काठमाडौं । च्याटजीपीटीको शुल्क तिरेर आर्ट बनाउन मिल्ने फिचर सबै प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध भएको छ । च्याटजीपीटी निर्माता ओपनएआईले जीपीटी फोर-ओ मोडेलमा आधारित यस इमेज जेनेरेसन टुल सबैका लागि उपलब्ध गराएको हो ।
ओपनएआईले २६ मार्चमा गिब्ली शैलीको आर्ट बनाउन सक्ने फिचर सार्वजनिक गरेको थियो । स्टुडियो गिब्ली आर्ट एउटा यस्तो कला शैली हो, जुन जापानी स्टुडियोले सुरु गरेको हो । यसमा हलुका र मधुर रङहरूको प्रयोग गरिन्छ । साथै कलाकृतिमा विस्तृत विवरणहरूमा ध्यान दिइन्छ ।
सुरुवाती चरणमा यो फिचर च्याटजीपीटीका प्रो, प्लस र टिम प्रयोगकर्ताका लागि मात्र उपलब्ध थियो । अब भने सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनेछन् ।
अहिले विश्वव्यापी रूपमा गिब्ली आर्टले निकै चर्चा पाइरहेका छन् । सामाजिक सञ्जाल यस्ता आर्टले भरिभराउ छ ।
ओपनएआईका सीईओ साम अल्टम्यानले एक्समा एक पोस्ट गर्दै आर्ट बनाउन मिल्ने फिचरको अत्यधिक प्रयोगले कम्पनीका कम्प्युटरहरू (जीपीयू) लाई धेरै दबाब पुगेको बताएका छन् ।
यस फिचरका निःशुल्क प्रयोगकर्ताका लागि केही सीमा भने तोकिएको छ । प्रयोगकर्ताले एउटा फोटो बनाएपछि अर्को फोटो तयार पार्न केही समय कुर्नुपर्छ । थप फोटो बनाउन चाहने प्रयोगकर्ताले च्याटजीपीटीको शुल्क तिरेर चलाउने (च्याटजीपीटी प्लस) सेवा लिनुपर्ने वा सीमा रिसेट हुनका लागि पर्खिनुपर्ने कम्पनीले जनाएको छ ।
कसरी प्रयोग गर्ने ?
१) सबैभन्दा पहिले यहाँ क्लिक गरेर च्याटजीपीटीमा जानुहोस् । (यदि अकाउन्ट साइनअप गर्नु भएको छैन भने साइनअप गर्नुहोस् ।)
२) त्यसपछि प्लसको आइकनमा थिचेर आफूले गिब्ली शैलीमा रूपान्तरण गर्न चाहेको फोटो छान्नुहोस् ।
३) च्याटबक्समा ‘turn this image into ghibli art style’ लेख्नुहोस्। (आवश्यकता अनुसार प्रम्प्ट परिमार्जन गर्न पनि सक्नुहुन्छ ।)
४) केही समयमै च्याटजीपीटीले तपाईँको लागि गिब्ली शैलीको आर्ट तयार पारिदिन्छ ।