close

थाहा पाइराख्नुहोस्, पीडीएफ फाइलमा सिग्नेचर गर्ने सजिलो तरिका

टेकपाना टेकपाना

चैत २०, २०८१ १५:८

थाहा पाइराख्नुहोस्, पीडीएफ फाइलमा सिग्नेचर गर्ने सजिलो तरिका

काठमाडौं । आजको डिजिटल युगमा कागजातमा सिग्नेचर गर्न अब प्रिन्ट, साइन वा स्क्यान गर्ने झन्झटिलो प्रक्रिया छैन । चाहे सरकारी कागजात होस्, सम्झौता पत्र, बैंकिङ सम्बन्धी कागजात वा कुनै अन्य आधिकारिक डकुमेन्ट, अब तपाईंले सीधै पीडीएफ फाइलमै डिजिटल सिग्नेचर गर्न सक्नुहुन्छ । 

मोबाइल एप, अनलाइन टुल वा कम्प्युटरको बिल्ट-इन सफ्टवेयर प्रयोग गरेर सजिलै विभिन्न फाइल फर्म्याटमा डिजिटल सिग्नेचर थप्न सकिन्छ । हामीसँग धेरै टुलको विकल्प भएपनि प्रायको रोजाइमा एडोबीको एक्रोब्याट रिडर (Adobe Acrobat Reader) सफ्टवेयर पर्ने गर्छ । 

यस सफ्टवेयरको मोबाइल एपबाट नि:शुल्क रूपमा पीडीएपमा सिग्नेचर राख्न सकिन्छ । डेस्कटपमा भर्सनमा भने थोरै शुल्क तिर्नुपर्ने हुन्छ । तर, यही काम अनलाइनमार्फत गर्न भने एडोबीले नि:शुल्क बनाएको छ । आज हामी यस टुल प्रयोग गरेर पीडीएफमा सिग्नेचर राख्ने तरिका सिकाउँदै छौं: 

-एडोबी एक्रोब्याटको मोबाइल एप (Adobe Acrobat Reader) डाउनलोड गर्नुहोस् । यो एप आईओएस तथा एन्ड्रोइड दुवैमा डाउनलोड गर्न सकिन्छ ।

-अब एप ओपन गरी र सिग्नेचर गर्नुपर्ने पीडीएफ फाइल खोल्नुहोस् । 

- ‘Fill & Sign’ मा ट्याप गर्नुहोस् । जुन स्क्रिनको तल्लो भागमा भएको टुलबारमा देखिन्छ । 

-अब कलम जस्तो देखिने आइकनमा ट्याप गर्नुहोस् । 

- यसपछि ‘Add Signature’ मा ट्याप गर्नुहोस् । यसपछि सिग्नेचर बनाउन तपाईंले हात वा स्टाइलस प्रयोग गर्न सक्नुहुन्छ । अथवा, यसअघि तपाईंले खिचेको आफ्नो सिग्नेचरको फोटो अपलोड गर्न सक्नुहुन्छ । (यसका लागि खाली पानामा सिग्नेचर गरेर आफ्नै स्मार्टफोनबाट खिच्न सक्नुहुन्छ ।) 

-यति गरेपछि माथिल्लो दायाँ भागमा भएको ‘Done’ मा ट्याप गर्नुहोस् । उक्त सिग्नेचरलाई तपाईंले यताउता चलाएर राख्नुपर्ने ठाउँमा राख्न सक्नुहुन्छ ।

फोनमा पर्याप्त स्टोरेज छैन भने तपाईंले अनलाइन टुलहरू प्रयोग गर्न सक्नुहुन्छ, जसमा आई लभ पीडीएफ, स्मल पीडीएफ, एडोबी लगायतका टुल छन् ।

 डेस्कटप/ल्यापटपबाट कसरी तयार पार्ने ? 

  • सबैभन्दा पहिले पीसीमा ‘Adobe Acrobat Reader DC’ डाउनलोड/इन्स्टल गर्नुहोस् ।

  • अब सिग्नेचर गर्नुपर्ने पीडीएफ फाइल खोल्नुहोस् ।

  • ‘Tools’ मा गएर ‘Fill & Sign’ अप्सन रोज्नुहोस् ।

  • ‘Sign’ मा क्लिक गरी ‘Add Signature’ छान्नुहोस् ।

  • टाइप, ड्र (Draw) वा इमेज अपलोड गरेर सिग्नेचर थप्नुहोस् ।

  • सिग्नेचर राख्नुपर्ने ठाउँमा क्लिक गरेर सिग्नेचर राख्नुहोस् 

  • फाइल सुरक्षित गरी पठाउनुहोस् ।

डेस्कटप भर्सनमा सिग्नेचरको लागि केही विशेष सुविधा प्रयोग गर्न शुल्क लाग्ने भएकाले मोबाइल भर्सन नै प्रयोग गर्न हाम्रो सुझाव छ ।

यदि तपाईं सफ्टवेयर डाउनलोड गर्न चाहनुहुन्न भने अनलाइन टुलहरू प्रयोग गरेर पनि सजिलै पीडीएफमा सिग्नेचर गर्न सक्नुहुन्छ । यसमध्ये Adobe Fill & Sign, SignEasy, DocuSign Mobile, SignNow जस्ता एप उपयुक्त छन् । यी एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छन् ।

यदि एडोबी एक्रोब्याट वा अन्य एपहरू डाउनलोड नगरी कम्प्युटरमै उपलब्ध बिल्ट-इन टुलहरू प्रयोग गर्न चाहनुहुन्छ भने त्यो सुविधा पनि छ । विन्डोज प्रयोगकर्ताले माइक्रोसफ्ट एज (Microsoft Edge) मार्फत सजिलै सिग्नेचर तयार गर्न सक्छन् । विन्डोज १० वा ११ मा एज खोलेर आवश्यक पीडीएफ फाइल खोल्नुहोस् । त्यसपछि ‘Draw’ टुल चयन गरी माउस वा टचस्क्रिनको मद्दतले सिग्नेचर गर्नुहोस् । अन्त्यमा, फाइल सेभ गरेर पठाउनुहोस् ।

म्याक प्रयोगकर्ताका लागि ‘Preview App’ उपयोगी विकल्प हो । पीडीएफ खोल्न ‘Preview App’ प्रयोग गरी ‘Markup’ टुल चयन गर्नुपर्छ । त्यसपछि ‘Sign’ अप्सनमा गई ट्र्याकप्याड वा माउसबाट सिग्नेचर बनाउन सकिन्छ । सिग्नेचर तयार भएपछि आवश्यक स्थानमा क्लिक गरेर सुरक्षित गर्न सकिन्छ । यो विधि छिटो र सरल भए पनि एडभान्स सुविधाहरू भने सीमित हुन सक्छन् । तर, तत्काल आवश्यकता पूरा गर्न यो सहज उपाय हो ।

पछिल्लो अध्यावधिक: चैत २०, २०८१ १६:५६