close

टेकपाना फ्याक्टचेकः नझुक्किनुहोस् ! नेपालमा बैंक खाता भाडामा दिन पाइँदैन‍, दिए ठगीमा पर्नुहोला

हिक्मत आचार्य हिक्मत आचार्य

चैत १५, २०८१ १६:३६

टेकपाना फ्याक्टचेकः नझुक्किनुहोस् ! नेपालमा बैंक खाता भाडामा दिन पाइँदैन‍, दिए ठगीमा पर्नुहोला

काठमाडौं । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा बैंक खाता भाडामा लिने विज्ञापनले चर्चा पाइरहेको छ । ‘एनपीआर रेन्टल एजेन्ट’ नामक पेजले पोस्ट बुस्ट गरेर बैंक खाता भाडामा लिने विज्ञापन अपलोड गरेको छ ।

तर, टेकपाना फ्याक्टचेकले यो विज्ञापन भ्रामक रहेको देखाएको छ । नेपालमा बैंक खाता भाडामा दिन मिल्दैन । यदि कसैले आफ्नो खाता भाडामा दियो र उक्त खाताबाट अरू कसैले अनलाइन ठगी वा अपराध गर्‍यो भने खाता भाडामा दिने व्यक्ति फस्ने सम्भावना हुन्छ ।

दाबी

२६२ फलोअर भएको ‘एनपीआर रेन्टल एजेन्ट’ नामक फेसबुक पेजले २७ मे २०२४ मा एक पोस्ट राखेको थियो । उक्त पोस्टमा बैंक अकाउन्ट भाडामा लगाउनुहोस् भन्दै सम्पर्क गर्न आग्रह गरिएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क आर्काइभ लिङ्क । 

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ११ हजार बढी रियाक्सन, ५३२ बढी कमेन्ट र ८३ शेयर आएका छन् । पोस्टको क्याप्सनमा ‘हामीलाई सम्पर्क गर्नुहोस्’ लेखिएको छ । त्यसमा अपलोड भएको फोटोमा भने ‘बैंक कार्ड भाडामा लिनुहोस्’, ‘सबै बैंक अकाउन्ट स्वीकार गर्नुहोस्’, ‘साप्ताहिक भुक्तानी’, ‘उच्च तलब आय’ लेखिएको छ । शब्द भने मिलेका देखिंदैनन् ।

फोटोको अन्तिममा ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, हिमालयल बैंक र कुमारी बैंकको नाम उल्लेख छ । 

तथ्यजाँच 

‘एनपीआर रेन्टल एजेन्ट’ नामक फेसबुक पेजले २७ मे २०२४ मा बैंक खाता भाडामा दिएबापत रकम दिने दाबीसहितको पोस्ट राखेको थियो । सोही दिन खुलेको उक्त पेजलाई विश्वास गरेर धेरैले आफ्नो बैंक खाता भाडामा दिएको दाबी गरेका छन् ।

फेसबुक एड लाइब्रेरीमा हेर्दा यो पोस्ट २७ नोभम्बरदेखि शुल्क तिरेर दुई पटक उही पोस्ट बुस्ट गरेको देखिन्छ । यसलाई चार ओटा खाताले मलेसियादेखि सञ्जालन गरेको फेसबुक पेज ट्रान्सप्यारेन्सीबाट स्पष्ट हुन्छ । 

टेकपानाले ग्राहक बनेर उनीहरूले खाता कसरी लिन्छन् र कसरी प्रयोग गर्छन् भन्ने बुझ्न खोज्यो । त्यसका लागि फेसबुक पेजमा म्यासेज गरेर ह्वाट्सएप नम्बर प्राप्त गर्‍यो । ह्वाट्सएपमा सम्पर्क गर्दा, उक्त नम्बरका सञ्चालकले खाता भाडामा दिए मासिक २३ हजार रुपैयाँ कमाउन सकिने प्रलोभन देखाए । उनीहरूले अनलाइन शपिङ स्टोरका लागि सबै बैंक खाता भाडामा लिने बताए । यसका लागि प्रयोगकर्ताले अकाउन्ट नम्बर, पासवर्ड र ओटीपी पठाउनु पर्ने उनले बताए । 

