकै आफूले टेकेर हुर्किएको सनातन धर्मसंस्कृतिलाई बिर्सिन्छौँ र पराइ धर्मसंस्कृति अँगाल्न लालायित हुन्छौँ तर उनीहरू महिनौँ अन्तरिक्षमा बिताएर धरतीमा फर्किएपछि पनि सबैभन्दा महान् त हाम्रै धरातलमा हुर्किएको सनातन धर्मसंस्कृति नै रहेछ भन्ने ठानेर व्यवहारमा अपनाउँदा रहेछन् ।”
डा. कोइरालाले फेसबुकमा शेयर गरेको फोटो र त्यसको आर्काइभ लिङ्क हेर्नुहोस् ।
तथ्य-जाँच
टेकपानाले सुनिता विलियम्सको भाइरल तस्बिरको स्रोत पत्ता लगाउन गुगल रिभर्स इमेज सर्च गरेको थियो । खोजी गर्दा यो तस्बिर कम्तीमा १२ वर्ष पुरानो रहेको फेला पर्यो ।
सो क्रममा सुनिताको तस्बिर पहिलेदेखि नै प्रयोग भएका समाचारहरू फेला परे । सन् २०१९ मा ‘हिन्दी न्युज १८’ ले ‘गुजरात के इस मंदिर में क्यों होती है 'मुस्लिम महिला' की पूजा ?’ शीर्षकमा समाचार प्रकाशन गरेको पाइयो । उक्त समाचारमा गुजरातको झुलासन नामको गाउँमा सुनिताले डोला माताको मन्दिरमा मुस्लिम महिलाको पूजा गर्ने गरेको उल्लेख छ । साथै सुनिताको पुर्खा पनि त्यही गाउँको भएको जनाइएको छ । सोही समाचारमा हाल भाइरल भइरहेको सुनिताको तस्बिर देख्न सकिन्छ । समाचारको ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क हेर्नुहोस् ।
सुनिताको तस्बिर अपलोड भएको अझै पुरानो पोस्ट खोजी गर्ने क्रममा ‘द इन्डियन एक्सप्रेस’ले करिब १२ वर्षपहिले लेखेको समाचार फेला पर्यो । १४ अक्टोबर २०१३ मा प्रकाशित उक्त समाचारमा सुनिता विलियम्सले गुजरातमा रहेको आफ्नो पुर्ख्यौली गाउँ घुमेको फोटोहरू देख्न सकिन्छ । समाचारमा सुनिताले किशोरीहरूसँग अन्तर्क्रिया गरेको, विभिन्न व्यक्तिबाट सम्मान पाएका तस्बिरहरूसँगै हाल भाइरल भइरहेको तस्बिर पनि फेला पार्न सकिन्छ । द इन्डियन एक्सप्रेसले प्रकाशित गरेको उक्त समाचारको लिङ्क हेर्नुहोस् ।
उसो भए अन्तरिक्षबाट फर्किएपछि सुनिता के गर्दैछिन् त ? पृथ्वीमा फर्किने क्रममा अन्तरिक्ष यात्रुहरूलाई क्रुबाट ह्विलचियरमा राखेर निकालिएको थियो । नासाका अनुसार उनीहरूलाई गुरुत्वाकर्षणसँग अभ्यस्त हुन ४५ दिनसम्मको समय लाग्न सक्छ । त्यसैले सुनिता र बुचसहितका अन्तरिक्ष यात्रीहरूलाई नासाको जनसन स्पेस सेन्टरमा राखिएको छ । न्यूयोर्क पोस्टले उल्लेख गरेअनुसार उनीहरूलाई विशेष परीक्षणमार्फत ४५ दिनसम्म दैनिक दुई घण्टा फिजिकल थेरापी दिइनेछ । यो समयमा अन्तरिक्षमा गुरुत्वाकर्षण बिना रहेको समयमा उत्पन्न भएका शारीरिक असन्तुलनलाई सुधार गरिन्छ ।
दाबी
अन्तरिक्ष यात्राबाट पृथ्वी फर्किएर सुनिता विलियम्सले आराध्यदेवको पूजा गरिन् ।
दाबीकर्ता
‘सरजु अनलाइन’ सहित ‘ताजा खबर’, ‘साझा पेज’ लगायतका फेसबुक पेज र केही सामाजिक सञ्जाल प्रयोगकर्ता
तथ्य
सुनिता विलियम्सले मन्दिरमा पूजा गरेको तस्बिर उनी अन्तरिक्ष यात्राबाट फर्किएपछि खिचिएको होइन । यो तस्बिर कम्तीमा १२ वर्ष पहिला भारतको गुजरातमा खिचिएको हो । सुनिता विलियम्स भारतस्थित गुजरातमा घुम्न जाँदा त्यहाँ रहेको ‘डोला माता’ को मन्दिरको दर्शन गरेकी थिइन् । सोही तस्बिरलाई नौ महिना लामो अन्तरिक्ष यात्राबाट फर्किएपछि सुनिता पूजा गर्न गइन् भन्दै भाइरल बनाइएको छ ।
निष्कर्ष
अन्तरिक्षयात्री सुनिता विलियम्स अन्तरिक्ष यात्राबाट फर्किएर मन्दिर गएकी होइनन् । हाल सामाजिक सञ्जालमा फैलिएको तस्बिर नयाँ नभई करिब १२ वर्ष पुरानो हो, जुन उनले सन् २०१३ मा आफ्नो पुर्ख्यौली गाउँ झुलासन भ्रमण गर्दा खिचिएको थियो । अतः अहिले फैलाइएको दाबी भ्रामक रहेको टेकपानाको तथ्य-जाँचले पुष्टि गरेको छ ।
प्रतिक्रिया
तपाईंले हाम्रा सामाजिक सञ्जालका ह्यान्डल वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने अनलाइन तथा सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नुहुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।