काठमाडौँ । एप्पलले आफ्नो डेभलपर्स सम्मेलन २०२५ (डब्लूडब्लूडीसी) मा आईफोनका लागि नयाँ अपरेटिङ सिस्टम आईओएस २६ (iOS 26) सार्वजनिक गर्दै मोबाइल प्रविधिमा नयाँ अध्यायको सुरुवात गरेको छ । सोमबार राति भएको सम्मेलनको मुख्य सत्रमा कम्पनीले लिक्विड ग्लास डिजाइनसहित आईओएस संस्करण प्रस्तुत गरेको हो ।
अघिल्लो वर्षसम्म एप्पलले आफ्नो आईओएस संस्करणलाई निरन्तर संख्या अनुसार चिनाउने गर्थ्यो । यसपटक भने नयाँ बजार रणनीति अन्तर्गत आईओएसको संस्करणलाई वर्ष अनुसारको नाम दिने घोषणा भएको छ । त्यसअनुसार सन् २०२५ मा उपलब्ध हुने यो संस्करणलाई आईओएस २०२६ भनिएको छ । यदि परम्परागत हिसाबले नै सार्वजनिक भएको भए यसको नाम आईओएस १९ हुने थियो ।
आईओएस २०२६ प्रयोगकर्ता अनुभव केन्द्रित फिचर र विभिन्न एआई प्रविधिले भरिभराउ भएको कम्पनीको दाबी छ । यसअनुसार इन्टरफेसमा व्यापक परिवर्तन देख्न सकिन्छ ।
नयाँ प्रणालीमा लक स्क्रिनमा देखिने समय (clock) अब स्क्रिनभर फैलिन सक्छ । क्यामेरा एपको डिजाइन सरलीकृत गरी अनावश्यक कन्ट्रोलहरू लुकाइएको छ भने सफारी ब्राउजरमा पेजहरू अब किनारासम्म फैलिनेछन् । त्यस्तै ट्याबहरू कन्टेन्टमाथि तैरिएको अवस्थामा देखिन्छन् ।
फोन एपमा अब कल स्क्रिनिङ फिचर थपिएको छ । यसले प्रयोगकर्ताको सट्टा कल उठाउन, होल्डमा बसेर कुरिरहन सक्नेछ । मेसेज एपमा कस्टमाइज्ड ब्याकग्राउन्ड, पोल क्रिएट, टाइपिङ इन्डिकेटर जस्ता नयाँ सुविधाहरू थपिएका छन् । इमेज प्लेग्राउन्ड (Image Playground) मार्फत आफ्नो तस्बिर वा डिजाइन प्रयोग गरेर पेजव सजाउन सकिनेछ ।
इमोजीलाई अब एक-आपसमा मर्ज गरेर Genmoji बनाउने सुविधा आएको छ । साथै, इमेज प्लेग्राउन्डमा च्याटजीपीटीको सहायतामा तस्बिर बनाउने फिचरसमेत समावेश गरिएको छ ।
नयाँ संस्करणमा एप्पल इन्टेलिजेन्सको शक्तिशाली प्रयोग हुने कम्पनीले उल्लेख गरेको छ । लाइभ ट्रान्सलेसन फिचरमार्फत फोन, फेसटाइम वा मेसेजमा रियल टाइम अनुवाद सम्भव हुनेछ । यो सबै प्रक्रिया डिभाइसमै सम्पन्न हुने भएकोले गोपनीयताको उच्च मापदण्ड कायम रहने कम्पनीको दाबी छ । साथै, डेभलपरहरूले पनि आफ्ना एपहरूमा यो सुविधा समावेश गर्न सक्ने एपीआई पाउनेछन् ।
त्यस्तै, एप्पल म्युजिकमा अब गीतका शब्दहरूको अनुवाद र उच्चारण सुन्न सकिनेछ । ‘AutoMix’ नामक सुविधामार्फत डिजे जस्तै गीत परिवर्तन गर्न सकिनेछ । एप्पल म्याप्सले प्रयोगकर्ताको मन पर्ने बाटो पहिचान गरी ट्राफिक भएमा सूचना दिने सुविधा ल्याएको छ ।
यसैगरी, एप्पल वालेटमा डिजिटल परिचयपत्र बनाउने, बोर्डिङ पासमा इनडोर म्याप हेर्ने तथा एप्पल पे (Apple Pay) मा आफ्नो अर्डर ट्रयाक गर्न सकिने नयाँ फिचर थपिएका छन् ।
अर्कोतर्फ, प्रयोगकर्ताले आफ्नो सम्पूर्ण गेम लाइब्रेरी हेर्न सक्ने, साथीहरूले के खेलिरहेका छन् भन्ने थाहा पाउने र ‘Apple Arcade’ गेमहरूको पहुँच हुने छुट्टै गेम्स एप पनि ल्याइएको छ ।
साथै भिजुअल इन्टेलिजेन्सको माध्यमबाट प्रयोगकर्ताले स्क्रिनमा देखिएको सामग्रीबारे थप जानकारी लिन सक्नेछन् । उदाहरणका लागि, कुनै फोटोमा देखिएको ज्याकेटको स्क्रिनशट लिएर गुगलमार्फत खोज्न सकिनेछ । यस्तै, कुनै इभेन्टको स्क्रिनशट लिएर सिधै क्यालेन्डरमा थप्न सकिने सुविधा उपलब्ध गराइएको छ ।