काठमाडौँ । मोबिलिटी सेवा प्रदायक कम्पनी इनड्राइभले नेपालमा ‘राइड टु सपोर्ट’ अभियान सुरु गरेको छ । स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले सुरु गरिएको उक्त अभियान प्राथमिक विद्यालयहरूमा खेलकुद संरचना सुधारमा केन्द्रित छ ।
कम्पनीका अनुसार मे महिनाभरि नेपालभर सञ्चालन भएका प्रत्येक तेस्रो राइडबाट संकलित भाडाको १० प्रतिशत रकम स्थानीय प्राथमिक विद्यालयहरूमा खेलमैदानको मर्मत तथा खेलकुद सामग्री खरिदमा खर्च गरिनेछ । बास्केटबल, ब्याडमिन्टन, फुटसल जस्ता खेलकुदका लागि आवश्यक किटहरू वितरण गरिनेछ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सुरु भएको यो अभियानले बालबालिकाको शारीरिक विकास, अनुशासन, नेतृत्व सीप र सामाजिक सहभागिता अभिवृद्धिमा योगदान पुर्याउने कम्पनीको विश्वास छ ।
इनड्राइभकी एपीएसी कम्युनिकेसन लिड पावित नन्द आनन्दले भनिन्, “हामी दृढतापूर्वक विश्वास गर्छौं कि उद्देश्य केन्द्रित पहलहरूले समुदायमा सकारात्मक प्रभाव पार्न सक्छ । हरेक राइड सामाजिक परिवर्तनतर्फको सार्थक पाइला बन्न सक्छ ।”
कम्पनीले यस अभियानमार्फत विद्यालयहरूमा अध्ययनरत बालबालिकाका लागि सुरक्षित, समावेशी र गुणस्तरीय खेलकुद संरचना निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ । साथै, अभियानले सेवा वञ्चित समुदायका बालबालिकालाई पनि समान अवसर दिलाउने दाबी गरिएको छ ।
इनड्राइभले प्रयोगकर्ताहरूलाई ‘राइड टु सपोर्ट’ अभियानमा सहभागी भई समाजमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गरेको छ ।