काठमाडौं । गएको आइतबारदेखि फेसबुक, टिकटक, एक्स लगायतका सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भइरहेको छ । भिडिओमा प्रहरीले एक व्यक्तिलाई विमानस्थलभित्र लगिरहेको देखिन्छ ।
भिडिओमा घटना कहिले र किन भएको हो, प्रहरीको नियन्त्रणमा लिइएका व्यक्ति को हुन् र उनलाई किन ट्याक्सी पार्किङबाट भित्र लगिएको हो भन्ने विषय भने स्पष्ट देखिँदैन ।
सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्ने अधिकांश प्रयोगकर्ताले एउटै क्याप्सन कपी-पेस्ट गरेका छन् । प्रायः क्याप्सनमा भिडिओ भाइरल भइरहेको उल्लेख गरिएको छ भने केही प्रयोगकर्ताले प्रहरीको आलोचना गर्दै कारबाहीको मागसमेत गरेका छन् ।
भिडिओमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार देखिन्छ । विमानस्थल नजिकैको ट्याक्सी पार्किङ स्थलबाट तीन जना प्रहरीले एक युवकलाई समातेर विमानस्थलभित्र लैजाँदै गरेको देखिन्छ ।
भित्र लैजाँदै गर्दा युवक बेलाबेला प्रहरीसँग झर्किँदै गरेको दृश्य देखिन्छ । विमानस्थलभित्र पुगेपछि उनी र प्रहरीबीच केहीबेर धक्कामुक्की भएको पनि भिडिओमा देखिन्छ । यही दृश्यले सामाजिक सञ्जालमा प्रहरीमाथि आलोचना र बहस चर्किएको छ ।
यस विषयमा प्रष्ट पार्न टेकपानाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक लालध्वज सुवेदीलाई सोमबार भिडिओ देखाएर प्रतिक्रिया मागेको थियो । उनले उक्त घटना शनिबार भएको पुष्टि गरे ।
“हामीले भिडिओ हेर्यौं । सीसीटीभी फुटेजसँग दाँजेर पनि हेर्यौं,” सुवेदीले भने, “यो शनिबारको घटना हो ।”
प्रहरी उपरीक्षक सुवेदीका अनुसार भिडिओमा देखिएका युवक शनिबार बिहान ११ बजे विमानस्थल अवतरण गरेका थिए । विमानबाट ओर्लिएपछि उनी भन्सार कार्यालयमा सामान जाँच गर्न गए । “सामान जाँचको प्रक्रिया देखेर युवक हैरान भएका रहेछन् । शर्ट टेम्पर खालको व्यक्ति भएकाले झन्किएछन्,” सुवेदीले भने, “त्यसपछि उनी सामान लिएर ट्याक्सी पार्किङतर्फ गएका थिए ।”
ट्याक्सी चालकसँग पनि युवकको विवाद भएको र हानाहानको अवस्था सिर्जना भएपछि ड्युटीमा खटिएका प्रहरीले युवकलाई पार्किङ क्षेत्रबाटै नियन्त्रणमा लिएको सुवेदीले बताए । “नियन्त्रणमा लिएपछि पनि युवक प्रहरीसँग जाइलागे । नियन्त्रण गर्न खोज्दा केही धक्कामुक्की भएको हो,” उनले भने ।
विमानस्थल कार्यालयभित्र लगिसकेपछि युवककी श्रीमतीले प्रहरीसँग कुराकानी गरेकी थिइन् । त्यसपछि युवकलाई उनको श्रीमतीको जिम्मा लगाएर पठाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको सुवेदीले जानकारी दिए ।