यसरी बैंक खाता भाडामा लिन/दिन मिल्छ वा मिल्दैन भन्ने बुझ्न टेकपानाले नेपाल राष्ट्र बैंकका सहप्रवक्ता एवं सूचना अधिकारी सुमन न्यौपानलेलाई सम्पर्क गर्‍यो । उनले व्यक्तिगत प्रयोजनका लागि खोलिएको बैंक अकाउन्ट भाडामा लिन वा दिनु गैरकानुनी भएको बताए । “बैंक खाता एउटा संस्थाको हुन्छ, अर्को व्यक्तिको हुन्छ । व्यक्तिको खाता भनेको विशुद्ध व्यक्तिको अकाउन्ट हो,” न्यौपानेले भने, “अरूलाई पासवर्ड र लगइन विवरण पनि दिन मिल्दैन । भाडामा दिने भन्ने त हुँदै हुँदैन । संस्थागत अकाउन्ट पनि भाडामा लिने दिने भन्ने हुँदैन ।” 

नेपाल बैंक लिमिटेडका प्रवक्ता एवं सूचना अधिकारी होमबहादुर खड्काले पनि बैंक अकाउन्ट भाडामा लिने वा दिने काम गैरकानुनी भएको बताए । “त्यो शतप्रतिशत फ्रड हो,” खड्काले भने, “बैंक खाता भाडामा लिने वा दिने भन्ने हुँदैन ।”

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ मा ‘बैंक खाता भाडामा दिने’ भन्ने ठ्याक्कै शब्दावली प्रयोग नगरिए पनि, कानुनले स्पष्ट रूपमा कानुनी अधिकार बिना अर्काे व्यक्तिको नाममा बैंक खाता खोल्न वा प्रयोग गर्न अनुमति दिन निषेध गरेको उल्लेख छ । 

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले अनलाइन ठगीका घटनामा पीडकले यसरी नै प्राप्त गरेका बैंक अकाउन्ट प्रयोग गर्ने गरेको बताए । उनले बैंक खाता भाडामा दिने व्यक्ति प्रतिवादी बन्न सक्ने जोखिम रहेको उल्लेख गरे । बैंक खाता भाडामा दिन वा लिन कानुनी रूपमा मिल्छ वा मिल्दैन भन्ने विषयमा आफू स्पष्ट नभएको भए पनि यसरी लिइएका खाताहरू अनलाइन ठगी तथा आपराधिक गतिविधिमा दुरुपयोग हुने गरेको उनले बताए ।

सोही फेसबुक पेजमा कमेन्ट गर्दै एक प्रयोगकर्तलाे आफ्नो अनुभव राख्दै भनेका छन्, “यो स्क्याम हो । यसमा काम गर्दा मेरो अकाउन्ट पनि फ्रिज भयो । साथै प्रहरीले मलाई फोन गरेर हावामा ५० हजार तिरायो । त्यति मात्र नभएर मेरो अकाउन्टमा आएको जति पनि पैसा मैले नै तिर्नु पर्ने रे ! हेर त ।” त्यसमा कमेन्ट गर्ने प्रेम थापा भन्छन्, “यो स्क्याम हो है साथीहरू । तपाईंको अकाउन्टमा गैरकानुनी रकम जम्मा हुन्छ । तपाईंको कार्डबाट स्क्यामरले रकम निकाल्छ । पछि तपाईं फस्नुहुन्छ ।”

यसअघि नेपाल फ्याक्ट चेकले पनि यस विषयमा तथ्यजाँच गरेको थियो । उक्त तथ्यजाँचले पनि नेपालमा बैंक खाता भाडामा नदिने पुष्टि गरेको छ । 

दाबी

बैंक खाता भाडामा दिएर मासिक २३ हजार रुपैयाँ कमाउन सकिने ।

दाबीकर्ता

फेसबुक पेज- एनपीआर रेन्टल एजेन्ट

तथ्य

कुनै पनि प्रयोजनका लागि खोलिएको बैंक खाता भाडामा दिन मिल्दैन । 

निष्कर्ष

एनपीआर रेन्टल एजेन्टले दाबी गरेको जस्तो नेपालमा बैंक खाता भाडामा लिन/दिन मिल्दैन । यसरी विज्ञापन गर्दै खाता मागिएको छ भने त्यो अनलाइन ठगी वा आपराधिक कामसँग जोडिएको हुन सक्छ । 

प्रतिक्रिया

तपाईंले हाम्रा सामाजिक सञ्जालका ह्यान्डल वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नुहुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: चैत १८, २०८१ ०:४९