काठमाडौँ । सन् २०१३ मा पावेल र निकोलाई डुरोभले स्थापना गरेको टेलिग्राम अहिलेको एक लोकप्रिय मेसेजिङ एप हो । जसले गोपनीयता, सुरक्षा र प्रयोगकर्ताको स्वतन्त्रतालाई प्राथमिकता दिएको छ ।
रुसी सरकारले प्रयोगकर्ताको डेटा शेयर गर्न राज्यले दबाब दिन थालेपछि र राजनीतिक सामग्री सेन्सर हुन थालेपछि पहिलेको कम्पनी भीके (VKontakte) बाट बाहिरिएका डुरोभ दाजुभाइले टेलिग्राम सुरु गरेका थिए । भीके एक रुसी सामाजिक सञ्जाल हो । अहिले यो एप विश्वभर लोकप्रिय छ र मासिक सक्रिय प्रयोगकर्ताको एक अर्ब पुगेको कुरा यसका संस्थापकले हालै मात्र सार्वजनिक गरेका छन् ।
धेरै ठुला प्राविधिक कम्पनीहरूमा हजारौँ कर्मचारीहरू भए तापनि, टेलिग्रामले भने एकदमै कम कर्मचारीहरू मार्फत आफ्नो सेवा सञ्चालन गरिरहेको छ । अप्रिल २०२५ सम्मको तथ्याङ्क अनुसार, टेलिग्रामको मूल्य ३० अर्ब अमेरिकी डलर रहेको छ । तर यसमा जम्मा ३० जना कर्मचारी मात्र कार्यरत छन् ।
एकदमै कम सङ्ख्यामा कर्मचारी भए पनि टेलिग्रामले विश्वभर आफ्नो सेवा कुशलतापूर्वक प्रदान गरिरहेको छ । यो एकदमै सानो टोलीले यति ठूलो प्लेटफर्मलाई कसरी चलाइरहेको छ भन्ने कुरा धेरैको लागि चासोको विषय बनेको छ । आज हामी टेलिग्रामको यो अनौठो सफलताको कारण बारे चर्चा गर्दैछौँ ।
अटोमेसन
टेलिग्रामले धेरैजसो कामहरू स्वचालित प्रणाली र इन्टेलिजेन्ट बटहरू मार्फत सम्पन्न गर्छ । जसमा ग्राहक सेवा, सर्भर व्यवस्थापन र सामग्री व्यवस्थापन जस्ता कार्यहरू पर्दछन् । यसले आफ्नै एमटीप्रोटो (MTProto) नामक सञ्चार प्रोटोकल प्रयोग गर्छ, जुन छिटो र सुरक्षित छ । यो सुस्त गतिको इन्टरनेटमा पनि राम्रोसँग चल्न सक्छ ।
टेलिग्रामको संरचना क्लाउडमा आधारित छ, जसले गर्दा विभिन्न उपकरणहरूमा सजिलै डेटा सिङ्क हुन्छ र धेरै सर्भर व्यवस्थापनको आवश्यकता पर्दैन । यसमा शक्तिशाली बट र एपीआईहरू एकीकृत गरिएका छन्, जसले गर्दा थर्डपार्टी डेभलपरहरूले पनि टुलहरू बनाउन सक्छन् र टेलिग्रामको आन्तरिक विकासको भार कम हुन्छ ।
केन्द्रीकृत डेटा सेन्टरको साटो टेलिग्रामले विभिन्न देशहरूमा रहेका विकेन्द्रीकृत सर्भर नेटवर्क प्रयोग गर्छ । जसले स्पिड, लचकता र गोपनीयता बढाउँछ, साथै सेन्सरशिपलाई समेत कम गर्न मद्दत गर्छ ।
रिमोट वर्क
टेलिग्रामका कर्मचारीहरू विश्वको विभिन्न भागबाट घरमै बसेर काम गर्छन्, जसले गर्दा कार्यालय खर्च कम हुन्छ ।
सानो र व्यवस्थित टिम
कर्मचारी भर्नाको लागि टेलिग्रामले परम्परागत मानव संसाधन विभाग प्रयोग गर्दैन । बरु, यसले कन्टेस्ट डटकम जस्ता प्लेटफर्महरूमा कोडिङ प्रतियोगिताहरू आयोजना गर्छ । यी प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने र समस्या समाधान गर्नसक्ने क्षमता देखाउने व्यक्तिहरूलाई टेलिग्राममा कामको प्रस्ताव गरिन्छ ।
यसरी, उच्च क्षमता भएका र आफैँ काम गर्न सक्ने व्यक्तिहरू मात्र कम्पनीमा आउँछन् । कम्पनीमा कुनै तहगत व्यवस्थापन छैन । सिधै संस्थापक पावेल डुरोभ र इन्जिनियरहरूबिच कुराकानी हुन्छ, जसले गर्दा छिटो निर्णय लिन र काम गर्न सजिलो हुन्छ । पावेल डुरोभ आफैँ उत्पादन प्रबन्धकको रूपमा काम गर्छन् ।
प्रयोगकर्ता-केन्द्रित दृष्टिकोण
टेलिग्रामको मुख्य उद्देश्य नाफा कमाउनु नभएर प्रयोगकर्ताहरूलाई छिटो, सुरक्षित र सुविधायुक्त सञ्चार माध्यम उपलब्ध गराउनु हो । । यसै कारण टेलिग्रामले प्राइभेट च्याटमा विज्ञापन-रहित अनुभव प्रदान गर्दछ ।
गोपनीयतालाई प्राथमिकता
टेलिग्रामले प्रयोगकर्ताको गोपनीयतालाई उच्च महत्त्व दिन्छ र निजी कुराकानीका लागि इन्ड-टु-इन्ड इन्क्रिप्सन जस्ता सुरक्षा सुविधाहरू प्रदान गर्दछ । साथै, यसले सरकारी निकायहरूलाई पनि प्रयोगकर्ताको डेटा उपलब्ध नगराएको रेकर्ड राखेको छ । टेलिग्रामले आफ्नो सेवा सञ्चालन गर्न विभिन्न तरिकाहरूबाट आम्दानी गर्छ ।
जसमा अतिरिक्त सुविधाहरू सहितको सशुल्क मेम्बरशिप प्लान टेलिग्राम प्रिमियम, इन-एप पर्चेज (जस्तै प्रिमियम स्टिकर) र ठूला पब्लिक च्यानलहरूमा देखिने स्पोन्सर्ड मेसेज प्रमुख हुन् । यी स्पोन्सर्ड मेसेजहरूमा बाह्य लिङ्कहरू समावेश गरिएको हुँदैन । बरु प्रयोगकर्ताहरूलाई ब्रान्डको च्यानलमा जान सल्लाह दिइएको हुन्छ ।