काठमाडौं । विद्युतीय दुईपाङ्ग्रे सवारी साधनका लागि गोगोरोले काठमाडौं उपत्यकामा ४५ स्थानमा ब्याट्री स्वाप स्टेसन सञ्चालनमा ल्याएको छ । स्मार्ट स्कुटर बिक्री सुरु गर्नुअघि नै गोगोरोले ब्याट्री-स्वापिङ पूर्वाधार विस्तार गरेको हो ।
गोगोरो यस्ता स्वाप स्टेसनहरू रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरको दूरीमा राखिएको जनाएको छ । प्रयोगकर्तालाई छिटो र सहज ब्याट्री उपलब्ध गराउने गरी यस्तो पूर्वाधार विस्तार गरिएको कम्पनीको भनाइ छ ।
ब्याट्री स्वाप गर्न ६ सेकेन्ड मात्र लाग्ने भएकाले सवारीधनीले चार्जिङका लागि पर्खनुपर्ने समस्या हट्ने कम्पनीको दाबी छ । हाल यी स्टेसनहरू पेट्रोलपम्प, सुपरमार्केट तथा व्यस्त स्थानहरूमा राखिएकोछ ।
गोगोरोको नेपालस्थित आधिकारिक वितरक नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले काठमाडौंमा दैनिक १०० भन्दा बढी ब्याट्री स्वाप भइरहेको जानकारी दिए । उनले गोगोरोको दीर्घकालीन योजनाअनुसार नेपालमा स्मार्ट इलेक्ट्रिक यातायात प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यी ४५ स्वाप स्टेसनहरू कम्पनीको पहिलो चरणको विस्तार मात्र भएको उनले बताए ।
गोगोरोले ताइवान, फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल र सिंगापुरसहित नेपालमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।