close

आउँदो जेठ ३० र ३१ गते ‘वर्डक्याम्प पोखरा २०२५' हुँदै, ८०० जनाले भाग लिने

टेकपाना टेकपाना

जेठ ५, २०८२ १६:१४

आउँदो जेठ ३० र ३१ गते ‘वर्डक्याम्प पोखरा २०२५' हुँदै, ८०० जनाले भाग लिने

काठमाडौँ । खुला वेब प्रविधिको प्रवर्द्धनमा केन्द्रित प्राविधिक सम्मेलन वर्डक्याम्प पोखरा २०२५ आगामी जेठ ३० र ३१ गते पोखरामा आयोजना हुने भएको छ । पोखरा इभेन्ट सेन्टर, बुलौदीमा हुने दुई दिने सम्मेलनमा नेपाल, भारत र बंगलादेशका सूचना प्रविधि विज्ञहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

‘प्रविधिको महाकुम्भ’ भनेर समेत चिनिने वर्डक्याम्पमा वर्डप्रेस र ओपन सोर्स प्रविधिसँग जोडिएका विज्ञ तथा प्रयोगकर्ताहरूको व्यापक उपस्थिति रहनेछ ।

कार्यक्रमको पहिलो दिन (जेठ ३०) ‘कन्ट्रीब्युटर डे’ मनाइनेछ, जसमा सहभागीहरूले वर्डप्रेसको विकासमा प्रत्यक्ष योगदान दिने अवसर पाउनेछन् । अनुवाद, डिजाइन, डकुमेन्टेसन, कोडिङ र प्रयोगकर्ता सहायता जस्ता विधामा सहभागी भएर वर्डप्रेसलाई मजबुत बनाउने प्रयास गरिने आयोजकले जनाएको छ ।

दोस्रो दिन (जेठ ३१) मुख्य सम्मेलन हुनेछ । सो दिन विभिन्न सत्र, प्यानल छलफल र छोटा प्रस्तुतिहरू हुनेछन् । भारत र बंगलादेशबाट आएका अनुभवी आईटी विज्ञहरूले वेब डेभलपमेन्ट, सामग्री रणनीति, पहुँच, उद्यमशीलता र खुला वेबको भविष्यबारे प्रस्तुति दिनेछन् ।

सामुदायिक योगदानमा आधारित यो सम्मेलनमा सहभागी स्पिकर तथा आगन्तुकहरू आफैंले यात्रा खर्च व्यहोर्ने प्रचलन रहेको छ । सम्पूर्ण कार्यक्रम स्थानीय स्वयंसेवकहरूको सहयोगमा सञ्चालन हुनेछ ।

सम्मेलनमा सहभागी हुन चाहनेहरूले १५ सय रुपैयाँमा टिकट खरिद गर्न सक्नेछन्, जसमा टिसर्ट, लन्च र कफीसमेत समावेश हुनेछ । आयोजकका अनुसार विभिन्न भुक्तानी साझेदारमार्फत छुट सुविधा पनि उपलब्ध गराइएको छ । सम्मेलनमा करिब ८०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ १६:१४